८ वैशाख २०८१ शनिबार
राजनीति

गुठी मास्न भूमाफियाको इसारामा सरकारले विधेयक ल्याएको आरोप

सरकारले ल्याएको गुठीसम्बन्धी विधेयक खारेज गर्नुपर्ने माग राखेर सडकमा उत्रिएका गुठियार र संरक्षणकर्मीमाथि बल प्रयोग गर्दै प्रहरी। तस्बिर: दिपेश श्रेष्ठ /नागरिक

काठमाडौं - सरकारले ल्याएको गुठीसम्बन्धी विधेयकको विरोधमा आइतबार सडकमा उत्रिएका काठमाडौं उपत्यकाका गुठियार र संरक्षणकर्मीमाथि प्रहरीले लाठी, पानीको फोहरा र लात हानेको छ। शान्तिपूर्ण रुपमा बाजागाजासहित ‘गुुठी संरक्षण’ को माग राखेर सडकमा उत्रिएका गुठियार र संरक्षणकर्मीमाथि प्रहरीले अन्धाधुन्ध बल प्रयोग गरेको हो। प्रहरीको लाठीबाट केही गुठियार र संरक्षणकर्मी घाइते भएका छन्। केहीलाई प्रहरीले पक्राउ ग-यो।

सरकारले राष्ट्रियसभामा दर्ता गराएको विधेयकमा गुठी संरक्षणको प्रावधान नसमेटिएकाले त्यो खारेज हुनुपर्ने माग राखेर हलि नेवाः गुठी, सम्पदा बचाउ अभियान, नेपाल मठाधीश समाज, उपत्यका सडक विस्तारपीडित संर्घष समितिलगायत संघसस्थाको अगुवाइमा माइतीघर मण्डलमा विरोध प्रदर्शन गरिएको थियो। प्रहरीले बल प्रयोग गरेपछि प्रदर्शनकारी उत्तेजित बनेका थिए। प्रदर्शनकारी–प्रहरीबीच केहीबेर दोहोरो ढुंगा हानाहानसमेत भयो।

नेवाः आन्दोलनका अगुवा नरेशवीर शाक्यले सरकारले ल्याएको गुठी विधेयक संस्कृति विरोधी भएकाले खारेजी माग राख्दा प्रहरीले दमन गरेको बताए। ‘सरकारले ल्याएको गुठी विधेयक संस्कृति विरोधी र जनताविरोधी छ,’ उनले भने, ‘त्यसलाई खारेज गर्न माग राखेर शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरीले दमन गरेको छ। दमन गरेर समस्या समाधान हुँदैन। कोही गुठी संरक्षणकर्ता घाइते भएका छन्। यस्तै हो भने सशक्त आन्दोलन हुन्छ। कडा प्रतिकारमा उत्रन्छौं।’ शाक्यका अनुसार प्रहरीले हानेको लाठीले गुठी संरक्षणकर्मी महेश्वर रञ्जित, कृष्ण मानन्धर, सजिव बज्राचार्यलगायत घाइते भएका छन्। घाइतेको उपचार नर्भिक र न्युरो अस्पतालमा भइरहेको छ। प्रहरीले डा. महेशमान श्रेष्ठ, अनिष वैद्य, कृष्ण गोपाल र विकास महर्जनलाई पक्राउ गरेको जानकारी पनि शाक्यले दिए।

-प्रदर्शनकारी धपाउन प्रहरीले हान्यो लाठी, लात र फोहरा
-विधेयक खारेज नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी

सम्पदा संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठले सरकारले भूमाफियालाई बल पुग्ने गरी गुठी विधेयक ल्याएको आरोप लगाए। विधेयक खारेज गरी जनमुखी र गुठीको अस्तित्व संरक्षण गर्ने खालको ल्याउनुपर्ने माग उनको छ। ‘सरकारले ल्याएको यो विधेयक जनतामुखी छैन। यसले सीधै भूमाफियालाई फाइदा पु-याउँछ। गुठी र गुठीयारसगँ छलफल गरेर गुठीको अस्तित्व रहनेखालको कानुन बनाउनुपर्छ,’ उनले भने।

विधेयकअनुसार गुठी संस्थान प्राधिकरणमा जाँदा सनातन धर्ममा ठूलो धक्का पर्ने भएकाले त्यसलाई सरकारले फिर्ता नलिएसम्म संघर्षलाई निरन्तरता दिने हलि नेवाः गुठीका अध्यक्ष जुजुमान श्रेष्ठले बताए। ‘यो विधेयकले गुठी संस्थान प्राधिकरणमा जान्छ। यसले सनातन धर्ममा ठूलो असर गर्छ,’ उनले भने, ‘यो विधेयक पास भए सबै सम्पदा, संस्कृति, परम्परा र धर्म मासिन्छ। गुठीको सबै जग्गा भूमाफियाको कब्जामा पुग्छ। विधेयक खारेज गर्नुपर्छ। सरकारले यो विधेयक खारेज नगरे देशव्यापी आन्दोलन गर्छौं।’ उनका अनुसार विभिन्न् गुठीले पर्व, जात्रा, सम्पदालगायतको संरक्षण गरिरहेका छन्। भूमाफियालाई पोस्नकै लागि सरकारले यो विधेयक ल्याएको उनको आरोप छ।

गुठी संरक्षण पुचः का महासचिव भरत जंगमले पनि विधेयक खारेज नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन्। ‘गुठी भनेको सभ्यता हो। यसले सम्पदा संरक्षणमा टेवा पु¥याएको छ,’ उनले भने, ‘यो विधेयक पारित भएपछि धर्म, संस्कृति, पूजाआजा सबै समाप्त हुन्छ। सरकारले ल्याएको विधेयक खारेज नगरे देशव्यपापी आन्दोलन गर्नेछौं।’ प्रहरी हस्तक्षेपको विरोधमा संरक्षणकर्मीले साँझ असनलगायत ठाउँमा विरोध जुलुस निकालेका छन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गुठीसम्बन्धी विधेयक– २०७६ राष्ट्रियसभामा दर्ता गरेको छ। गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको दफा २३ मा गुठीको हक र दायित्व प्राधिकरणमा सर्ने भनिएको छ। दफा २४ मा गुठियारको अधिकार स्वतः समाप्त हुने उल्लेख छ। त्यसैगरी दफा २५ मा गुठीको लगत पेस गर्नुपर्ने र दफा ५४ मा हक समाप्त हुनेलगायत उल्लेख छ।

प्रकाशित: २७ जेष्ठ २०७६ ०२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App