coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

पार्टीलाई झक्झक्याउँदै दोलखा कांग्रेसमा पुनःसंरचना

दोलखा - आमकार्यकर्ताले अपेक्षाअनुरूप प्रदेश, निर्वाचन क्षेत्र, स्थानीय तह र वडामा नयाँ संरचनाअनुसार पार्टी समिति गठन नगरीकनै नेपाली कांग्रेसको एकमहिने जागरण अभियान शनिबार सम्पन्न भएको छ। कांग्रेसमा २०७२ माघमा सम्पन्न तत्कालीन गाविस, नगर र निर्वाचन क्षेत्रका अधिवेशनहरूबाट बनेका समितिहरू नै यथावत् छन्। गाविसहरू मिलेर बनेका गाउँपालिका र राज्य पुनःसंरचना गर्दा थपिएका नयाँ नगरपालिकासहित गाविस टुक्रिएर थपिएका वडा, प्रदेश र संघीय निर्वाचन क्षेत्रहरूमा कांग्रेसको संरचना बनेको छैन। अभियानका क्रममा सांगठनिक पुनःसंरचना हुने आशामा रहेका तल्लो तहका नेता–कार्यकर्ताले खल्लोपन महसुस गरेका छन्। पार्टी केन्द्रले जागरण अभियानका क्रममा जिल्लाजिल्लामा खटिएका केन्द्रीय प्रतिनिधि र सम्बन्धित जिल्ला पार्टीलाई गरेको सर्कुलरमा नयाँ संरचनाअनुसार तल्ला समितिहरू निर्माण गर्नेबारे स्पष्ट रूपमा नभनिएकाले पनि त्यसो हुन गएको हो।

तर दोलखामा सर्कुलरको बुँदा नं. १० मा टेकेर स्थानीय पार्टी समितिहरूको पुनःसंरचना गरिएको छ। बुँदा १० मा तेह्रौं महाधिवेशनपश्चात् गाउँ, नगर, वडा क्षेत्र तथा जिल्ला तहका सांगठनिक संरचनाले पूर्णता नपाएको भए गर्नू भनिएको छ। केन्द्रले राज्यको पुनःसंरचना भएका स्थानमा सोहीअनुसार नयाँ समिति निर्माण गर्नू भनेर स्पष्ट नखुलाइएका कारण देशैभरि जागरण अभियानमा पुनःसंरचनाको मुद्दा नउठेको हो। संशोधित विधानको धारा ७२ को संक्रमणकालीन व्यवस्थाको उपधारा ४ (ख) बमोजिम नयाँ संरचनाअनुसार नभएका तहहरूमा पुनःसंरचना गर्ने भनिएकै आधारमा दोलखा कांग्रेसले तल्लो समितिहरू गठन गरेको हो।

‘सर्कुलरमा केन्द्रीय प्रतिनिधिलाई दिइएको निर्देशनको १० नम्बर बुँदालाई टेकेर जिल्लाभरका सात गाउँपालिका र २२ वटा नयाँ वडा समिति सर्वसम्मत रूपमा गठन ग-यौं,’ दोलखा कांग्रेसका सभापति रुद्रबहादुर खड्काले भने, ‘सबै गाउँपालिका तथा नयाँ वडाहरूले आफ्ना सभापति पाएका छन्।’ उनका अनुसार जिल्लाका दुई नगरपालिकामा जोडिएका तत्कालीन गाविसहरूका संरचनासमेत नगर समितिमै ‘मर्ज’ गरेर दुवै नगर समितिसमेत पुनर्गठन गरिएको छ। दुई प्रादेशिक र एक संघीय निर्वाचन क्षेत्र रहेको दोलखामा निर्वाचन क्षेत्र २०७० को निर्वाचनकै संरचनाअनुसार बनेकाले क्षेत्रीय समितिहरू भने हाललाई गठन नगरिएको खड्काले बताए।

मंसिरमा सम्पन्न महासमितिबाट संशोधित विधानअनुसार दोलखामा पार्टी पुनःसंरचना गरिएकोप्रति वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि खुलेर प्रशंसा गरे। ‘देशैभरि कहीं पनि यसरी नयाँ संरचनाअनुसार पार्टीका समितिहरू बनेको जानकारी छैन,’ शुक्रबार सदरमुकाम चरिकोटमा भीमेश्वर नगरस्तरिय जागरण सभालाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘दोलखाले केन्द्रलाई पनि नयाँ संरचनाअनुसार संगठन निर्माण गर्न र पार्टीलाई पुनःसंरचनाको काम चाँडो गर्न झक्झक्याएको छ।’ केन्द्रले स्थानीय तहहरूमा गाउँपालिकाको केन्द्र रहेको वडा सभापतिलाई गाउँपालिका संयोजक तोकेर तदर्थ समिति गठन गरे पनि ती क्रियाशील छैनन्। देशैभरि पार्टी पुनःसंरचना नहुँदा संगठनभित्र अन्योल बढ्दै गएको छ।

‘हिजो संघ, प्रदेश र स्थानीय निर्वाचनमा पराजय बेहोर्नुका कारणमध्ये पार्टी पुनःसंरचना गर्न नसक्नु पनि एक हो,’ झापाका कांग्रेस सभापति उद्धव थापाले भनेका थिए, ‘वडादेखि गाउँपालिका, प्रादेशिक क्षेत्रमा निर्वाचन लड्दा पार्टी संरचना नभएकै कारण चुनावी परिचालन कमजोर भएको थियो।’ जागरण अभियानका क्रममा गाउँमा पुग्दा कार्यकर्ताले संगठन पुनःसंरचना नगरेको भन्दै आक्रोश पोखेको थापाको अनुभव छ। केन्द्रले पुनःसंरचना गर्न नसके पनि झापामा भने संयोजक तोकेर निर्वाचनमा जानुअघि नै स्थानीय समितिहरू समायोजन गरिएको सुनाए। ‘अब प्रदेश, संघीय निर्वाचन क्षेत्र सहित तल्ला समितिहरु तत्काल गठन नगर्ने हो भने १४औं महाधिवेशनमा जाँदा अन्योल र विवाद बढ्दै जानेमा केन्द्रले बेलैमा सोच्नु जरुरी छ,’ थापाले भने।

भर्खरै महासमितिबाट संघीयताअनुसारको विधान संशोधन भएकाले पुनःसंरचनामा ढिलाइ भएको जस्तो देखिए पनि अन्य दलका विधान नै नबनेकाले पार्टीका निम्ति हतार नभएको तर्क कांग्रेस नेता रामहरि खतिवडाले गरे। ‘कम्युनिस्टका विधान बनाउनु त परै जाओस् जिल्ला समितिसमेत गठन भएको छैन,’ उनले भने, ‘हामी क्रमशः गर्दै छौं।’ खतिवडाले जागरण अभियानका क्रममा पार्टीका केन्द्रीय नेताहरूसमेत टोल–बस्तीसम्मै पुगेर वस्तुस्थिति बुझेर आएका कारण अब बस्नेत केन्द्रीय समिति बैठकले पार्टी संरचना नभएका तहहरूमा गठन गर्नेगरी निर्णय हुने विश्वास व्यक्त गरे। ‘गाउँपालिका र वडाहरू तदर्थका भरमा चलेका छन्, प्रादेशिक र संघीय निर्वाचन क्षेत्रमा पार्टी कमिटी नै छैन, प्रदेश कमिटी गठन भएकै छैन,’ उनले भने, ‘पहिलो चरणको जागरणबाट फर्किएपछि यी विषय अबको केन्द्रीय समितिमा गम्भीरतापूर्वक उठ्नेछन् र अबको दोस्रो चरण भनेको देशैभरि संगठन सुदृढीकरण अभियान हुनेछ भनेर अपेक्षा गरौं।’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जागरण अभियानको पहिलो चरणमा देशभरिको अवस्था बुझ्ने र कार्यकर्तामा ऊर्जा भरेर पार्टीमा जागरण ल्याउने भएकाले पार्टी पुनःसंरचनाको विषय नउठेको दाबी गरे। ‘जागरण अभियान पहिलो चरण मात्र हुने होइन नि, दोस्रो र तेस्रो चरण त बाँकी नै छ,’ शर्माले नागरिकसँग भने, ‘ढुक्क हुनुस्, दोस्रो चरणबाट देशैभरि नयाँ वडा, गाउँपालिका, नगर, क्षेत्र र प्रदेशसम्म संरचना बन्नेछ।’ उनले अब बस्ने केन्द्रीय समिति बैठकमार्फत पार्टी पुनःसंरचनाको बहस बन्ने र दोस्रो चरणलाई संगठन सुदृढीकरणसहितको जागरण अभियानका रूपमा सञ्चालन गरिने जानकारी दिए। उनले दोलखासहितका कतिपय जिल्ला र स्थानीय तहमा स्वतःस्फूर्त सर्वसम्मत रूपमा पार्टी पुनःसंरचना भएको सुनाए।

प्रकाशित: २७ जेष्ठ २०७६ ०१:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App