८ वैशाख २०८१ शनिबार
अर्थ

१८ सय ट्यांकरबाट ‘क्यालिब्रेसन’ नगरी इन्धन ढुवानी

काठमाडौं - नेपालको कानुन अनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने हरेक ट्यांकरले बर्सेनि क्यालिब्रेसन गनुपर्ने भए पनि १८ सय हाराहारी ट्यांकरले क्यालिब्रेसन नगरी इन्धन ढुवानी गर्दै आएका छन्। इन्धन ढुवानी गर्न नेपाल आयल निगमबाट अनुमति लिएका करिब १९ सयमध्ये एक सय ट्यांकरले मात्र क्यालिब्रेसन गराएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ। विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार निगमबाट अनुमति लिएका एक सय ट्यांकरले मात्र यो वर्ष क्यालिब्रेसन गराएका छन्। ‘प्रत्येक ट्यांकरले क्यालिब्रेसन गर्नुपर्ने भए पनि १८ सयले अटेर गरेका छन्,’ पुडासैनीले भने, ‘निगमका डिपो प्रमुख र ट्यांकर चालकको मिलेमतोमा क्यालिब्रेसन नगराएका हुन्।’

–यकिन परिमाण मापन गरेर चुहावट नियन्त्रण गर्न क्यालिब्रेसन गनुपर्ने भए पनि मिलेमतोमा तेल चोरी गर्न क्यालिब्रेसन नगरी इन्धन ढुवानी गर्दै आएको आरोप।  

भारतमा क्यालिब्रेसन गराएको बहाना बनाएर आफ्नो देशको कानुन उल्लंघन गरेको विभागको दाबी छ। ‘स्ट्यान्डर्ड नापतौल ऐन–२०२५ अनुसार निगमका डिपोबाट पेट्रोल पम्पमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने सबै ट्यांकरले अनिवार्य क्यालिब्रेसन गर्नुपर्छ। ट्यांकरबाट इन्धन ढुवानी गर्दा परिमाण ठिक छ, छैन भनेर मापन गर्ने प्रविधि क्यालिब्रेसन हो। यसमा राज्यको मानक नापतौलसँग दाँजेर इन्धनको नापतौल (मेजरमेन्ट) ठिक भए, नभएको मापन गरिन्छ। १८ सय ट्यांकरले कानुन उल्लंघन गरेको पुडासैनीले बताए। ‘भारतमा क्यालिब्रेसन गरेको बहानामा यहाँ क्यालिब्रेसन गर्न अटेर गरेका छन्,’ उनले भने।

इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट इन्धन ढुवानी गरेर ल्याउँदा भारतमा गरेको क्यालिब्रेसन मान्य भए पनि नेपालभित्रका डिलरमा इन्धन ढुवानी गर्न गुणस्तरको क्यालिब्रेसन अनिवार्य रहेको विभागले जनाएको छ। यकिन परिमाण मापन गरेर चुहावट नियन्त्रण गर्न क्यालिब्रेसन गनुपर्ने नियम बनाए पनि मिलेमतोमा तेल चोरी गर्न क्यालिब्रेसन नगरी इन्धन ढुवानी गर्दै आएको बताइन्छ। ‘क्यालिब्रेसन नगरे तेल चोरेको पत्ता लाग्दैन,’ उनले भने, ‘भारतमा गरेको क्यालिब्रेसनको सर्टिफिकेटमा नै सर्ट पाइएको छ।’

भारतमा मिलेमतोमा अन्डर क्यालिब्रेसन गर्दै आएकाले यहाँ क्यालिब्रेसन गर्न अटेर गरेको पेट्रोलियम व्यवसायीको आरोप छ। आइओसीले आउटसोर्सिङ गरेर क्यालिब्रेसन गर्ने भएकाले ट्यांकर चालकले मिलेमतोमा क्यालिब्रेसन प्रमाणपत्र बनाउने गरेको नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए। ‘ट्यांकर चालकले अन्डर क्यालिब्रेसन गरेर सर्टिफिकेट ल्याउँछन्,’ प्रधानले भने, ‘यसको आडमा तेल चुहावट र चोरी भएको छ।’

आइओसीबाट पेट्रोलियम पदार्थ बोकेर आएका ट्यांकरलाई डिपोबाट सिधै पेट्रोल पम्पमा डाइभर्ट गरेर पठाउँदा त्यसको असर बिक्रेता र उपभोक्तामा पर्ने प्रधानको भनाइ छ। निगमले हरेक तीन महिनामा ट्यांकरको क्यालिब्रेसन चेकजाँच गर्नुपर्ने भए पनि हुन नसकेको प्रधानले बताए। भारतमा हुने क्यालिब्रेसनमा पूर्ण विश्वस्त नभएको व्यवसायी बताउँछन्। ‘नेपालको कानुन अनुसार नै क्यालिब्रेसन गर्नुपर्छ,’ उनले भने।

भारतको बरौनी, गोन्डालगायत डिपोबाट आयात हुने पेट्रोलियम पदार्थ हुनुपर्नेभन्दा कम पाइएको छ। आइओसीबाट निगमको डिपोसम्म मात्र ढुवानी गर्न भारतको क्यालिब्रेसनलाई मान्यता दिए पनि डिपोबाट पम्पसम्म ढुवानी गर्ने ट्यांकरमा अनिवार्य रुपमा नेपाली नापतौल अनुसार क्यालिब्रेसन गर्नुपर्ने पुडासैनीले बताए। ‘डिलरमा जाने ट्यांकरमा अनिवार्य क्यालिब्रेसन गर्नुपर्छ,’ पुडासैनीले भने, ‘भारतमा क्यालिब्रेसन गरेको बहानामा यहाँ अटेर गर्न पाइँदैन।’ भारतमा गरेको क्यालिब्रेसनमा ठूलो खेल हुने गरेको महानिर्देशक पुडासैनी बताउँछन्। ‘नेपालमा क्यालिब्रेसन गर्न अटेर गरेर भारतमा गरेको छ भन्नुमा ठूलो खेल छ,’ उनले भने, ‘धेरैले नक्कली सर्टिफिकेट बनाएको पनि सूचना आएको छ।’

ट्यांकर चालकसँग क्यालिब्रेसन सर्टिफिकेट माग्दा सधैं फोटोकपीमात्र पेस गर्ने गरेको समेत पुडासैनीले बताए। ‘भारतमा सर्टिफिकेट बनाउन दलाली नै गर्ने गरेका छन्,’ उनले भने। मिलेमतोमा धेरै चोरी भएको गुनासो आएपछि अब यहाँ ढुवानी गर्ने ट्यांकरले अब अनिवार्य रुपमा क्यालिब्रेसन गनुपर्ने बताए।

पेट्रोलियम पदार्थ ढुवानी गर्ने सबै ट्यांकरको क्यालिब्रेसन गर्नुपर्छ भन्नेमा सहमत रहेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए। ‘नेपालको क्यालिब्रेसनलाई आइओसीले मान्यता नदिने भएकाले धेरै ट्यांकरले भारतमा क्यालिब्रेसन गराएका हुन्,’ उनले भने, ‘भारतको क्यालिब्रेसनमा केही इरर भए हाम्रो टावरमा चेक गर्न सकिन्छ।’ विभागले एक सय ट्यांकरले मात्र क्यालिब्रेसन गराएको बताए पनि निगमले नेपालभित्र मात्र चल्ने करिब दुई सय ट्यांकरको क्यालिब्रेसन भएको जनाएको छ। करिब १७ सय ट्यांकरले आइओसीबाट इन्धन ढुवानी गर्ने भएकाले भारतको क्यालिब्रेसनलाई पनि मान्यता दिनुपर्ने प्रवक्ता गोइतले बताए। ‘एक किलो भनेको भारतमा र नेपालमा एउटै हुन्छ,’ गोइतले भने, ‘भारतको क्यालिब्रेसनलाई मान्दैनौं भन्न पनि मिल्दैन।’

गुणस्तर विभागले थानकोट, विराटनगर, भैरहवा, नेपालगन्ज, पोखरा, धनगढीलगायत डिपोभित्रै क्यालिब्रेसन गर्दै आएको छ। विभागले अहिले हेटौंडामा आफ्नै क्यालिब्रेसन टावर पनि निर्माण गरेको छ। निगम र व्यवसायीबीच इन्धन परिणामको विषयमा लामो समयदेखि विवाद छ। इन्धन चुहावट रोक्न सेक्युरिटी लकिङ सिस्टम जडान गरे पनि चोरीका घटना रोकिएका छैनन्। निगमले भारतमा गरेको क्यालिब्रेसनलाई मान्यता दिनुपर्ने बताउँदै आएको छ। व्यवसायीले नेपालभित्र नापतौल तथा गुणस्तर विभागले नै क्यालिब्रेसन गर्नुपर्ने माग राख्दै आएका छन्।

 

प्रकाशित: २७ जेष्ठ २०७६ ०४:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App