७ वैशाख २०८१ शुक्रबार
राजनीति

निजी खर्चमा स्थानीय तहलाई एम्बुलेन्स र शववाहन

प्रतिनिधिसभामा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गरेका जिपछिरिङ लामाले दोलखाका स्थानीय तहलाई व्यक्तिगत खर्चमा उपलब्ध गराएका एम्बुलेन्स र शववाहन। तस्बिर: रमेश/नागरिक

दोलखा - प्रतिनिधिसभा सदस्य जिपछिरिङ लामाले निजी खर्चमा जिल्लाका नौवटै स्थानीय तहलाई एक–एकवटा एम्बुलेन्स र दुईवटा स्थानीय तहलाई शववाहन हस्तान्तरण गरेका छन्। गत मंगलबार सदरमुकाम चरिकोटमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका लामाले चारवटा गाउँपालिकार्ला एक–एकवटा एम्बुलेन्स र दुईवटा नगरपालिकालाई शववाहन हस्तान्तरण गरेका हुन। बाँकी पाँचवटा स्थानीय तहलाई उनले पहिला नै एम्बुलेन्स हस्तान्तरण गरेका थिए।

मंगलबार सांसाद लामाले भीमेश्वर नगरपालिका, शैलुङ गाउँपालिका, गौरीशंकर गाउँपालिका, वैत्येश्वर गाउँपालिकालाई चारवटा एम्बुलेन्स र जिरी र भीमेश्वर नगरपालिकालाई एक–एकवटा शववाहन हस्तान्तरण गरे। यसअघि उनले राजधानीमा कार्यक्रम गरेर जिरी नगरपालिका तथा तामाकोसी, कालिञ्चोक, बिगु र मेलुङ गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेका थिए।

सडक विकासले गति लिँदै गरेका ग्रामीण बस्तीमा उपचार अभावमा बिरामीले दुःख पाउनु नपरोस् भनेर आफूले स्थानीय तहलाई एम्बुलेन्स र शववाहन उपलब्ध गराएको उनले बताए। ‘गाउँघरमा सडक विकासले धमाधम गति लिँदै छ,’ उनले भने, ‘उपचार नपाएर नजिकका स्वास्थ्यचौकी वा अस्पताल पुग्नबाट नागरिक बञ्चित हुनुहुँदैन भनेर एम्बुलेन्स सहयोग गरेको हुँ।’

जिरी नगरपालिका १, श्यामा गाउँका बासिन्दा सांसद लामा निर्माण व्यवसायी पनि हुन्। उनको राष्ट्रियस्तरमा कहलिएको ‘क’ वर्गको लामा कन्स्ट्रक्सन कम्पनी छ। २०६४ को संविधानसभामा समानुपातिक सांसद रहेका उनी वर्तमान प्रतिनिधिसभामा कांग्रेसबाट समानुपातिक सांसद छन्।

सामाजिक काम गर्नकै निम्ति लामाले आफ्ना स्वर्गीय बुबाआमा तेङिमा लामा र दाडोमा लामाको सम्झनामा तेङिमा दाडोमा लामा स्मृति प्रतिष्ठान दर्ता गरेका छन्। उनले एम्बुलेन्स सोही प्रतिष्ठानको नामबाट वितरण गरेका हुन्।

आफ्नो व्यवसायको कमाइको निश्चित प्रतिशत सामाजिक काममा लगानी गरेको लामाले बताए। एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा स्थानीय तहका प्रमुखहरुको उपस्थिति थियो। २०७२ वैशाख १२ र २९ गतेको भुँइचालोले दोलखामा क्षति पु-याएपछि उनले पीडितलाई राहत प्रदान गरेका थिए। त्यसबेल उनले जिल्लाभरी घुमेर मृतकका परिवारलाई १५ हजारका दरले २६ लाख ५५ हजार रुपैयाँ नगद सहयोग गरेका थिए।

दोलखाका गाउँमा विद्यालय, मठ मन्दिर, सामाजिक भवन निर्माणका लागि लामाले गरेको सहयोगको लामै सूची छ। खर्च अभावमा बिरामी परेर थलिएका र समस्यामा परेका दोलखाका गरिब दुखीका लागि लामाले कैयौ पटक आर्थिक सहयोग गरेका छन्। त्यसैले लामालाई मनकारी सांसद भनेर पनि जिल्लावासीले चिन्ने गरेका छन्।

प्रकाशित: २७ जेष्ठ २०७६ ०२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App