७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘राजनीतिक भागबन्डाका लागि लोकसेवाको विज्ञापन रद्द गर्ने प्रयास, समितिको निर्देशन गैरजिम्मेवार’

काठमाडौं– साझा विवेकशील पार्टीले लोकसेवाको विज्ञापन रद्द गर्ने संसदीय समितिको निर्णयलाई गैरजिम्मेवार भनेको छ। पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यद्वारा मंगलबार जारी विज्ञप्तिमा राजनीतिक भागवण्डाको उद्देश्यका साथ विज्ञापन रद्द गर्न खोजिएको उल्लेख छ। 

लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदमा कर्मचारी भर्नाका लागि गरेको विज्ञापन रद्द गर्न प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकले सरकारलाई निर्देशन दिएको थियो। उक्त निर्देशनप्रति ध्यानाकर्षण जनाउँदै साझा विवेकशीले स्वायत्त संवैधानिक आयोगको काममा प्रत्यक्ष हस्तक्षेप गरी विज्ञापन नै रद्द गर्ने निर्देशन दिनु अत्यन्त गैरजिम्मेवार कार्य भएको टिप्पणी गरेको छ।

लोकसेवाको विज्ञापनमा संविधानमा उल्लेखित समावेशीताको सिद्धान्त पालन भए नभएको बारेमा लोकसेवा आयोगको ध्यानाकर्षण गर्न र आवश्यक देखिएमा विज्ञापनको शर्त परिमार्जनको सुझाव दिनसक्ने तर प्रत्यक्ष हस्तक्षेप गरी विज्ञापन नै रद्द गर्ने निर्देशन दिनु गलत रहेको साझा पार्टीको ठहर छ।

साझा विवेकशील पार्टीले राजनीति भागबण्डाले राज्यका विभिन्न अंगहरू नै जर्जर भइरहेको अवस्थामा फेरि राजनीतिक भागबन्डाकै उद्देश्य राखेर लोकसेवाको विज्ञापन रद्द गर्न नहुने सुझाव समेत दिएको छ। 

एकातिर लाखौंको संख्याका शिक्षित र सक्षम युवा बेरोजगार हुनु परिरहेको र अर्कोतर्फ सक्षम कर्मचारीको अभावमा स्थानीय सरकारका नियमित काममा व्यवधान पुगेको भन्दै साझा पार्टीले परिमार्जन गरेर भए पनि लोकसेवाको विज्ञापनलाई अगाडि बढाउनुपर्ने धारणा राखेको छ। 

‘योग्यता र क्षमताका आधारमा कर्मचारी छनौट गर्ने स्वतन्त्र र निष्पक्ष संवैधानिक निकायका रुपमा लोकसेवा आयोगको विश्वसनीयता आम जनतामा अझै कायम छ’, विज्ञप्तिमा भनिएको छ, ‘साँघुरो राजनीतिक स्वार्थका लागि लोकसेवा आयोगको विश्वसनीयता र स्वायत्तामा आँच आउने काम कसैबाट पनि नहोस् भन्ने कुरा पनि सम्बन्धित सबैमा साझा पार्टी संमरण गराउन चाहन्छ।

प्रकाशित: २८ जेष्ठ २०७६ १०:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App