coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

तीन प्रतिशत बाथरोगी मात्र उपचार पहुँचमा

काठमाडौं - नेपालमा करिब ३० लाख बाथरोगी भएको अनुमान छ। तीमध्ये एक लाख मात्र उपचारमा पुग्ने गरेका छन्। नेशनल बाथरोग सेन्टरले गरको एक अध्ययनअनुसार सो जानकारी सार्वजनिक भएको हो। सेन्टरका बाथरोग विशेषज्ञ डा. विनित वैद्यका अनुसार बाथ रोगको उपचारमा दक्ष जनशक्ति र उपचारको पहुँचको अभावका कारण अधिकांश बाथरोगी उपचार पाएका छैनन्। उपचार अभावमा अहिले पनि धेरै जसो बाथरोगीले रोगको पहिचानबिना नै तेलमालिसको भरमा बसिरहेका छन् भने रोग जटिल भएकाहरु अपांगतामा पुगिसकेका डा. वैद्य बताउँछन्।

बाथरोगमा हाडजोर्नी दुख्ने, सुन्निने र बिहान उठ्दा कक्रक्क हुने लक्षण देखिन्छन्। समयमै उपचार नभएमा हातखुट्टा बाङ्गिने, खिइने र अपांगताको अवस्थासम्म पु-याउँछ। कतिपय बाथले शरीरका अन्य भित्री अगंहरु कलेजो, फोक्सो, मिर्गौलाजस्ता अंगमा समेत असर पारी गम्भीर रोगको सिकार हुन्छन्। बाथरोग छिटो पहिचान भएमा पूर्ण निको हुने र रोग पहिचान नभएमा दीर्घरोगको रुप लिने चिकित्सिक बताउँछन्। औषधोपचार, फिजियोथेरापी, शल्यक्रियाजस्ता विधि अपनाएर लामो आयु बाँच्न सकिन्छ।

सो सेन्टर स्थापना भएको पाँच वर्षमा कुल बाथरोगीको २.५ प्रतिशतलाई उपचार सेवा दिन सफल भएको सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले बताए। जटिल रोग मानिने बाथका लागि नेपालकै कम्पनीले औषधि पनि उत्पादन गरिसकेको कक्षपतिले जनाए। सेन्टरले ज्येष्ठ प्राध्यपक संघका सदस्यहरुलाई दिँदै आएको विशेष सहुलियत सेवाको लागि संघका अध्यक्ष बिमलकुमार शर्माले धन्यवाद ज्ञापन गरे। सेन्टरले प्राध्यापकहरुका लागि उपचार प्याकेज उपलब्ध गराउँदै आएको छ।

सेवालाई बिरामीको पहुँचमा पु¥याउने केन्द्रीय बाथरोग अस्पताल निर्माण गर्ने, टेलिमेडिसनबाट दूरदराजका बिरामीलाई उपचारको पहुँचमा ल्याउने, विपन्न नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने योजना रहेको बताए। हाल सेन्टरले भक्तपुरको टेखापुखु, ललितपुरको जावालखेल, पोखरा र झापामा शाखा विस्तार गरिसकेको छ। बाथरोग पहिचानको लागि सेन्टरले देशका १८ जिल्लाका स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको जनाएको छ। सेन्टरले सेवा सुरु गरेयता ८२ हजार ७४ जनालाई बाथरोगको उपचार दिएको छ।

नेशनल बाथरोग सेन्टरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नेपालमा बाथरोगीहरुको तथ्यांक पत्ता लगाउन आवश्यक भएको बताए। साथै उपचार सबैको पहुँचमा पु¥याउन स्थानीय तहका स्वास्थ्यकर्मीलाई रोगसम्बन्धी आधारभूत तालिम दिएमा बाथरोगीको पहिचान सजिलो हुने बताए। सेन्टरले स्थानीय तहमा कार्यरत एचएहरुलाई आधारभूत बाथरोग तालिम दिने तयारी गरिरहेको जनाएको छ।

प्रकाशित: २७ जेष्ठ २०७६ ०३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App