७ वैशाख २०८१ शुक्रबार
समाज

नगरपालिकामा झडप, एक दर्जन विद्यार्थी घाइते

धनुषा– विदेह नगरपालिकाको कार्यालयमा मेयरका समर्थक र विद्यार्थीबीच झडप भएको छ। विदेह नगरपालिका–६ तीनकौरियास्थित रहेको जनता नमुना मावि गिद्धाबेलापट्टीका विद्यार्थी र अभिभावकहरूले प्रधानाध्यापकलाई नियमविपरीत सरुवा गरेको, शिक्षकको तलब, विद्यार्थीको छात्रवृत्ति रकम रोकेको र विद्यालयको बजेटमा मेयरले कमिसन मागेको भन्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरी प्रदर्शन गर्दा दुई पक्षबीच झडप भएको हो। मेयर बेचन दासका समर्थक र विद्यार्थीबीच झडप हुँदा एक दर्जनभन्दा बढी विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ।

विद्यार्थी र अभिभावकहरूले शुक्रबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको थियो। तालाबन्दीलाई आइतबार पनि निरन्तरता दिँदै विरोध प्रदर्शन गरिरहेको बेला मेयरका नजिकका र आसेपासे कार्यकर्ताले विद्यार्थीलाई जबरजस्ती गालीगलौजसहित कुटेको अभिभावकले आरोप लगाएका छन्। विद्यार्थीहरूको प्रदर्शनमा समर्थन गर्न आएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधेकृष्ण गोइत, विदेह नगरपालिका–१ का वडाध्यक्ष विनोद गोहितमानसमेत घाइते भएका छन्।

अभिभावकले बाहिरका गुण्डा ल्याएर नगर प्रमुख दासले विद्यार्थीमाथि आक्रमण गराउन लगाएको स्थानीय भगत मण्डलले आरोप लगाएका छन्। यसअघि गत शुक्रबार पनि विद्यार्थीले ताला लगाउन खोजेपछि प्रहरीले लाट्ठी चार्जसमेत गरेको थियो। प्रहरीले बल प्रयोग गरेर ताला खोलेपछि विद्यार्थीले आइतबार फेरि ताला लगाएका हुन्। विद्यार्थीहरूले शिक्षकको तलब, छात्रवृत्ति रकम र विद्यालय नमुना घोषणा भएपछि आएको बजेट निकासा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।
 

प्रकाशित: २७ जेष्ठ २०७६ ०५:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App