८ वैशाख २०८१ शनिबार
कला

बोनितालाई ‘लिड २०३० च्यालेन्ज’

काठमाडौं – कुपोषण र भोकमरीको अन्त्य गर्ने उद्देश्य लिएर तीन युवाहरूको साथमा ‘सोसल चेन्जमेकर्स एण्ड इनोभेटर्स (सोचाइ)’ को सुरुवात गरेकी बोनिता शर्मा ‘लिड २०३० च्यालेन्ज’को विजेता घोषित भएकी छिन्।

दिगो विकास लक्ष्य प्राप्तिको लागि वान यङ वल्र्डले विश्व प्रतिष्ठित ब्राण्डहरूसँगको सहकार्यमा ‘लिड २०३०’ प्रतियोगिताको आयोजना गरेको थियो।प्रतियोगिताका लागि विश्वभरीका युवाद्वारा दिगो विकास लक्ष्यको प्रगतिका लागि गरिरहेका कार्यहरूको खोजी गरिएको थियो।

नविनतम सिर्जना, शिक्षा र सामाजिक व्यवसायमार्फत पोषण र स्वास्थ्य सुधारमा केन्द्रित रहेको ‘सोचाइ’ले दिगो विकास लक्ष्यको दुई नम्बर ‘भोकमरीको अन्त्य’ प्रवर्गअन्तर्गत सय देशबाट आएका १ हजार २ सय प्रतिस्पर्धीलाई उछिन्दै च्यालेन्ज पार्टनर आरबी ग्रुपबाट ५० हजार डलर पुरस्कार प्राप्त गरेको छ।पुरस्कारसँगै ‘सोचाइ’ले आरबी ग्रुपबाट एक वर्षसम्मको ‘मेन्टोरिङ’ पनि पाउनेछ।

‘सोचाइ’की सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत बोनिताले युवाशक्तिमा विश्वास गरेर आफूहरूलाई यस किसिमको अवसर प्राप्त भएकोमा खुशी लागेको बताइन्।‘हाम्रो देशमा व्याप्त रहेको कुपोषणको समस्यालाई समाधान गर्न र दिगो विकास लक्ष्य हासिल गर्न सोचाइले कुनै कसर बाँकी राख्ने छैन’, उनले भनिन् ।

‘सोचाइ’ द्वारा जारी विज्ञप्तीमा संस्थाले पोषण माला तथा महिनावारी माला जस्ता नयाँ सिर्जनाहरू गर्दै आमा, बच्चा, किशोरकिशोरी, महिला स्वास्थ्य स्वयमसेविकाहरू तथा समुदाय लक्षित कार्यक्रमहरू गर्दै आइरहेको उल्लेख छ।विज्ञप्तीमा ‘सोचाइ’ले आफ्ना उत्पादनहरूलाई बजारमा बेचेर सामाजिक उद्यमको पनि प्रवद्र्धन गरिरहेको जनाइएको छ।जसअन्तर्गत ग्राहकले किनेको एउटा पोषण माला वा महिनावारी मालाको सट्टामा एउटी आमा वा किशोरीले ‘सोचाइ’को युवा स्वयंमसेवक समूहबाट निःशुल्क माला तथा स्वास्थ्य परामर्श पाउनेछन् ।
 

प्रकाशित: २८ जेष्ठ २०७६ ०२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App