८ वैशाख २०८१ शनिबार
समाज

डाक्टरले फुटसल खेले, डा. केसीले पुरस्कार दिए

काठमाडौं- त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गतका स्नातकोत्तर तहमा अध्ययनरत चिकित्सकहरुले फुटसल खेलेका छन्। आइओएमका नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडिए)ले गतवर्ष सडक दुर्घटनामा ज्यान गुमाएका डा. सञ्जिव सुवेदी र डा. सन्नी आनन्दको संझनामा खेलकुद प्रतियोगिता आयोजना गरेको हो।

आइओएममा अध्ययनरत दुवै डाक्टरको २०७२ फाल्गुन ९ गते कान्ति अस्पताल र त्रिवि शिक्षण अस्पताल पछाडीको सडकमा स्कुल बसले ठक्कर दिँदा ज्यान गएको थियो। आवासीय चिकित्सकको संस्था एनआरडिएले सञ्जिव मेमोरियल फुटसल प्रतियोगिता र सन्नी मेमोरियल क्रिकसोल प्रतियोगिता आयोजना गरेको हो।

डा गोविन्द केसीको सत्याग्रहमा अग्रसर भएर विभिन्न दबाबमूलक कार्यक्रम गर्ने यो संस्थाले कात्तिक १ देखि १० सम्म खेलकुद प्रतियोगिता आयोजना गरेको संस्थाका खेलकुद संयोजक डा कस्चेव श्रेष्ठले जानकारी गराए।

उनका अनुसार सञ्जिव मेमोरियल फुटसल प्रतियोगितामा बेसिक टिमले पहिलो र आँखा विभागले दोस्रो स्थान हाँसिल गरेको छ। त्यस्तै सन्नी मेमोरियल क्रिकसोल प्रतियोगितामा एनेस्थेसिया विभागले पहिलो र बेसिक टिमले दोस्रो स्थान हासिल गरेको छ।

फुटसलका विजेतालाई डा गोविन्द केसीले र क्रिकसोलका विजेतालाई शिक्षण अस्पतालका क्याम्पस प्रमुख डा जीवन श्रेष्ठले पुरस्कार तथा सम्मान गरेको एनआरडिएका प्रमुख डा लिजन महर्जनले जानकारी दिए। त्यस्तै टेबल टेनिस प्रतियोगितामा मेडिसिन विभागका डा सबिन थपलियाले प्रथम र एनेस्थेसिया विभागका डा अर्जुन गुरुङले दोस्रो स्थान हासिल गरेका छन्।

प्रतियोगिताको अन्तिम दिन भएको टग अफ वारमा हाड जोर्नी विभागले पहिलो तथा नाक कान घाँटी विभागले दोस्रो स्थान हासिल गरेका छन्। समापन कार्यक्रममा डा गोविन्द केसीले विजेतालाई पुरस्कार प्रदान गरेको महर्जनले जानकारी दिए।

प्रकाशित: १२ कार्तिक २०७३ ०६:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App