७ वैशाख २०८१ शुक्रबार
अर्थ

बाह्य लगानी भित्र्याउन वौद्धिक सम्पत्ति संरक्षण

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार उद्योग विभाग र जेनेभास्थित विश्व बौद्धिक संगठनद्वारा संयुक्त रूपमा आयोजित व्यापार क्षमता अभिवृद्धि तथा आर्थिक विकासमा बौद्धिक सम्पत्तिको भूमिका विषयक राष्ट्रिय परामर्श बैठक तथा कार्यशाला सोमबारदेखि महासंघको सचिवालयमा सुरू भएको छ।

कार्यशालाको शुभारम्भ गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपाल आर्थिक विकासको मार्गमा अगाडि बढेको अहिलेको अवस्थामा बाह्य लगानी आकर्षणका लागि वौद्धिक

सम्पत्ति संरक्षणको विषय महत्वपूर्ण भएकाले सरकारले नीति तथा कानूनमार्फत नै बौद्धिक संरक्षणको सुनिश्चितता गरेको स्पष्ट पारे।औद्योगिक व्यवसाय ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण लगायत महत्वपूर्ण ऐन कानूनमा यसबारे स्पष्ट उल्लेख गरिएको जानकारी गराउँदै उनले कार्यक्रमको पूर्ण सफलताको कामना समेत गरे।

महासंघका कार्यबाहक अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक विकास, लगानी तथा प्रविधि आकर्षण र वाह्य लगानीकर्ताहरूलाई उनीहरूको लगानीको समेत सुनिश्चितता दिलाउन पेटेन्ट, ट्रे डमार्क, डिजाइन, कपी राइटलगायत बौद्धिक सम्पत्ति संरक्षणका विषय महत्वपूर्ण रहेको सन्दर्भमा महासंघले यी विषयमा सरकारसँग बारम्बार पैरवी गर्दै आएको बताए।महासंघले बौद्धिक संरक्षणका विषयमा निरन्तर आवाज उठाउँदै आएको र सरकारसँग पनि निरन्तर कार्य गर्दै आएको र आगामी दिनमा पनि सरकार र वाइपोसँग मिलेर कार्य गर्ने प्रतिवद्धता जनाए ।

उद्यमी व्यवसायी, बौद्धिक संरक्षण क्षेत्रमा क्रियाशील कानून व्यवसायी, नीति निर्माता, सरकारी अधिकारी, महासंघको कार्यकारिणी समितिका सदस्य सहभागी थिए।कार्यक्रममा महासंघका तर्फबाट पोषराज पाण्डे, उद्योग विभागका तर्फबाट महानिर्देशक विनोदप्रकाश सिंह, नेपाल उद्योग परिसंघका तर्फबाट रूद्र शर्माले कार्यपत्र प्रस्तुत गरे।उद्योग विगागको आव २०१८÷१९ को तथ्यांकअनुसार अहिलेसम्म चार लाख ९१ हजार ट्रेड मार्क, ७८ वटा पेटेन्ट र एक सय ५४ वटा डिजाइन दर्ता भएका छन्।

कार्यक्रममा जेनेभास्थित विश्व बौद्धिक संगठनको अतिकम विकसित देशहरू हेर्ने विभागका परामर्शदाता मोहमद, ड्यानुअल इस्लामले कार्यक्रमको विषयबारे जानकारी गराउँदै वाइपोबाट आगामी दिनमा नेपालमा हुन सक्ने सहकार्यबारे प्रकास पारे।कार्यक्रममा महासंघका निमित्त महानिर्देशकको पनि सहभागिता थियो।कार्यशाला मंगलबारसम्म चल्ने जनाइएको छ ।
 

प्रकाशित: २८ जेष्ठ २०७६ ०४:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App