६ वैशाख २०८१ बिहीबार
राजनीति

गुठी संरक्षणकर्मी दोस्रो दिन पनि विरोध प्रदर्शनमा

काठमाडौं - गुठी विधेयकविरुद्ध शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा भएको प्रहरी हस्तक्षेपको विरोध गर्दै राष्ट्रिय पहिचान संरक्षण संघर्ष समितिले सोमबार इन्द्रचोकमा प्रदर्शन गरेको छ। सरकारले ल्याएको गुठी विधेयकप्रति असहमति जनाउँदै उपत्यकाका गुठियारहरू आइतबार माइतीघर मण्डलामा बाजागाजासहित विरोधमा उत्रिँदा प्रहरी हस्तक्षेप भएको थियो। गुठी संरक्षकर्मीमाथि पानीको फोहरासँगै लाठी चार्ज हुँदा केही प्रदर्शनकारी घाइते भएका थिए भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको सम्पदा संरक्षण अभियन्ता मनीषकुमार श्रेष्ठले बताए।

‘शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपप्रति हाम्रो आपत्ति छ,’ उनले भने, ‘त्यसैको विरोधमा अर्को कार्यक्रम आयोजना गरेका हौं।’ उनले सरकारले ल्याएको गुठी विधेयक–२०७५ पारित भए उपत्यकाका सबै धर्म, संस्कृति र गुठीका जग्गाहरू मासिने बताए। उनले विधेयक फिर्ताका लागि सरकारसँग माग गरे। ‘माग पूरा नभए आन्दोलनमार्फत देश ठप्प पार्नेछौं,’ उनले भने, ‘त्यसैका लागि संघर्ष समिति गठन गरेका छौं।’ अभियन्ता श्रेष्ठका अनुसार सरकारले ल्याएको गुठीसम्बन्धी कानुन एकीकरण र संशोधन गर्न बनेको विधेयक–२०७५ खारेजीका लागि बनाइएको संघर्ष समितिमा नेवाः राजनीतिक अभियान, स्टार क्लब, सम्पदा बचाउ अभियानलगायत १९ वटा संघसंस्था आबद्ध छन्।

उनले सरकारले ल्याएको पहिलेको गुठी विधेयकमा गुठी संरक्षणका प्रावधानसहितका धाराहरू समावेश भएको स्पष्ट पारे। तर अहिलेको गुठी विधेयकको धारा ७२ मा गुठीको जग्गामा सरकारको जिम्मेवारी नरहने र अन्य ऐनमा गुठीको हक समाप्त हुने उल्लेख हुनु न्यायोचित नरहेको तर्क गरे। ‘सरकारले निजी गुठी नरहने भनेको छ। राज्यले अहिले रहेका गुठीहरू र जग्गाको संरक्षण गर्न सकिरहेको छैन,’ श्रेष्ठले भने, ‘निजी गुठीलाई किन सरकारी गुठीमा परिणत गर्न खोजियो ? राजगुठीको जग्गासमेत संरक्षण गर्न नसकेको सरकारले कसरी निजी गुठीको जग्गा संरक्षण गर्न सक्छ ?’ भूमाफियाहरूले चलाएको सरकार भएको उल्लेख गर्दै उनले सबै गुठीलाई प्राधिकरणमा लगेपछि जग्गा र सम्पदामाथि भूमाफियाको अतिक्रमण र चलखेल बढ्ने आशंका व्यक्त गरे।

गुठी संरक्षणकै अर्का अभियन्ता अनिश वैद्यले नेवार समुदायको गुठीमाथि सरकारले अतिक्रमण गरेको आरोप लगाए। ‘प्राचीन गुठी हामी नेवारहरूको मुटु हो। सरकारले सिंगो नेवार समुदायको मुटुमाथि अतिक्रमण गरेको छ,’ उनले भने, ‘सरकारले पहिले हाम्रो भूमिमाथि अतिक्रमण गरेको थियो। अहिले फेरि गुठी समाप्त गरेर सबै सम्पदा भूमाफियाहरूलाई सुम्पन लागेको छ।’ उनले सरकारले विधेयक खारेज नगरे सशक्त आन्दोलनमा उत्रने चेतावनी दिए। उनका अनुसार यो विधेयक पारित भए मठमन्दिर, गुठीका जग्गालगायत सबै मासिँदै जानेछन्। सरकारले गुठी संरक्षण गर्नुको सट्टा भूमाफियालाई फाइदा पुग्ने खालको विधेयक ल्याएको उनको आरोप छ।

गुठियारहरूले केही समय गुठी विधेयक खारेजको माग राख्दै नारासमेत लगाएका थिए। नेवार समुदायका अर्का अभियन्ता रघु राजभण्डारीले अफूहरूको हकअधिकारमाथि सरकारले अतिक्रमण गर्न खोजेकाले गुठी विधेयक जसरी पनि खारेज हुनुपर्नेमा जोड दिए। ‘सरकारले गुठी विधेयक ल्याएर नेवार समुदायको अधिकारमाथि बन्देज गर्न लागेको छ,’ उनले भने, ‘गुठी हामी नेवारहरूको सभ्यता हो। अहिलेको गुठी विधेयक नसच्चिए सनातन धर्मलाई त्यसले ठूलो असर गर्छ। यो विधेयक खारेज हुनैपर्छ।’ प्राचीन गुठीका जग्गा र सम्पदामाथि सरकारले आँखा लगाएको उनको आरोप छ। विभिन्न राजनीतिक दलका नेताहरूले समेत गुठी विधेयक संविधानकोे मर्म र भावनाविपरीत आएको भन्दै आपत्ति जनाउँदै आएका छन्।

प्रकाशित: २८ जेष्ठ २०७६ ००:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App