coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

गुनासो गर्न गएका उपभोक्ता कुटिए

बारा - नेपाल विद्युत् प्राधिकरण कलैया वितरण केन्द्रमा सोमबार गुनासो गर्न गएका उपभोक्ता कुटिएका छन्। विद्युत् प्राधिकरणका कर्मचारीले बाँसको भाटाले प्रहार गर्दा तीनजना उपभोक्ता घाइते भएको बारा प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौरले कुटाइबाट कलैया उपमहानगरपालिका–९ रामपुरका रामबिहारी राउत अहिर, वीरेन्द्र यादव र राजेश प्रसाद घाइते भएको बताए। उनका अनुसार घाइतेको कलैयास्थित जिल्ला अस्पतालमा उपचार गरिएको छ।

विद्युत्बारे गुनासा गर्न गएका रामपुर टोलका स्थानीय र विद्युत् कार्यालयका कर्मचारीबीच छलफलको क्रममा कार्यालयपरिसरमै झडप भएको राठौरले बताए। अनुसन्धानको क्रममा सुरुमा स्थानीयबाटै कर्मचारीमाथि नराम्रो व्यवहार भएको र पछि कर्मचारीले स्थानीयलाई कुटेको देखिएको उनले जानकारी दिए। प्राधिकरणको लापर्बाहीका कारण सोमबार बिहान ३ बजे हाई भोल्टेज करेन्ट प्रवाह हुँदा टिभी, फ्रिज, पंखा, पानी तान्ने मोटरलगायत विद्युतीय सामग्री जलेर नष्ट भएपछि क्षतिपूर्तिको माग गर्दै रामपुरका उपभोक्ता विद्युत् प्राधिकरणको कार्यालय घेराउ गर्न पुगेका थिए।

करिब ४०÷५० जनाको संख्यामा पुगेका स्थानीयले कार्यालयप्रमुख गजेन्द्र चौधरीलाई कार्यालयपरिसरमै बोलाउन माग गर्दै प्रदर्शन गर्न थालेपछि कर्मचारीले उनीहरूमाथि आक्रमण गरेका थिए। बिहान साढे ११ बजेदेखि प्राधिकरणको मूलगेट नै बन्द गरी धर्नामा बसिरहेका प्रदर्शनकारीमाथि प्रहरी पुगेपछि प्राधिकरणका कर्मचारीले आक्रमण गरेको प्रदर्शनकारी स्थानीयको आरोप छ। प्रमुख चौधरीलाई आफू एक कर्मचारीको उपचार गराउन काठमाडौंमा रहेको बेलामा केही स्थानीयले कर्मचारीमाथि हातपातको प्रयास गरेको आरोप लगाए।

उनका अनुसार हुरीका कारण धेरै स्थानमा विद्युत् अवरोध भएको र कर्मचारी त्यसैमा दिनरात खट्नुपरेको छ। त्यति गर्दा पनि राम्रो काम गर्ने कर्मचारीलाई उल्टै हातपातको प्रयास गरिएकाले काम गर्ने कर्मचारीको मनोबल खस्केको प्रमुख चौधरीले आरोप लगाए।

प्रकाशित: २८ जेष्ठ २०७६ ०१:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App