coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सरकारी स्कुलका विद्यार्थी बसमा सरर

तस्बिर: सविता/नागरिक

चितवन - १२ वर्षीया मनिका प्रजा कक्षा ७ मा पढ्छिन्। माडी नगरपालिका–८ कान्तिपुरको कुनागाउँबाट खरकट्टामा रहेको स्कुल पुग्न उनलाई एक घन्टाभन्दा बढी हिँड्नुपथ्र्यो। उनले कक्षा ३ सम्म गाउँकै स्कुल र कक्षा ५ सम्म अध्योध्यापुरीमा रहेको स्कुलमा अध्ययन गरिन्। ६ कक्षाभन्दा माथि पढ्न घरबाट धेरै टाढा जानुपथ्र्यो। कक्षा ६ मा पढ्दा भने उनी हिँडेरै स्कुल गइन्।

कक्षा ७ मा पुग्दा भने उनलाई हिँड्नुपरेन। अहिले गाउँबाटै बसमा स्कुल जान्छिन्। ‘हिँडेर जाँदा एक घन्टाभन्दा बढी लाग्थ्यो, थकाइ पनि धेरै लाग्थ्यो,’ उनले भनिन्, ‘अहिले स्कुलकै बस आउन थालेपछि सजिलो छ।’ उनको गाउँबाट मगर, प्रजा र सुनार समुदायका १२ जना बसमा विद्यालय जान्छन्। खरकट्टामा रहेको मनिका पढ्ने जनजीवन माध्यमिक विद्यालयले चालु शैक्षिक सत्रबाट विद्यार्थीलाई यातायात सुविधा उपलब्ध गराएको हो।

जनजीवन विद्यालयमा कक्षा ९ मा पढ्ने निशा सुनारलाई पनि विद्यालयले बसको व्यवस्था गरेपछि सजिलो भएको छ। कुनागाउँकी शारदा गायकका दुई नातिनी र एक नाति पनि बसमै विद्यालय जान्छन्। बिहान चाँडै जाने र बेलुका ढिला घर आइपुग्ने नातिनातिना अहिले बसमा आउजाउ गर्न थालेपछि सुरक्षाका हिसाबले पनि ढुक्क भएको उनले बताइन्। ‘पहिले नातिनातिनालाई चप्पल, छाता किन्दा हैरान हुन्थ्यो,’ उनले भनिन्, ‘चप्पल नि धेरै फाट्ने, छाता बिगार्ने र हराउने गथ्र्यो। बसमा जान थालेपछि सजिलो भएको छ।’ करीब ६ सय विद्यार्थी पढ्ने जनजीवनका १ सय ७५ जना विद्यार्थी बसमा आउजाउ गर्छन्। बस सेवा प्रयोग गरेबापत विद्यालयले एक विद्यार्थीबाट तीन सय रुपैयाँ शुल्क लिने गरेको छ। एउटा मात्र बस भएकाले अहिले दुई रुटका विद्यार्थी ल्याउनलैजान प्रयोग गरिएको प्रधानाध्यापक शोभाकर गौतम बताउँछन्।

विद्यालयमा बसको व्यवस्था भएपछि विद्यार्थी नियमित विद्यालय आउन थालेका छन्। ‘समयमा नै विद्यालय आइपुग्छन्, अनुशासनमा वृद्धि भएको छ,’ उनले भने, ‘एक घन्टाभन्दा बढी पैदल हिँडेर आउँदा विद्यार्थी थाक्थे, बसमा आउन थालेपछि पढाइमा पनि रुचि बढेको पाइएको छ।’ विद्यार्थी पढाइ छाडेर ‘हाफ टाइम’मा भाग्ने प्रवृत्तिमा कमी आएको उनले बताए। माडी नगरपालिकामा रहेका सरकारी विद्यालयमध्ये तीनवटालाई माडी नगरपालिकाले चालू आर्थिक वर्षमा बस खरिद गर्न अनुदान रकम दिएको छ। एउटा विद्यालयलाई ३० लाख रुपैयाँका दरले नगरपालिकाले अनुदान दिएको हो। वडा ८ को खरकट्टामा रहेको जनजीवन मावि, वडा ५ मा रहेको दिवाकर स्मृति मावि र वडा १ मा रहेको जनकल्याण माविलाई बस खरिद गर्न नगरपालिकाले अनुदान दिएको हो।

अनुदान रकमले यी विद्यालयले बस किनेका हुन्। दिवाकर माविलाई वडा कार्यालय र नगरपालिकाले अनुदान दिएकाले उसले दुईवटा बस किनेको छ। मर्ज भएका विद्यालयमा विद्यार्थीलाई स्कुल आउनजान समस्या भएपछि बस किन्न सहयोग गरेको माडी नगरपालिकाका मेयर ठाकुर ढकाल बताउँछन्। नगरपालिकामा ४५ वटा सामुदायिक विद्यालय भएकोमा १२ वटा मर्ज गरिएपछि अहिले ३३ वटा छन्। थप केही विद्यालयलाई पनि मर्ज गर्ने प्रयास भइरहेको र मर्ज हुने विद्यालयलाई आगामी आर्थिक वर्षमा बस किन्न सहयोग गरिने उनले बताए। माडी नगरपालिकामा रहेको जनजीवन माविका विद्यार्थी विद्यालय जान बस चढ्दै। विद्यालयले बस किनेपछि विद्यार्थीलाई आउजाउ गर्न सहज भएको छ।

प्रकाशित: २७ जेष्ठ २०७६ ०२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App