७ वैशाख २०८१ शुक्रबार
अर्थ

योगीकोटी–धकधर्ई प्रसारण लाइन सञ्चालन

काठमाडौं – रुपन्देहीमा निर्माण भएको करिब ३३ किलोमिटर योगीकुटी–धकधर्ई ३३ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ।औद्योगिक क्षेत्रको रुपमा तीव्र विकास भइरहेको भैरहवाको विद्युत्् आपूर्तिलाई सुधार गर्न निर्माण गरिएको प्रसारण लाइन आइतबारदेखि सञ्चालनमा आएको हो। भैरहवा र त्यहाँ स्थापना भएको विशेष आर्थिक क्षेत्र (सेज)मा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको ३३÷११ केभीको सबस्टेसनको पनि परीक्षण सुरु भएको छ।योगीकुटी–धकधर्ई ३३ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएपछि भैरहवा क्षेत्रको विद्युत्् आपूर्तिमा सुधार आई वितरण प्रणाली गुणस्तरीय र विश्वसनीय हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

‘योगीकुटी सबस्टेसनबाट चार–पाँचवटा फिडरमार्फत भैरहवा क्षेत्रमा विद्युत् आपूर्ति भइरहेको थियो, ३३ केभी फिडर ओभरलोड भोल्टेज समस्या थियो भने मागअनुसार विद्युत् आपूर्ति गर्न सकिरहेका थिएनौं,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘योगीकुटी–धकधर्ई प्रसारण लाइन र धकधर्ई सबस्टेसन सञ्चालनसँगै त्यस क्षेत्रमा रहेको लो भोल्टेज, लाइन ट्रिपिङलगायत समस्या समाधान हुने छन्, ३३ केभी लाइन ओभरलोडका कारण बढेको प्राविधिक चुहावट घट्ने छ भने भैरहवा क्षेत्रमा खुल्ने नयाँ उद्योगलाई विद्युत् आपूर्ति दिन सक्नेछौं ।’

भैरहवा क्षेत्रको विद्युत् : आपूर्ति सुधार हुने

उनले भैरहवा सेज परिसरभित्र सबस्टेसन नबने पनि तत्कालका लागि धकधर्ई सबस्टेसनबाट ११ केभी लाइनमार्फत विद्युत्् दिन सकिने बताए।आफ्नो परिसरभित्र ३३÷११ केभी सबस्टेसन निर्माण गरी भैरहवा सेजले त्यहाँ खुल्ने उद्योगलाई विद्युत्् दिने बताइएको छ।सेजभित्र सबस्टेसन निर्माणका लागि टेन्डरको प्रक्रियामा रहेको बताइएको छ।धकधर्ई सबस्टेसनबाट सेजसम्मको करिब ११ किलोमिटर ३३ केभी प्रसारण लाइन पनि निर्माणाधीन छ।

नेपाल सरकार, प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा सञ्चालित विद्युत् वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाअन्तर्गत योगीकुटी–धकधर्ई प्रसारण लाइन र धकधई सबस्टेसन निर्माण गरिएको हो।आयोजनाअन्तर्गत नारायणी नदीको पश्चिममा वितरण लाइन र १२ वटा सबस्टेसन निर्माणका लागि २०७३ को असोजमा ठेक्का सम्झौता भएको थियो।केही सबस्टेसनको निर्माण सम्पन्न भएको र केही निर्माणाधीन अवस्थामा रहेको आयोजना प्रमुख बोधराज ढकालले बताए।

बझाङको बाघथला सबस्टेसन सञ्चालन
सुदूरपश्चिम प्रदेशको बझाङमा विद्युत्को पहुँच बढाउन, गुणस्तरीय र विश्वसनीय विद्युत्् आपूर्तिका लागि निर्माण गरिएको बाघथला सबस्टेसन सञ्चालनमा आएको छ।नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानीमा निर्माण भएको ३३÷११ केभी सबस्टेसन सोमबारबाट सञ्चालन (चार्ज)मा ल्याइएको हो।
सबस्टेसनबाट बुंगल नगरपालिका र केदारस्यूँ, वित्थडचिर, थलारा तथा दुर्गाथली गाउँपालिका बासिन्दा लाभान्वित हुने प्राधिकरण अत्तरिया क्षेत्रीय कार्यालय प्रमुख सतिशकुमार कर्णले जानकारी दिए।उनले बैतडीको खोर्पेबाट करिब ५० किलोमिटर ३३ केभी प्रसारण लाइनबाट विद्युत्् लगेर बाघथला सबस्टेसनमार्फत वितरण गरिएको बताए।सबस्टेसन निर्माणका लागि २०७४ को वैशाखमा पाँच करोड ४० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

सुर्खेतको बबियाचौर सबस्टेसन निर्माण
सुर्खेतको ग्रामीण क्षेत्रमा विद्युतीकरणका लागि निर्माण गरिएको ३३÷११ केभी बबियाचौर सबस्टेसनको निर्माण सम्पन्न भएको छ।सबस्टेसनबाट सुर्खेतको चार गाउँपालिकामा विद्युतीकरण गर्न सकिने प्राधिकरण नेपालगन्ज क्षेत्रीय कार्यालय प्रमुख मनोजकुमार सिंहले जानकारी दिए।
वीरेन्द्रनगरबाट बबियाचौरसम्मको  करिब ४० किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माणाधीन छ।लाइन निर्माणमा वन क्षेत्रको प्रयोग लगायत कारणले समस्या छ।यसले गर्दा निर्माण प्रभावित भएको सिंहले बताए।उनले वन क्षेत्रको जग्गा प्रयोगमा रहेको समस्या समाधानका लागि पहल भइरहेको र निर्माणमा कुनै अवरोध नभए तीन महिनाभित्र बबियाचौरमा विद्युत्् पु¥याउन सकिने बताए।त्यसपछि सबस्टेसन चार्ज गरी सञ्चालनमा आउने छ।सबस्टेसन निर्माणका लागि २०७२ मा ठेक्का सम्झौता भएको थियो।सबस्टेसनबाट विद्युत् वितरणका लागि टेन्डर भइसकेको सिंहले बताए ।

प्रकाशित: २८ जेष्ठ २०७६ ०४:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App