coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

चौधवटा पुल निर्माण कहिले ?

चितवन - नारायणगढ–मुग्लिन खण्डको सडक विस्तार सकिएको एक वर्ष पुगिसक्यो। सडक विस्तार गरेर ११ मिटर चौडा बनाइएको छ। तर, बीचमा पर्ने पुल सोही अनुसार फराकिलो बनाउने काम अझै हुन सकेको छैन।

साँघुरा पुल क्षेत्रमा दुर्घटना बढी हुन थालेपछि सडक विस्तारको काम गरेको नारायणगढ–मुग्लिन सडक आयोजनाले पुलनजिक ‘रुम्बल स्ट्रिप’ बनाएको छ। विस्तारको काम सकिने बेला सो खण्डमा पर्ने सबै पुल आउँदो दुई वर्षभित्र नयाँ बनाउने भनिएको थियो। तर, चारवटा बाहेक बाँकी पुल निर्माणको प्रक्रिया नै सुरु भएको छैन। टेन्डर गर्ने काम पनि भएको छैन। नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार उक्त खण्डमा पर्ने चारवटा पुलको मात्र निर्माण सम्झौता भएर काम अघि बढेको छ। दासढुंगा, मौरी, खानी र जलवीरेमा पुल निर्माण जारी छ। सडक विस्तारको काम गरेर दुई निर्माण कम्पनीले नै चारवटा पुल निर्माण गरिरहेका छन्।

सडक फराकिलो भए पनि जोखिम उस्तै 

लामा कन्स्ट्रक्सन कम्पनीले दासढुंगा, मौरी, खानी पुल निर्माणको जिम्मा पाएको छ। आगामी साउन १७ सम्म सक्ने गरी तीनवटा पुलको निर्माण सम्झौता भएको थियो। तीनवटा पुलको लागत १३ करोड ६५ लाख छ। जलवीरे पुल निर्माणको काम सुप्रिम–रौताहा जेभीले गरिरहेको छ। १३ करोड ९५ लाख रुपैयाँ लागतमा बनाइन लागेको पुल आगामी साउन ६ सम्म सम्पन्न गर्ने गरी निर्माण सम्झौता भएको हो। दासढुंगा, मौरी र खानी पुल निर्माणको काम आउने असार मसान्तभित्र सकिने सूचना अधिकारी खनालले जानकारी दिए।

तीनवटा पुलको निर्माण कार्य ८२ प्रतिशत सकिएको छ। ‘सबै तयार भइसकेका छन्, केही स–साना काम बाँकी छ,’ उनले भने, ‘यो आर्थिक वर्षभित्रै यी तीन पुलबाट गाडी गुड्न थाल्छन्।’ जलवीरे पुलको काम भने ४४ प्रतिशत मात्र सकिएको छ। ८० मिटर लामो पुलको दुईतर्फ खम्बा बनाउने काम सकिएको छ। खोलामा पानी बढ्न थालेकाले बाँकी काम भने बर्खापछि हुने उनले बताए। यस सडकमा रहेका १८ वटा पुलको लम्बाइ चार सय ८४ मिटर छ। प्रायः जसो पुल २० मिटरभन्दा लामा छन्। पुराना पुल प्रायः जसो ६ मिटर चौडाइका छन्।

पुल पुरानो हुनुका साथै विस्तार गरिएको सडकको तुलनामा ज्यादै साँघुरो भएकोले नयाँ निर्माण गरिहाल्नुपर्ने देखिन्छ। राजमार्गको दुई लेन सडकमा पुल ११ मिटर चौडाइको हुनुपर्ने प्रावधान भएकाले सबै पुल ११ मिटर चौडाइको बनाउनुपर्ने आयोजनाका सूचना अधिकारी खनाल बताउँछन्। निर्माण सुरु हुन बाँकी १४ वटा पुलमध्ये १० वटा विस्तारको काम सजिलो हुने भए पनि चारवटा अप्ठेरो ठाउँमा छन्। ‘मुग्लिनतर्फबाट आउँदाका चारवटा पुल पहरा भएका ठाउँमा छन्,’ उनले भने, ‘ती ठाउँमा पुल विस्तार गरेर नयाँ बनाउन कठिन छ।’

व्यस्त सडक भएकाले सवारी साधन रोकेर काम गर्न नसकिने उनी बताउँछन्। सवारी साधन आवतजावत गर्न दिँदै पुल बनाउनुपर्ने भएकाले सोही अनुसारको डिजाइनमा पूर्वाधार तयार गरिनुपर्ने उनले बताए। पुल निर्माणको टेन्डर प्रकाशित गर्ने र निर्माण सम्झौता गर्ने काम सडक विभागको पुल महाशाखामार्फत नै हुने उनले बताए।


सडक विस्तार भए पनि विस्तारको काम सुरु हुन नसकेको नारायणगढ मुग्लिन सडक खण्डमा रहेको रहेको पुल।
तस्बिर ः नागरिक

 

प्रकाशित: २७ जेष्ठ २०७६ ०४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App