प्रसंग: न्यून दररेटका खरिद समस्या

झेली बालीको ब्याड

मङ्गलबार, २८ जेठ २०७६, ०८ : ४५ ध्रुव नेपाल

महँगीले सातो लिइरहेका बेला व्यापारीहरूले यस्तो मूल्यमा मालसामान बेचिरहेका छन् भन्ने सुन्दा तपाईंलाई कस्तो लाग्छ ?

  १ पैसामा कुखुराको अण्डा,
  १ पैसाको दरमा हजारौं हजार पर्ने स्वास्थ्यसम्बन्धी उपकरण,
  १ रुपियाँमा ह्विलचियर, तौलने मेसिन, रक्तचाप नाप्ने मेसिन आदि,

   ६ सय पर्ने हाइड्रोजन पेरोक्साइड नामको डाएलाइसिस गर्दा चाहिने उपचार सामग्री ६५ रुपियाँमा।
सायद पत्याउनु भएन ? लाग्दै होला–
 - सपनामा मात्र हुनसक्छ यस्तो, या
  - फ्यान्ट्यासी कथा हुनसक्छ यो, या
  -  जिजुबाजेको पालामा हुन सक्थ्यो होला यस्तो बजारभाउ, हाम्रो पालामा होइन।

तर होइन, यी सबै हालैका कुरा हुन्, अखबारमा आएका। मैले पढें, तपाईंको पनि आँखा परेको हुनसक्छ। खबरको मजबुन यस्तो छ:

   वीर अस्पताल सञ्चालन गरिरहेको राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानले रासन खरिदका लागि बोलपत्र आह्वान गरेकोमा न्यु सुयोग इन्टरप्राइजले १ पैसामा कुखुराको अण्डा अनि १ रुपियाँमा चना, जिरा, बेसार, लसुन, अदुवा, तोरीको तेल, चिनीकोे दररेट पेस गरेको छ।

- राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानले नै केही उपकरणहरू खरिद गर्न बोलपत्र आह्वान गरेकोमा श्री श्रेष्ठ साइन्टिफिक ट्रेडर्सले १७ वटा उपकरणहरूको दर १ पैसा राखेर बोलपत्र पेस गरेको छ, जसका कारण उसले ठेक्का पाउने निश्चित छ। ती सामानहरूको प्रतिएकाइ बजारमूल्य भने हजारौं हो।

-नारायणी अस्पतालले स्वास्थ्य सामग्रीहरू खरिद गर्न बोलपत्र आह्वान गरेकोमा महेश मेडिसिन सप्लायरले हाइड्रोजन पेरोक्साइडको बजारमूल्य ६ सय जति हुँदा पनि ६५ रुपैयाँ कबोल ग-यो।

यति सस्तोमा मालसामान आपूर्ति हुने भयो, राम्रो त भयो भन्ने लागेको होला, तपाईंलाई ? अंग्रेजीको एक भनाइलाई मनमा राखी विचार गर्नोस् त, ‘देयर इज नो फ्रि लन्च’अर्थात् फोकटमा कसैले ख्वाउन्न। कसैले केही गर्छ भने त्यहाँ केही न केही स्वार्थ लुकेको हुन्छ नै। व्यापारीले त झन् नाफा नभई कुनै व्यापार गर्ने कुरै भएन। बोलपत्रदाताले समाज सेवा गर्ने उद्देश्यले बोलपत्रमा त्यो दररेट उल्लेख गरेको होइन। त्यसरी पत्याउनै नसकिने दररेट उल्लेख गरेर पनि कसरी नाफा होला ? यो जिज्ञासा मनमा उठ्छ नै। यसमा झेली गरेर फाइदा लिन सकिन्छ भन्ने मनसाय लुकेको अनुमान गर्न सकिन्छ। त्यो झेली गर्ने मनसायलाई सफल बनाउने उपाय भनेको कानुनको छिद्र वा सम्बद्ध अधिकारीको असक्षमताबाट फाइदा लिने वा लोभपापको चास्नीमा झिंगाझै पर्ने वा अवाञ्छित तवरले माथिकाले दिएको आदेशको अगाडि थुरथुर हुने अथवा आँट नभएका कर्मचारीलाई वशमा पार्ने हो।

फोकटमा कसैले ख्वाउन्न। कसैले केही गर्छ भने त्यहाँ केही न केही स्वार्थ लुकेको हुन्छ नै। व्यापारीले त झन् नाफा नभई कुनै व्यापार गर्ने कुरै भएन। बोलपत्रदाताले समाज सेवा गर्ने उद्देश्यले बोलपत्रमा त्यो दररेट उल्लेख गरेको होइन।

झेली बाली लगाउन सकिने ब्याड
क्रेताले कुनै कुरा (मालसामान वा सेवा) किन्नु पर्दा चाहने मुख्य तीन कुरा हुन्– गुणस्तर, आपूर्ति समय र मूल्य। अघिल्ला दुई पक्षमा सन्तुष्ट हुन नसक्दा–नसक्दै सस्तो भयो भनेर किन्नुपर्ने बाध्यता खरिद कानुनले गरेको छैन। धेरैले खरिद कानुनले सस्तो किन्नुपर्ने प्रावधान खरिद कानुनमा भएकाले गुणस्तरयुक्त सामान वा सेवा लिन नसकेको सिकायत गर्ने गर्छन्, त्यो सत्य होइन। त्यो कसरी भने अघिल्ला दुई पक्षको परिभाषा खरिदकर्ताले प्राविधिक स्पेसिफिकेसन र खरिदसम्बन्धी सर्तमार्फत गर्छन् र त्यसको मापन गर्ने आधार आफैं बनाउन पाउँछन्। क्रेताले गरेको परिभाषा र सर्त पूरा गरेर आफूले कतिसम्ममा बिक्री गर्न सकिन्छ, त्यसको मूल्य उल्लेख गरेर बिक्रेताले बोलपत्र वा दरभाउपत्र पेस गर्ने हो। यदि क्रेताले कुनै छिद्र छाड्छ भने बिक्रेताले त्यसलाई पक्रेर बोलपत्र वा दरभाउपत्र राख्छ।

आफूले गर्ने परिभाषा वा सर्तमा आफू चुक्ने, अनि बिक्रेताले सस्तो हाल्यो, खरिदसम्बन्धी कानुनले सस्तोमा किन्नुपर्ने प्रावधान राखेको हुँदा गुणस्तरहीन र समयमा आपूर्ति नहुने कुरा किन्नुप-यो भन्न मिल्दैन। जसरी नेपालीमा एक उखान छ– आफ्नो थैलीको मुख राम्रोसँग बाँध्नु, संगीलाई दोष नलगाउनु। यो उखान यहाँ पनि लागू हुन्छ अलि फरक किसिमले। त्यो फरक भनेको गुणस्तरयुक्त सामान वा सेवाको परिभाषा गर्नु र परिभाषाअनुसार भयो भएन भनी आफैं मूल्यांकन गर्न सक्नु हो, बोलपत्रदातालाई दोष दिएर हुन्न।

माथि उल्लिखित बोलपत्र हाल्दा बोलपत्रदाताले छिद्र कहाँ भेटे भने किन्नुपर्ने सामानहरूको लामो सूची बनाइएको हुँदा सबै सामान एकमुष्ट रूपमा सबैभन्दा सस्तो हुनुप-यो, न कि एक–एक आइटम सस्तो। यो भनेको मोटर किन्दा पूरा मोटरको मूल्य तिरेजस्तो हो, टायर, स्टेयरिङ, सिटको छुट्टाछुट्टै मूल्य तिरेजस्तो हुँदैन। पूरा बोलपत्रको कुल कबोल अंक कम बनाउन बोलपत्रदातासँग तीन उपाय हुन्छन्: पहिलो उपाय हो, सबै आइटमको दररेट जति कम गर्न खोजिएको हो, त्यति नै अनुपातमा कम गर्दै जाने। दोस्रो उपाय हो, केही आइटमको दररेट नघटाई बढी नै राख्ने र केही आइटमको दररेट अपत्यारिलो किसिमले कम गर्ने। माथि उल्लिखित बोलपत्रमा यस्तै भएको हो। तेस्रो उपाय हो, प्रचलित दररेट नै उल्लेख गर्ने र दररेट उल्लेख भएको पृष्ठको पुछारतिर कुल कबोल अंकमा यति प्रतिशत कम गरेको छु भनी उल्लेख गर्ने। यी तीनमध्ये बोलपत्रदाताले दोस्रो उपाय अपनाए, जुन गर्न नमिल्ने उपाय होइन बोलपत्र जित्नका लागि र यसलाई अनियमितता भनी अखबारका शीर्षक बने, त्यो खरिदका कानुनी प्रावधान नबुझ्दाको संकेत हो।

अनियमितता बोलपत्र राख्दा र स्वीकृत गर्ने बेलासम्म भएको हुन्न। अनियमितताको ब्याड मात्र तयार भएको हुन्छ– समस्याजन्य दररेट पेस हुने र त्यही दररेट भएको बोलपत्र स्वीकृत भएमा। पछि ठेक्का व्यवस्थापनको क्रममा अनियमितता उब्जिँदै र झ्यांगिँदै जान्छ। त्यो हुन्छ कसरी भने ठेकेदारले सस्तो आइटमका सामान आपूर्ति नगर्ने तर बढी दररेट उल्लेख गरेका सामानको माग क्रेताले राखोस् भनी विभिन्न तिकडम गर्न थाल्छन्। बजारमा सामान पाइएन भन्न सक्छन्, सस्तो आइटम जस्तै अण्डाको माग नगर्न प्रभावित पार्छन् वा भान्छा/भण्डारमा काम गर्ने कर्मचारीलाई आपूर्ति नगरे पनि आपूर्ति भयो भनी प्रमाणित गराउन सक्छन्। यसखाले झेली खेल अर्थात् अनियमितता एकपटक मात्र सामान आपूर्ति गर्ने नभई पटक–पटक आपूर्ति गरिरहनुपर्ने रासन आपूर्ति जस्तोमा हुन सक्छ।

दोस्रो उपाय अपनाएर बोलपत्र सस्तो बनाएर ठेक्का जित्नेले माथि उल्लिखित तिकडम अपनाउने हुँदा संस्थाले सामान पाउँदैन, जसको कारण स्वास्थ्य संस्थाको सेवा प्रवाहित हुन्छ। १ पैसा र १ रुपियाँमा सामान आपूर्ति नगर्न अनेक हथकण्डा अपनाउन सक्छन् ठेकेदारले, जसको कारण सेवाग्राही र प्रशासक वर्ग दुवै समस्यामा पर्न सक्नेछन्। अन्ततः सेवा प्रवाहित हुनेछ। उदाहरण, रासन आपूर्तिकर्ताले कुनै बहाना बनाएर अण्डा आपूर्ति गरेन भने डाक्टरले अण्डा खान सिफारिस गरेका वीर अस्पतालमा भर्ना भएका बिरामीले अण्डा खानपाउने छैनन्। गरिब बिरामी त्यहाँ भर्ना हुन्छन्, त्यसमध्ये कति आफैं अण्डा किनेर खान नसक्ने हुन्छन्। खाना पकाएर बाँड्ने कर्मचारीले रासन आपूर्तिकर्ताबाट केही गुलियो चाटेर बिरामीलाई अण्डा नदिने तर दिएको देखाउने गर्न सक्छन्। आजसम्म बिरामीबाट खानामा के–के समावेश थियो भनी भरपाई गराउने प्रचलन छैन।  

यसैगरी अत्यावश्यक सामग्री आपूर्ति नभएमा अर्को आपूर्तिकर्ताकहाँबाट महँगोमा सामान किनेर सेवा नियमित गर्नुपर्ने हुन्छ। नारायणी अस्पतालले १३ गुणा महँगोमा ९ सय ४ रुपैयाँमा हाइड्रोजन पेरोक्साइड किनेर काम चलाएको छ। झेली खेलमा हुने अर्को झेल हो– सस्तो सामान ठेक्का पाएको फर्मबाट अनेक बहाना बनाइ आपूर्ति नगर्ने तर उही ठेकेदारको संलग्नता रहेको अर्को फर्मबाट महँगो दररेटमा आपूर्ति गर्ने। राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानले स्वीकृत गरेको रासन ठेक्का र स्वास्थ्य उपकरण खरिदसम्बन्धी ठेक्कामा यस्तो हुन सक्ने आशंका त्यहाँका कर्मचारीले गरेको खबरमा आएको थियो पनि। यो बिनाआधारको आशंका होइन, विगतको अभ्यासको आधारमा भुक्तभोगीले गरेको आशंका हो।
झेली बाली उमार्ने ब्याड नै बन्न नदिन के गर्ने ?

ठेक्कापट्टामा अपत्यारिलो गरी सस्तो दररेट उल्लेख छ र त्यसकै आधारमा कुनै व्यावसायिक फर्मले ठेक्का हातपा-यो भने झेली बाली उमार्ने र त्यसकै कारण सरकारी सेवा टाक्सिन्छ भन्नेबारे छलफल गरिसकेपछि ब्याड नै बन्न नदिन के गर्ने भन्नेबारे छलफल गर्नु भनेको कथाले मागेकै कुरो भयो।

उपाय एक:  चाहिने सामानको धेरै लामो सूची नबनाउने, स्लाइसिङ गर्ने।

बोलपत्रदाताले बोलपत्र जित्ने आधारमध्येको एक बलियो आधार हो एकमुष्ट रूपमा सबै आइटम जोडेर कबोल गरेको रकम न्यूनतम हुनु हो। जति ठूलो सूची भयो, त्यति नै केही आइटमको मूल्य बढी राख्न र केही आइटमको मूल्य अत्यन्त कम राख्न सम्भव हुन्छ। यसरी आवश्यक परेका सामानलाई प्रयोजन र प्रकारको आधारमा थोरै आइटम समेटेर स्लाइस बनाउने गरेमा बोलपत्रदाताले कुनै आइटमको मूल्य अपत्यारिलो तवरले कम राख्ने सम्भावना कम हुनजान्छ। उदाहरणका लागि रासन ठेक्का गर्दा दर्जनांै आइटम चाहिने हुन्छ। ती दर्जनौंको एक प्याकेज बनाउँदा केही आइटमको मूल्य अत्यन्त कम राख्न सम्भव भयो। यदि ब्रेकफास्ट वा खाजाको रूपमा खाइने आइटमहरू दूध, दही, पाउरोटी, जाम, अण्डा जस्ता ६–७ आइटमको एक स्लाइस बनाएर बोलपत्र आह्वान गरेको भए अण्डाको मूल्य १ पैसा राख्न कठिन हुन्थ्यो। धेरै स्लाइस गर्दा स्लाइसपिच्छेका फरकफरक आपूर्तिकर्ता भई ठेक्का व्यवस्थापन जटिल हुन्छ भन्ने तर्क आउन सक्छ। दृष्टिकोण बदलेर हेरौं– ठेक्का व्यवस्थापन सजिलो पनि हुनसक्छ। कुनै सामान दिने, कुनै सामान नदिने एक ठेकेदार हुनुभन्दा खुरुखुरु सबै सामान दिने केही ठेकेदार हुनु जाती भएन र ?
उपाय दुई: मूल्य विश्लेषण माग गर्न सकिने सर्त बोलपत्रमा उल्लेख गर्ने।
यदि अत्यन्त कम दररेट उल्लेख भएको छ भने ठेक्का व्यवस्थापनक्रममा समस्या आउने तथ्य विचार गरी बोलपत्र मूल्यांकनक्रममा लागत अनुमानभन्दा २५ प्रतिशतभन्दा कम दररेट उल्लेख भएको आइटमको मूल्य तŒव खुलाएको विश्लेषण पेस गर्न सकिने सर्त बोलपत्र दस्तावेजमा नै समावेश गर्ने। यदि मूल्य विश्लेषण चित्तबुझ्दो भएन भने सो आइटमलाई बाहेक गरेर मात्र बोलपत्र मूल्यांकन गर्ने प्रावधान खरिद कानुन तथा बोलपत्रमा राख्ने। यसो भएमा झेली गरेर बोलपत्र जित्ने सम्भावना घट्छ भने ठेक्का व्यवस्थापन सजिलो भएर जान्छ।

उपाय तीन: ठेक्कामा परेको आइटम आपूर्ति नगरी आनाकानी गर्ने ठेकेदारको ठेक्का रद्द गरी कालोसूचीमा राख्ने।
यदि कुनै ठेकेदारले ठेक्कामा कबोल गरेको आइटम आपूर्ति गर्न सकेन वा आनाकानी ग¥यो भने ठेक्का रद्द गरी कालोसूचीमा राख्नुपर्ने अनिवार्य व्यवस्था गर्ने। ठेकेदारले कबोल गरेको आइटममध्ये आंशिक आपूर्ति गरेर ठेक्का जोगाइराख्न नपाउने व्यवस्था हुनुपर्छ। ठेक्का लगाएको आइटम ठेक्का पाउने ठेकेदारबाट नलिई वा उसको ठेक्का नटुंग्याइ वा ठेक्का तोड्ने निर्णय नगरी अरूबाट किनेमा सो किन्ने निर्णयकर्ताबाट ठेक्का गरिएकोभन्दा बढी मूल्य असुल गर्ने व्यवस्था भएमा नारायणी अस्पतालमा भएको जस्तो १३ गुणा महँगोमा ठेक्का भएको आइटम नै किन्ने अभ्यास गर्ने हिम्मत निर्णयकर्ताले गर्ने छैनन्।

(यस लेखमा रहेको विचार लेखकको निजी हो, लेखक आबद्ध संस्थाको विचार यसले बोल्दैन।)








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad