८ वैशाख २०८१ शनिबार
खेल

बार्टीको विश्व नम्बर एक बन्ने लक्ष्य

पेरिस– अस्लेघ बार्टीले तत्कालै पहिलो ग्रान्ड स्लामको रूपमा फ्रेन्च ओपन जित्ने लक्ष्य नभए पनि सफलता प्राप्त गरेको बताउँदै अझै विश्व नम्बर एक हुने योजनामा रहेको खुलाएकी छन्।

केही वर्षमा महत्त्वपूर्ण उपाधि आफ्नो बनाउँदै विश्व नम्बर एकको ताज चुम्ने अर्को लक्ष्य रहेको बताएकी हुन्। सन् १९७३ पछि पेरिसमा पहिलो उपाधि जित्ने अस्ट्रेलियन खेलाडी बनेकी बार्टीले सन् २०१४ टेनिस छाड्दै प्रोफेसनल क्रिकेटको करियर सुरुआत गरेकी थिइन्। सन् १९७३ मा मार्गरेट कोर्टले पेरिसमा उपाधि जितेपछि कुनै पनि अस्ट्रेलियन खेलाडीले त्यो सफलता दोहो-याउन सकेका थिएनन्।

तर, दुई वर्षको विश्रामपछि सन् २०१६ मा टेनिसमा फर्किएकी बार्टीले मार्गरेटको सफलता दोहो-याइन्। बार्टीले सफल व्यावसायिक क्रिकेट लिग बिग बासमा ब्रिसबेन हिटबाट खेलेकी थिइन्। २३ वर्षीया बार्टीले आफ्नो पुनरागमनलाई यादगार बनाउने क्रममा पछिल्ला समयम एकपछि अर्को सफलता प्राप्त गरिरहेकी छन्। सफलतालाई पछ्याइरहने क्रममा शनिबार फ्रेन्च ओपन जितेकी बार्टी सोमबार नै विश्व नम्बर आठबाट दोस्रो वरीयतामा पुग्नेछिन्।

शनिबार भएको फाइनलमा चेक रिपब्लिककी युवा खेलाडी मार्केटा भोन्ड्रौसोभालाई ६–१ र ६–३ ले सहजै पराजित गरेकी बार्टीले विश्व टेनिसमा आफूलाई सफल खेलाडीको रूपमा उभ्याइन्। सफलतापछि बार्टीले पछिल्ला सफलताहरू आश्चर्यजनक रूपमा नरहेको बताउँदै टेनिसमा यादगार यात्रा गरिरहेको उल्लेख गरिन्।

‘पछिल्ला समय  टेनिसमा राम्रो बितिरहेको छ,’ बार्टीले भनिन्, ‘फाइनलको समय कोर्टमा यो अवसर कहिले नमिल्ने सोच्दै यसलाई सदुपयोग गर्ने योजना बनाएका थिए। सोहीअनुरूपमा सफल पनि भए।’ बार्टीले सफलताको नयाँ क्षेत्रमा जाने सबैको लक्ष्य हुने उल्लेख गर्दै यसलाई निरन्तर आगाडि बढाउने प्रतिक्रिया दिइन्। अहिले विश्वको शीर्ष वरीयतामा जापानिज युवा खेलाडी नाओमी ओसाका छिन्।

बार्टी सोमबार दोस्रो वरीयतामा पुगेपछि शीर्षकी ओसाकासँगको अन्तर निकै कम हुन्छ। अन्तर कम भएमा बार्टीलाई विश्व नम्बर एक बन्न सहज समेत हुनेछ। ‘अवश्य पनि आगामी बिन्दु, लक्ष्य र अवस्थाका बारेमा मैले सोचिसकेको छु,’ बार्टीले भनिन्,‘विश्व नम्बर दुई हुनु पक्कै पनि अविस्मरणीय क्षण हो। बच्चा अवस्थामा मैले यो सपना देखेकी थिइनँ। तर, यसलाई जोगाइराख्ने प्रयास गर्दछु। साथै विश्व नम्बर एक बन्न  उत्कृष्ट प्रदर्शन गर्छु।’

चार वर्षअगाडि बिग बास खेलेकी बार्टीले ९ खेलमा सर्वाधिक ३९ रन मात्र बनाएकी छन्।  सन् २०१३ मा बार्टीले तीन पटक डबल्सको फाइनल गुमाएकी थिइन्। सोही समय चार प्रतियोगिताको सिंगल्समा २ खेल मात्र जितेकी उनले ९ खेल गुमाएकी थिइन्। सन् २०१७ पछि मात्र बार्टी ग्रान्ड स्लाम खेल्न थालेकी थिइन्। सन् २०१८ मा भएको युएस ओपनमा उनले करियरको उत्कृष्ट प्रदर्शन गर्दा युएस ओपनको चौथो चरणसम्मको यात्रा तय गरिन्।

उनी सन् २०१८ मै भएको विम्बल्डनमा तेस्रो चरणसम्म पुगेकी थिइन्। तर, सन् २०१९ को पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपनमा भने उनले यादगार सुरुआत गर्दा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेकी थिइन्। सोही सफलतालाई उचो बनाउने क्रममा उनले फ्रेन्च ओपन जित्दै करियरको पहिलो ग्रान्ड स्लाम उचाल्न पुगेकी छन्। यो सफलतासँगै बार्टीले क्रिकेटलाई धेरै माया गरे पनि तत्कालै त्यसमा फर्किने लक्ष्य नरहेको बताएकी छन्।

‘विश्व नम्बर दुई हुनु पक्कै पनि अविस्मरणीय क्षण हो। बच्चा अवस्थामा मैले यो सपना देखेकी थिइनँ। तर, यसलाई जोगाइराख्ने प्रयास गर्दछु। साथै विश्व नम्बर एक बन्न  उत्कृष्ट प्रदर्शन गर्छु।’

प्रकाशित: २७ जेष्ठ २०७६ ०७:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App