८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

मेक्सिकोमाथि थप भन्सार लगाउने ट्रम्पको चेतावनी

ग्वाटेमालाबाट मेक्सिकोतर्फ जाने क्रममा सुचिएत नदी पार गर्दै मध्य अमेरिकी आप्रवासी।तस्बिर : एजेन्सी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोमाथि थप भन्सार लगाउने चेतावनी दिएका छन्। वासिङ्टन र मेक्सिको सिटीबीच गत साता भएको आप्रवासनसम्बन्धी सम्झौताको मसी सुक्न नपाउँदै ट्रम्पले यस्तो चेतावनी दिनुले दुई देशबीच अन्य विषयमा पनि सहमति भएको हुनसक्ने अनुमान गरिएको छ।

ट्रम्पले नै गत साता भएको सम्झौताका केही अंशलाई मेक्सिकोको संसद्ले पारित गर्नु पर्ने र यदि त्यसो नभए उसविरुद्ध थप भन्सार लगाउने चेतावनी दिएका हुन्। उनले यस विषयमा विस्तृत जानकारी नदिए पनि मेक्सिकोको संसद्ले गत साता दुई देशका अधिकारीबीच सम्झौता भएबमोजिमको योजना पारित नभए उसविरुद्ध थप भन्सार लाग्ने चेतावनी दिएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।

‘मेक्सिकोसँग गरिएको आप्रवासन र सुरक्षासम्बन्धी सम्झौताको महŒवपूर्ण अंशका रूपमा हामीले अर्को एउटा डकुमेन्ट पनि तयार गरेर हस्ताक्षर गरेका छौं, जसलाई अमेरिकाले कैयौं वर्षदेखि खोजिरहेको थियो।यदि मेक्सिकोको संसद्ले सो योजना पारित नगरे उसविरुद्ध थप भन्सार  लगाइने छ,’ ट्रम्पले गरेको ट्विटमा जनाइएको छ ।
‘मेक्सिकोको संसद्मा हुने मतदानलाई लिएर हामी हस्तक्षेप गर्दैनौं तर यदि कुनै कारणले सम्झौता पारित नभए ट्यारिफ लागू हुनेछ,’ ट्रम्पको ट्विट उद्धृत गर्दै रोयटर्सले जनाएको छ।

ट्रम्पले गत महिना सोमबारबाट लागू हुने गरी मेक्सिकन सामानमा पाँच प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका थिए।उनले अमेरिका–मेक्सिको सीमाबाट अमेरिका प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई रोक्न मेक्सिकोले कदम नचाले उसको सामानमा २५ प्रतिशत नपुगेसम्म प्रत्येक महिना ट्यारिफ वृद्धि हुने समेत चेतावनी दिएका थिए।तर दुई देशबीच आप्रवासन र सुरक्षासम्बन्धी सम्झौता भएपछि भने गत शुक्रबार मेक्सिकन सामानमा लगाइएको ट्यारिफ हटाइएको थियो।सम्झौताबारे दुई राष्ट्रले प्रकाशन गरेको संयुक्त विज्ञप्तिमा सहमतिका केही विषयमात्रै बाहिर ल्याइएका थिए।

प्रकाशित: २८ जेष्ठ २०७६ ०२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App