८ वैशाख २०८१ शनिबार
समाज

रासनको पैसा माग्दा प्रहरीको धम्की

इलाका प्रहरी कार्यालय टीकापुर। तस्विर:योगेश रावल/नागरिक

टीकापुर - इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरीले व्यापारीहरुलाई लामो समयदेखि रासन (खाद्यान्न) वाफतको रकम नतिर्ने गरेको पाइएको छ। ब्यापारीहरुले रुपैयाँ माग्दा प्रहरीले उल्टै डरधम्की दिने गरेको दुखेसो पोखेका छन्।
इलाका प्रहरी कार्यालय टीकापुर भित्र जवानदेखि प्रहरी निरीक्षकसम्मका भान्सामा पाक्ने खानाको रासन वाफतको रकम कोड मास्टर (भान्साको जिम्मा लिएको व्यक्ति) ले नतिरेको पाइएको हो। कार्यालय भित्र जवानदेखि हवल्दार र असईदेखि प्रहरी निरीक्षकसम्मका दुई फरक भान्सा छन्।

सबैभन्दा धेरै ब्यापारीको रासनको पैसा नतिर्नेमा कोड मास्टर सुरेन्द्र रावल रहेका छन्। उनले देवकोटा जनरल स्टोरमा मात्रै झण्डै १ लाख रुपैयाँ तिर्न बाँकी छ। ‘१ लाख ७ हजार उधारो थियो। ९ हजार मात्रै दिएको छ’ सञ्चालक जयप्रसाद देवकोटाले भने–‘बाँकी रकम मासिक रुपमा तिर्छु भनेको छ।’ प्रहरीले सबैभन्दा धेरै रासनको उधारो नतिरेको पसल समेत देवकोटा जनरल स्टोर हो। सञ्चालक जयप्रसाद देवकोटाका अनुसार २०७२ भदौमा कोड मास्टर धनसिँह नगालले ७२ हजार र त्यसपछिका कोड मास्टर ज्ञानबहादुर बोहराले ९ हजार उधारो तिरेका छैनन्।

अर्का कोड मास्टर हेम कठायतले समेत देवकोटा जनरल स्टोर लगायत केही ब्यापारीको उधारो नतिरेको बताइन्छ।
कोड मास्टर रावलले महालक्ष्मी एग्रो सेन्टरमा ४४ हजार र भण्डारी टे«डर्समा २६ हजार रुपैयाँ तिर्न बाँकी छ। उनले उधारो लिएर तिर्न बाँकी रहेका अन्य थुप्रै ब्यापारी समेत रहेको बताइन्छ। ती मध्ये कतिपयले आफूसँग कारोवार नभएको प्रतिक्रिया दिए भने कतिपय सम्पर्कमा आउन चाहेनन्।

‘मेरो डेढ लाख थियो। निकै दवाव दिएपछि असुल भयो’ भण्डारी टे«डर्सका सञ्चालक महेश्वर भण्डारीले भने–‘अझै केही रकम बाँकी छ। माग्न गयो भने तिर्छु भन्छ। तर तिर्ने कहिले हो थाहा छैन।’ कतिपय ब्यापारीले पैसा माग्न छोडिसकेका छन। उनीहरुले प्रहरीले उधारो वाफतको रकम तिर्छ भन्नेमा विश्वास नभएपछि माग्नै छोडेको बताए। ‘डेढ लाख थियो। अझै ४४ हजार बाँकी छ’ महालक्ष्मी एग्रो सेन्टरका सञ्चालक प्रकाश तिमिल्सैनाले भने–‘अब त दिन्छ भन्ने विश्वास नभएपछि माग्नै छोडिदिए।’

ब्यापारीको उधारो नतिरेको र भने अनुसारको खाना खुवाउन नसकेको भन्दै आइतवार सुरेन्द्र रावललाई कोड मास्टरबाट हटाइएको छ। उनको ठाउँमा राजेन्द्र बोहराले जिम्मेवारी सम्हालेका छन्। सुरक्षाकर्मीहरु मध्येबाटै न्यून दरमा मापदण्ड अनुसारको खाना खुवाउने जिम्मेवार लिएको जवान वा हवल्दार पदको व्यक्तिलाई कोड मास्टर तोकिन्छ। ती कोड मास्टरले सुरक्षाकर्मीलाई कबुल गरे अनुसारको खाना उपलब्ध गराउनु पर्छ।

बोहराले कोड मास्टर सम्हालेपछि उनी उधारोमा रासन उपलब्ध गराई दिन भन्दै ब्यापारी कहाँ पुगेका छन्। ब्यापारीले प्रहरीका नाममा रहेको यसअघिको उधारो तिरेपछि मात्रै रासन उपलब्ध गराउन सक्ने भनेपछि समस्या भएको छ।
‘म कहाँ रासनको कुरा गर्न आएका थिए’ महालक्ष्मी एग्रो सेन्टरका सञ्चालक तिमिल्सैनाले भने–‘उधारो हुँदैन। नगद लिने हो भने मात्रै कारोवार गरौं भने त्यसै फर्किए।’

केही दिन अघि एक साँझ इप्रका टीकापुरका दुवै भान्सामा सुरक्षाकर्मीका लागि खाना पाकेन। कोड मास्टर भान्सा छोडेर हिँडेपछि सुरक्षाकर्मीहरु भोकै बस्नुपर्ने अवस्था आयो। दुईजना सुरक्षाकर्मी ब्यापारी कहाँ उधारो रासन माग्न गएपछि कोड मास्टरले गरेको बदमासीका बारेमा पोल खुलेको हो। कुनैपनि ब्यापारीले उधारो रासन दिन नसक्ने बताए पछि दुवैजना सुरक्षाकर्मी रित्तो हात फर्किएका थिए।

‘यत्रो उधारो तिर्न बाँकी नै छ। अझ आगामी दिनमा कसरी सहयोग गर्न सकिन्छ’ भण्डारी टे«डर्सका सञ्चालक महेश्वर भण्डारीले भने–‘अब प्रहरी प्रतिको विश्वास रहेन।’ब्यापारीहरुले इप्रका टीकापुर प्रमुख डिएसपी शिवबहादुर सिँहको लापरवाहीले समेत समस्या बढेको बताए। उनीहरुले आफ्नो कार्यालय भित्र के भैरहेको छ भन्ने बारेमा चाँसो दिन नसक्नु डिएसपीको कमजोर भएको बताए। ‘आफ्ना सुरक्षाकर्मीले के गरिरहेका छन भन्ने बारेमा चाँसो राख्नु पर्छ कि पर्दैन’ एक ब्यापारीले भने–‘डिएसपीले नैतिक जिम्मेवारी लिनुपर्छ।’

डिएसपी सिँहले भने यस बारेमा आफूलाई कुनै जानकारी नभएको बताए। उनले भान्सा के कसरी चलाउने भन्ने कुरो उनीहरुको भएकाले आफूले यस बारेमा चाँसो नराखेको बताए। ‘मलाई थाहा छैन। कसैले केही भनेको पनि छैन’ उनले भने–‘उनीहरुले कसरी चलाउँछन। मलाई थाहा हुँदैन।’

प्रहरीमा कोड मास्टरले महिना भरी खाना खाने सबैको हिसाब राख्ने गर्छन्। उनीहरुले हरेक महिनामा खाना वाफतको रकम कोड मास्टरलाई बुझाउनु पर्छ। तर कतिपय सुरक्षाकर्मीले कोड मास्टरलाई खाना खाएको रकम नतिरेका कारण समेत समस्या हुने गरेको बताइन्छ। सुरक्षाकर्मीले खानाको पैसा नतिरे पछि कोड मास्टरले ब्यापारीको उधारो तिर्न नसकेको हुनसक्ने स्रोतको भनाई छ।

प्रकाशित: २८ जेष्ठ २०७६ ०४:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App