coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

तेस्रो हिमालयन ट्राभल मार्ट सम्पन्न

काठमाडौं – हिमालय क्षेत्रको विविध पर्यटन सम्भावना उजागर गर्दै ‘हिमालयन ट्राभल मार्ट’को तेस्रो संस्करण आइतबार सम्पन्न भएको छ । जेठ २३ मा सुरु मार्टमा विभिन्न ४३ देशका सात सयभन्दा बढी प्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहेको प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, एवं पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाको सहयोग, समन्वय तथा सहकार्यमा पाटा नेपाल च्याप्टरले आयोजना गरेको मार्ट नेपाली पर्यटन क्षेत्रकै बृहत् र प्रमुख ट्राभल तथा टुरिजमसम्बन्धी मेला भएको संस्थाको भनाइ छ ।

गत बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले यसको उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा बोल्दै उनले नेपालमा पर्यटकीय प्रोडक्ट तथा सेवाहरुको प्रचूर सम्भाव्यता रहेको बताउँदै देशको प्राकृतिक, भौगोलिक, सांस्कृतिक तथा जैविक विविधतासँगै विशिष्ट अतिथि सत्कारले बहुआयामिक पर्यटकीय अनुभव प्रदान गर्न सक्ने नेपाल अनुपम गन्तव्य रहेको बताएका थिए । प्रधानमन्त्री ओलीले योग, आयुर्वेद, तीर्थयात्रा एवं अध्यात्मिक पर्यटनका लागि हिमालय क्षेत्र एक उत्कृष्ट गन्तव्य भएको र सो अनुभूतिका लागि नेपाल प्रमुख एवं उद्गम स्थल भएको बताए । प्रधानमन्त्री ओलीले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० सफल पार्न समेत यो मार्ट सहयोगी हुने विश्वास व्यक्त गरे ।

उद्घाटन समारोहमा विविध सांस्कृति प्रस्तुति गरिएको थियो । सुदूरपश्चिमको प्रसिद्ध छलिया नृत्य, हुडकेलीलगायत प्रस्तुत गरिएको थियो । साथै, पाटा नेपाल च्याप्टरले स्व. पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई उनले ‘पर्यटन क्षेत्रको विकासका लागि निर्वाह गरेको अतुलनीय भूमिका एवं अथक प्रयासको उच्च कदर गर्दै मार्टको विशेष अवार्ड प्रदान गरेको जनाएको छ । त्यसैगरी, विश्वप्रसिद्ध बेलायती पर्वतारोही ‘डक स्कट’लाई पर्वतारोहण र नेपाली पर्यटन क्षेत्रको प्रचार प्रसारमा पु¥याएको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको थियो ।

जुन ७ मा आयोजित मार्टको कन्फ्रेन्समा साहसिक पर्यटनको समसामयिक तथा भावी प्रवृत्ति, दिगो पर्यटन विकासका अवसर तथा चुनौतिलगायत नेपालमा अध्यात्म पर्यटनको सम्भावना र पर्यटकीय अवसरबारे विशेष प्राथमिकताका साथ छलफल गरिएको थियो । मार्टको ‘साइड इभेन्ट’का रुपमा आयोजना गरिने अन्तर्राष्ट्रिय ट्राभल ब्लगर्स तथा मिडिया कन्फ्रेन्समा ५० भन्दा बढी अन्तर्राष्ट्रिय मिडिया÷ब्लर्गससहित सयौं राष्ट्रिय सञ्चारमाध्यमका सञ्चारकर्मीमाझ ट्राभल मिडिया तथा ब्लगर्सले गन्तव्यको पर्यटन प्रवद्र्धन एवं विकासमा खेल्ने भूमिका र अवसरबारे छलफल गरिएको थियो ।

सो कार्यक्रमबीच भ्रमण वर्ष २०२० सम्बन्धी एक विशेष अन्तर्राष्ट्रिय ‘मिडिया ब्रिफिङ’ गरिएको थियो । भ्रमण वर्ष अभियानका संयोजक सुरज वैद्यले अभिायन अन्तर्गत गरिने विभिन्न कार्यक्रमको कार्ययोजनालगायत नेपालका पर्यटकीय गन्तब्य र सम्भावनाबारे प्रस्तुति दिएका थिए । उपस्थित मिडिया ब्लगर्सहरुको प्रश्नको जवाफ पर्यटन बोर्डका सिइओ दीपकराज जोशी, पाटाका अध्यक्ष सुनील शाक्य तथा बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले संयोजक वैद्यसँगै संयुक्त रुपमा दिएका थिए ।
यसपटकको बिटुबी मार्टमा ३० मुलुकबाट विश्वव्यापी क्रेता कम्पनी र ६ वटा मुलुक (नेपाल, भारत, पाकिस्तान, चीन, भुटान र थाइल्यान्ड) बाट

५४ विक्रेता कम्पनी तथा संस्थाले सहभागिता जनाएका थिए । पाटा नेपालले हिमालयन ट्राभल मार्टको चौथो संस्करण आगामी वर्ष २०२० जुन १२ देखि १५ सम्म आयोजना गरिने जनाएको छ ।

 

 

प्रकाशित: २८ जेष्ठ २०७६ ०४:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App