८ वैशाख २०८१ शनिबार
राजनीति

सांसद केसीको चेतावनी : गुठी विधेयक नसच्याए उपत्यकामा घेरावन्दी

काठमाडौं- नेपाली कांग्रेसका सांसद राजन केसीले धर्म र संस्कृतिलाई चलाउने काम नगर्न सरकारलाई चेतावनी दिएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद केसीले सरकारले ल्याउन लागेको गुठी विधेयकको विरोध गर्दै  काठमाडौं उपत्यकाका नेवार समुदायको धर्म र संस्कृतिमाथि प्रहार गर्ने काम भए  उपत्यका घेरावन्दी हुने चेतावनी दिए। सरकारले ल्याएको विधेयकबाट गुठीयारहरु आतंकित भएको भन्दै उनले विधेयक उपत्यकाबासीलाई कुनै पनि अवस्थामा स्वीकार्य नहुने चेतावनी दिए। धर्म संस्कृतिको संरक्षणको लागि मण्डलामा आएका सर्वसाधरणलाई सरकारले निर्मम ढंगले लाठी प्रहार गर्ने काम भएको भन्दै उनले घटनाको घोर भत्र्सना गरे।

उनले भने “यदि धर्मलाई र यहाँको परम्परालाई विशेष गरेर नेवार जातिको संस्कृति र संस्कारलार्ई  चलाईयो भने निश्चित रुपले १० औ लाख मान्छे काठमाडौंमा उत्रनेछन्। नाङलो ठट्याएर हात्ती तर्साउने काम नगरोस् सरकारले राजधानीबासीलाई। ”

उनले विधेयक फिर्ता नलिएर त्यसको विरोधमा काठमाडौंमा घेराबन्दी हुने र भयाभह स्थित श्रृजना हुने चेतावनी दिए। प्रधानमन्त्रीले विदेशीको धर्म प्रचार प्रशार गरेर हिन्दु धर्म समाप्त पार्ने खेलमा लागेको आरोप उनले लगाए। उनले हिन्दु धर्म मात्रै नभई बौद्ध लगायतका धर्मका पनि गुठीहरु रहेको भन्दै धर्म संस्कृति ध्वस्त पार्ने गुठी विधेयक तत्काल फिर्ता गर्न माग गरे। गुठीयारहरु आफुहरुको धर्म र संस्कृति हनन गर्न लागेको भन्दै निकै आक्रोशित रहेको भन्दै काठमाडौंबासीको संस्कार र भावनासंग खेलवाड नगर्न आग्रह गरे। 

उनले भने “सभामुख महोदय, मैले बच्चामा स्कुल जाँदा सुनेको थिएँ। कम्युनिष्टहरु धर्म मान्दैनन।  कम्युनिष्ठहरु संस्कृति र सम्पदामा विश्वास गर्दैनन्। कम्युनिष्टहरु चाडपर्व, परम्परा र संस्कार मान्दैनन। यो कम्युनिष्टको दर्शन हो। यो कम्युनिष्ट को स्कुलिङ हो। आज यो चरितार्थ भएको छ।”

उनले भूमिसुधारमन्त्री पद्मा अर्यालले संविधानको गलत व्याख्या गरेको भन्दै संविधानलाई अक्षरस अध्ययन गर्न आग्रह गरे। सोमबारको बैठकमा मन्त्री अर्यालले संविधान अनुसारनै गुठी सम्बन्धी विधेयक आएको दाबी गरेकी थिइन्। संविधानको धारा २६ मा धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आस्था अनुसारको धर्मको अबलम्बन र संरक्षणको स्वतन्त्रताको प्रत्याभुति गरिएको, धारा २ सय ९० मा गुठीको मुलुभुत मान्यतामा प्रतिकुल असर नपर्ने गरि व्यवस्थापन गर्न भनिएको भन्दै उनले धार्मिक स्थल तथा धार्मिक गुठी संरक्षण गर्ने हक संविधानले दिएको दाबी गरे।

आईतबार माईतीघर मण्डलामा गुठी व्यवस्थापन सम्बन्धी विधेयकको विरोधमा निस्किएको जुलुशमा प्रहरी दमन भएको भन्दै उनले तत्काल छानविन समिति बनाउ आग्रह गरे।

प्रकाशित: २८ जेष्ठ २०७६ ०७:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App