८ वैशाख २०८१ शनिबार
समाज

चट्याङबाट हुने धनजनको क्षति न्युनिकरण गर्न लाइटिङ एरेष्टर

खोटाङ– चट्याङबाट हुने धनजनको क्षति न्युनिकरणका लागि खोटाङको केपीलासगढी गाउँपालिकाले दुई स्थानमा लाइटिङ एरेष्टर (चट्याङ प्रतिरोधी उपकरण) जडान गरेको छ। चट्याङबाट हुने क्षति तथा जोखिम न्युनिकरणका लागि गाउँपालिकाले वडा नम्बर ४ बाक्सिलाको साक्सिला र हरेलोडाँडामा लाइटिङ एरेष्टर जडान गरेको हो। आर्थिक वर्ष २०७४/०७५ मा विनियोजन गरिएको २ लाख बजेट तथा जनसेवा समाज नेपाल जालपाको सवल परियोजना अन्तर्गत २ लाख ५३ हजार ५ सयको खर्चमा बाक्सिलाको छुट्टाछुट्टै स्थानमा लाइटिङ एरेष्टर जडान गरिएको गाउँपालिका अध्यक्ष कृष्ण राईले बताए। 

सो क्षेत्रमा हरेक वर्ष चट्याङले जनधनको क्षति पुर्याउने गरेकाले समाधानको विकल्पमा प्रतिरोधात्मक उपकरण जडान गरिएको हो। जडान गरिएको उपकरणले आठ सय मिटर आसपासमा परेका चट्याङलाई निष्क्रिय पार्ने दावी गरिएको छ। ‘यो क्षेत्रमा हरेक वर्ष चट्याङ पर्छ, जनधनको क्षति भइरहेको छ, पशुचौपाय उत्तिकै मर्ने गरेको छ’, गाउँपालिका अध्यक्ष राईले भने, ‘यो समस्यालाई कम गर्न लाइटिङ एरेष्टर राखिएको हो। यसले आठ सय मिटर वरपर परेको चट्याङलाई तानेर डिस्पोज गर्छ।’ चट्याङ प्रभावित क्षेत्रकारुपमा रहेको बाक्सिलामा हरेक वर्ष मान्छे र पशुचौपाया मर्ने गरेको छ। लाइटिङ एरेष्टर राखेपछि चट्याङको जोखिम टरेको भन्दै स्थानीय उत्साहित छन्। 

यसअघि, चट्याङको जोखिम न्यूनीकरण गर्नका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको महुरे र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा खिल्कुका ३५ घरमा अर्थिङ गरिएको छ। 

प्रकाशित: २८ जेष्ठ २०७६ ०९:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App