७ वैशाख २०८१ शुक्रबार
राजनीति

गुठी विधेयकले धर्म, संस्कृतिलाई असर गर्दैन : मन्त्री अर्याल

काठमाडौं- भूमिसुधार मन्त्री पद्यमा अर्यालले गुठी सम्बन्धी कानुन एकीकरण र संशोधन गर्न बनेको विधेयक धर्म, संस्कृति र परम्परालाई प्रतिकुल पार्ने गरि नआएको दाबी गरेकी छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले धर्म, संस्कृति र परम्परालाई प्रतिकुल पार्ने गरि ल्याईएको विधेयकको विरोधमा भएको शान्ति पूर्ण प्रर्दशनमा प्रहरी दमन भएको भन्दै सरकारको जवाफ माग गरेपछि विभागिय मन्त्रीका दृष्टिबाट उनले विधेयकबारे स्पष्ट पारिन्। उनले हिजोको मर्म र भावनालाई प्रतिकुल पार्ने गरि विधेयक प्रस्तुत नभएको भन्दै विधेयकलाई गम्भीर रुपमा अध्ययन गर्न आग्रह गरिन्।

उनले भनिन् “संविधानलाई एकिकृत रुपमा बुझ्नुपर्छ। संविधानको एउटा धाराको व्याख्या मात्रै हेरेर, एउटा अनुसुची मात्रै हेरेर संविधानको प्रतिकुल हुन्छ कि अनुकुल हुन्छ भन्ने निष्कर्ष निक्लन्छ जस्तो लाग्दैन।” संविधानको धारा २ सय ९० अनुसार विधेयक आएको भन्दै उनले संविधानलाई एकीकृत रुपमा बुझ्न आग्रह गरिन्। विधेयकमा गुठीमा जोडिएका किसानका हकहित, मठ मन्दिर , धर्म संस्कृतिलाई संरक्षण गर्ने विषयलाई प्रतिकुल पार्ने व्यवस्था नभएको भन्दै उनले विधेयकप्रति धेरै सन्देह प्रकट नगर्न आग्रह गरिन्।

उनले आईतबारको प्रर्दशनका क्रममा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले पानीको फोहोरा प्रयोग गरेको स्पष्ट पारिन्।

मन्त्रीको जवाफमा प्रतिप्रश्न गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक पुष्पा भुसालले संसदीय मुल्य र मान्यता नियमावली अनुसार संसद सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइन्। गम्भीर विषयमा प्रमुख प्रतिपक्षी दलको ध्यानाकर्षण गर्दै उभिएर विरोध गरिरहेको अवस्थामा सभामुखको निर्देशनबाट सत्तापक्षको सांसदबाट बोल्न दिने काम भएको भन्दै उनले त्यसकार्यप्रति घोर आपत्ती जनाइन्। उनले माईतिघर मण्डलामा गुठीयारमाथि भएको धरपकडप्रति भुमिसुधार मन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै गृहमन्त्रीको जवाफ माग गरिन्। मन्त्रीले धरकपड गरेको स्वीकार गरेको भन्दै उनले त्यसबारे गृहमन्त्रीले जवाफ नदिएसम्म कांग्रेसले सदन संचालन गर्न नदिने बताइन्।

आसन ग्रहणका लागि सभामुखले पटक पटक आग्रह गरेपनि कांग्रेस सांसदहरुले उभिएर विरोध जनाईरहेपछि सभामुखले बैठक स्थगित गरेका थिए।

 

प्रकाशित: २७ जेष्ठ २०७६ ०७:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App