वीरगन्ज - मुलुककै प्रमुख व्यापारिक नाका वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भएर तेस्रो मुलुकबाट आउने कन्टेनर बन्द सामानको आयात करिब १७ प्रतिशतले बढेको छ । भारतका समुद्री बन्दरगाह हुँदै अन्य मुलुकसँग नेपालको रेललाइनमार्फत सम्पर्क गराउने सिर्सिया सुक्खा बन्दरगाहमा चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म ३९ हजार एक सय ६ वटा कन्टेनर (२० फिट एकाइ) मा विदेशी सामान भित्रिएको छ । गत वर्ष यसै अवधिमा ३३ हजार चार सय ७१ वटा कन्टेनर भित्रिएका थिए ।
सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी हिमालयन टर्मिनल्सको तथ्यांकअनुसार चार सय ३८ ¥याक कन्टेनर लिएर भारतीय बन्दरगाहबाट यहाँ आएका छन् । एक ¥याकमा ९० वटा कन्टेनर (२० फिट एकाइ) अटाउँछ । गत वर्ष यसै अवधिमा तीन सय ७९ ¥याक कन्टेनर लिएर सुक्खा बन्दरगाह आएका थिए । यो वर्ष प्रतिमहिना झण्डै ४४ ¥याक विदेशी मालसामान भरिएका कन्टेनर बोकी सुक्खा बन्दरगाह भित्रिएका छन् । दैनिक करिब डेढ ¥याक कन्टेनर औसत रुपमा सुक्खा बन्दरगाहमा आएको हो ।
गत वर्ष महिनामा करिब ३८ ¥याक कन्टेनर भित्रिएका थिए । मासिक रुपमा तीन हजार नौ सयभन्दा बढी कन्टेनर यो वर्ष भित्रिएको छ । ‘समग्रमा उसै पनि नेपालको आयातको आकार बढिरहेको छ । रेलबाट ढुवानी सुरक्षित र सुगम भएपछि आयातकर्ताको रोजाइमा रेलबाट ढुवानी प¥याको छ, त्यसले पनि सुक्खा बन्दरगाहमा कन्टेनरको संख्या बढ्नु स्वभाविक हो,’ सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी हिमालयन टर्मिनल्सका प्रमुख कार्यकारी अधिकृत बिष्णुकान्त चौधरीले भने, ‘सिपिङ कम्पनीले कोलकताको सट्टामा वीरगन्ज सुक्खा बन्दरगाहमै खाली कन्टेनर फिर्ता बुझिलिने भएपछि त्यसबाट पनि आयातकर्ताले रेलबाट ढुवानी रोज्न थालेका छन् ।’
सुविधा पाइएपछि यताबाट खाली कन्टेनर फर्काउन आयातकर्ताले ढिलाइ गर्ने गरेको उनको गुनासो छ । यसको कारण कैयौंपटक आफूहरुले ‘नेकेट ¥याक’ (कन्टेनर बिनाका ¥याक) यताबाट फिर्ता पठाउनु परेको चौधरी बताउँछन् । तेस्रो मुलुकबाट आउने मालसामानको आयातको आकार बढिरहेकाले त्यस अनुरुप सुक्खा बन्दरगाहको पूर्वाधार पनि बढाउन जरुरी भइसकेको आयातकर्तासमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अशोक टेमानी बताउँछन् ।
सुक्खा बन्दगाहस्थित भन्सार कार्यालयका भन्सार प्रमुख उमेश श्रेष्ठका अनुसार चीन, सिंगापुर, मलेसिया, गल्फ मुलुक र युरोपेली मुलुकबाट मुख्य रुपमा यहाँ मालसामान भित्रिने गरेको छ । यो बाटो कागज, इलेक्ट्रोनिक सामान, गेडागुडी, मसला, विदेशी मदिरा, अर्धतयारी मदिरा, वाइन तथा बियर, हलुका पेय, लुब्रिकेन्ट, गाडी, विभिन्न उपकरण जस्ता सामान यहाँ भएर भित्रिने ग¥याको उनले बताए ।
प्रकाशित: २७ जेष्ठ २०७६ ०४:३२ सोमबार