७ वैशाख २०८१ शुक्रबार
समाज

धमाधम नियन्त्रणमा आउँदै फरार अपराधी

धादिङ प्रहरीले गरेका विभिन्न क्रियाकलापबारे जानकारी दिँदै प्रहरी उपरीक्षक राजकुमार बैदवार। तस्बिर: सरिता/नागरिक

धादिङ - धादिङ प्रहरीले साढे १२ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरी गत वैशाख १६ गते सार्वजनिक ग-यो। २०६३ साल कात्तिक ७ गते राति रुविभ्याली गाउँपालिका–२ स्थित कामीगाउँका २७ वर्षीय देवबहादुर बिकलाई देउसी खेल्न जाऔंभन्दा बिरामी भएकाले नमानेका कारण आठजनाले कुटपिट गरी मारेका थिए। घटनापछि फरार तीनजनालाई पुलिस काठमाडौं, रसुवा र धादिङबाट पक्राउ गर्न सफल भयो।

धादिङ प्रहरीको ‘फरार प्रतिवादी पक्राउ अभियान’अन्तर्गत घटनामा संलग्नमध्ये रुबिभ्याली–२ का ५९ वर्षीय बमबहादुर बिकलाई तिप्लिङको कामीगाउँबाट, ३४ वर्षीय हेम डल्ला बिकलाई रसुवाको आमा छोदुङमो गाउँपालिका र ४० वर्षीय सार्की बिकलाई काठमाडौं, गौशालाबाट पक्राउ गरिएको थियो। सादा पोसाकमा प्रहरी खटाई बमबहादुरलाई वैशाख ११ गते, हेम र सार्कीलाई वैशाख १५ गते पक्राउ गरिएको हो।

बमबहादुरलाई २ वर्ष, बमबहादुर र डल्ला दुवैलाई २० वर्ष कैद तोकिएको छ। अन्य चारजनाले सफाइ पाइसकेको र एकजनाको २ वर्षअघि नै मृत्यु भएको परिवारले जनाएको छ।
त्यस्तै कर्तव्य ज्यान मुद्दामा कैद सजाय तोकिएर फरार चारजनालाई वैशाख ३१ गते पक्राउ गरिएको छ। २०५३ असार ४ गते तत्कालीन पुनरावेदन अदालत पाटन र सर्वोच्च अदालतको फैसलाले चारैजनालाई सजाय सुनाएको थियो। सजाय तोकिएर फरार रहेका चारैजनालाई पक्राउ गरी कारागार चलान गरिएको छ। पक्राउ पर्नेमा जिल्लाको नीलकण्ठ नगरपालिका–१ स्यालडाँडा बस्ने ४९ वर्षीय रेशमबहादुर नेवार (३ महिना १० दिन), ४९ वर्षीय लालबहादुर श्रेष्ठ (३ महिना १० दिन सजाय), ४५ वर्षीय क्षेत्रमान श्रेष्ठ (५ महिना सजाय), ४८ वर्षीय झमबहादुर श्रेष्ठ (३ महिना १० दिन सजाय) छन्।

यी दुई घटनाका साथै अदालतबाट अपराधी प्रमाणित भएर पनि लामो समयसम्म कैद तथा जरिवाना भुक्तान नगरी फरार अपराधीलाई धादिङ प्रहरीले निगरानी राख्न थालेको प्रहरी उपरीक्षक (एसपी) राजकुमार बैदवारले बताए। ‘दोषी ठहर भएका अपराधी समाजमा खुलेआम हिँडडुल गर्दा यसले नराम्रो प्रभाव पारेको छ,’ एपसी बैदवारले भने, ‘फरार अभियुक्त पक्राउ विशेष अभियान सञ्चालनपश्चात पक्राउ गर्न सफल भएका छौं।’

अदालतबाट ज्यान मार्ने उद्योग गरेको, हत्या गरेको, चोरीडकैती गरेको, जबर्जस्ती करणी तथा मानव बेचबिखनजस्ता जघन्य अपराधमा सजाय सुनाइएका व्यक्ति फरार अपराधीको सूचीमा थिए। त्यसबाहेक देवानी मुद्दामा सजाय भएका, ठगी गरेका आदि मुद्दाका फरारले पनि कैद वा जरिवाना नतिरी लुकेर बस्दै आएकाहरूको विवरण पनि प्रहरीले तयार पारेको छ। दोषी व्यक्ति खुलेआम हिँड्दा पीडितलाई असर पर्ने र समाजमा दण्डहीनता बढाउने भएकाले सो अभियान चलाइएको एसपी बैदवारले बताए।

प्रहरीले पक्राउ गरेकामध्ये कर्तव्य ज्यान मुद्दा, सार्वजनिक अपराध मुद्दा, लागुऔषध तथा गाँजा÷चरेस मुद्दा, सवारी ज्यान मुद्दालगायत घटनाका आरोपित छन्। केही व्यक्ति भने जेल सजाय नभएका तर थोरै रकम जरिवाना तिर्नुपर्नेमा नतिरेका पनि छन्। त्यस्ता व्यक्ति जरिवाना तिरेर छुटेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत माघदेखि वैशाखसम्म विभिन्न घटनाका २० जना फरार अभियुक्त पक्राउ परेका छन्। जसबाट ७१ हजार ८७ रुपैयाँ जरिवाना रकम असुल गरिएको छ।

प्रकाशित: २७ जेष्ठ २०७६ ०२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App