coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

छानोबिनाको घरमा हुरीपीडित

छाना उडाएको मुक्त कमैयाको घर। तस्बिर: दिलबहादुर/नागरिक

धनगढी - धनगढी उपमहानगरपालिका–१२ मुक्तकमैया बस्तीकी सविता चौधरी ३ वर्षीय छोरोसहित छानोबिनाको घरमा रात काटिरहेकी छिन्। गत बिहीबार बेलुकीको हावाहुरीले एक महिनाअघि मात्रै बनाएको उनको घरको छानो उडायो। छाना उडाएपछि उनी ३ दिनदेखि छानबिनाको घरमा रात काटिरहेकी छिन्। ‘रुखको छहारीमै दिन बिताउँछु, तर रात हुँदा भने चिन्ता लाग्छ,’ उनले भनिन्, ‘खुला आकाशमुनि आकाश हेर्दै निदाउन खोज्छु, तर निदाउन सक्दिनँ।’ उनी जस्तै मुक्तकमैया बस्तीकै जितबहादुर चौधरी पनि आँगनमै रात काटिरहेका छन्। उनको पूरै घर हावाहुरीले भत्काइदिएको छ। ‘घर भत्किएपछि अहिले आँगनकै बास छ,’ उनले भने, ‘आँगनमा मच्छडले रातभर सुत्न सकिँदैन।’ खुला आकाशमुनि कहिल्यै नसुतेको बताउँदै उनी भन्छन्, ‘अहिले दैवले खुला आकाशमुनि बास बनाइदियो।’ घर बनाउनलाई पैसा नभएको बताउँदै उनी भन्छन्, ‘पुनर्निर्माणका लागि अहिलेसम्म कहीँबाट सहयोग पाएको छैन।’

गाँस, बास र कपास अत्यावश्यक भए पनि हावाहुरीले बास र गाँस खोसिदिएको बताउँदै स्थानीय फुलमती चौधरीले भनिन्, ‘हामीसँग खालि कपडा मात्र छ।’ उनी सरकारले छानो हालिदिए बर्खा टर्ने बताउँछिन्। हावाहुरीसँगै आएको पानीले अन्नपात पनि नोक्सान गरेकाले खान पनि समस्या भएको उनको गुनासो छ।

विद्युत् नहुँदा धनगढीका एक दर्जन दैनिक पत्रपत्रिका तीन दिनदेखि प्रकाशित हुनसकेका छैनन् भने एफएम रेडियोसमेत बन्द छन्।

यो उनीहरूको मात्र व्यथा नभई कैलाली र कञ्चनपुरमा बिहीबारको हावाहुरीले घर भत्काएका करिब २७ सयभन्दा बढी परिवारको पीडा हो। प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराका अनुसार हावाहुरीले कैलालीमा २१ सय घरमा क्षति पुगेको संकलन भइसकेको छ। यो संख्या अझै बढ्नसक्ने उनले बताए। कञ्चनपुरमा करिब ६ सय घरमा क्षति पुगेको कञ्चनपुरका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिएका छन्।

चार दिनदेखि विद्युत् अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती भएको छ। खानेपानी, शिक्षा, स्वास्थ्य, सञ्चार क्षेत्रसमेत प्रभावित बनेको छ। हावाहुरीले विद्यालय भवनको छाना उडाउँदा केही विद्यालय बन्द भएका छन्। आइतबार खुलेका विद्यालयमा पनि विद्युत् नहुँदा गर्मीले विद्यार्थीलाई कक्षाकोठामा हैरानी खेप्नुपरेको छ। ‘कक्षाकोठामा बिजुली नहुँदा गर्मीले असिनपसिन भइयो,’ कैलाली बहुमुखी क्याम्पसका राजेन्द्र जोशीले भने।

स्थानीय पिउने पानीसमेत नपाउँदा छटपटाइरहेका छन्। स्वच्छ पानीको अभाव र दूषित पानीको प्रयोगले रोगको महामारी फैलिनसक्ने खतरा पनि उत्तिकै बढेको छ। गाउँबस्तीमा अझै प्रशासनिक संयन्त्र पुगे पनि पीडितले राहत पाउन सकेका छैनन्। ढलेका सयौं बिजुलीका पोल मर्मत हुन नसक्दा चार दिनदेखि गाउँबस्ती अन्धकार छ। विद्युत् नहुँदा धनगढीका एक दर्जन दैनिक पत्रपत्रिका तीन दिनदेखि प्रकाशित हुन सकेका छैनन् भने एफएम रेडियोसमेत बन्द छन्।

कैलालीका प्रजिअ बोहराले वडाअध्यक्षको संयोजकत्वमा रहेको समितिले क्षतिको विवरण संकलन गरिरहेको बताए। ‘त्यही समितिको सिफारिसमा त्रिपाल वितरण भइरहेको छ,’ उनले भने, ‘त्यही तथ्यांकका आधारमा हामी अन्य राहत पनि वितरण गर्ने प्रक्रिया थाल्नेछौं।’ आइतबारसम्म धनगढीमा १ सय ५३, गोदावरी नगरपालिकामा ५ सय २०, कैलारी गाउँपालिकामा १ सय २० र गौरीगंगा नगरपालिकामा ५० वटा त्रिपाल वितरण गरिएको उनले बताए।
बक्स

प्रदेश सरकारद्वारा क्षतिपूर्ति घोषणा
सुदूरपश्चिम प्रदेश सरकारको आइतबार बसेको आकस्मिक बैठकले दैवीप्रकोपमा अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा मृत्यु भएका मृतकका परिवारलाई जनही १ लाख ५० हजार रुपैयाँका दरले क्षतिपूर्ति दिने निर्णय गरेको छ। बिहीबारको हावाहुरी र त्यसअघिको दैवी प्रकोपबाट मृत्यु भएका ३८ जना मृतक परिवारलाई सो क्षतिपूर्ति दिने घोषणा गरिएको हो।
यसैगरी हावाहुरीबाट घाइते भएकाको उपचार गरिदिने र घर क्षति भएकालाई राहत उपलब्ध गराउनेसमेत बैठकले निर्णय गरेको मुख्यमन्त्री त्रिलोचन भट्टले बताएका छन्। ‘हावाहुरीले घर भत्केकाहरूको पुनर्निर्माणका लागि संघीय सरकारसँग पहल गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘हावाहुरीले क्षति पु¥याएकै दिनदेखि अहोरात्र खटेर पीडितको उद्धार गर्न प्रदेश सरकार चुकेको छैन।’ उनले चाँडै विद्युत् सुचारु गर्न पनि विद्युत् प्राधिकरणलाई निर्देशन दिइसकेको बताए। उनका अनुसार पीडितलाई राहत दिन पनि स्थानीय सरकारसँग समन्वय गरी प्रक्रिया सुरु गरिएको छ।

प्रकाशित: २७ जेष्ठ २०७६ ०२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App