६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

सार्कको विकल्प बिम्स्टेक हुन सक्दैन: मायावती

काठमाडौं – भारतको बहुजन समाज पार्टीकी अध्यक्ष एवं उत्तरप्रदेशकी पूर्वमुख्यमन्त्री मायावतीले सार्कको विकल्प बिम्स्टेक हुन नसक्ने बताएकी छन्। मायावतीले शनिबार एक ट्वीट गर्दै भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यको भनाइलाई समर्थन गरेकी छन्। ‘भारतमा नेपालका राजदूतको भनाइ मननीय छ, बिम्स्टेक दक्षिण एसियाली मुलुकहरूको संगठन सार्कको विकल्प हुन सक्दैन,’ उनले भनेकी छन्। उनले छिमेकीसँग झगडा गरेर कोही पनि खुसी रहन नसक्ने बताएकी छन्। यो समस्या पाकिस्तानले पनि भोगिरहेको भन्दै उनले पाकिस्तानको पनि छिमेकीसँगको सम्बन्ध राम्रो नरहेको टिप्पणी गरिन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्कको विकल्पका रूपमा बिम्स्टेकलाई अघि बढाउन खोजिरहेका बेला नेत्री मायावतीको यस्तो अभिव्यक्ति आएको हो।

भारतले पछिल्लो समय पाकिस्तानसँगको सम्बन्धका कारण सार्कको विकल्पका रूपमा बिम्स्टेकलाई प्राथमिकतामा राख्दै आएको छ। केही दिनअघि दोस्रो कार्यकालका लागि शपथ लिएका प्रधानमन्त्री मोदीले बिम्स्टेक मुलुकका सरकार प्रमुख तथा राष्ट्रप्रमुखलाई बोलाएर सार्कलाई बेवास्ता गर्ने संकेत गरेका थिए। पहिलो कार्यकालमा उनले सार्क राष्ट्रका सरकार प्रमुखलाई शपथग्रहण कार्यक्रममा बोलाएका थिए। भारतले प्राथमिकता नदिँदा सार्क लामो समयदेखि अनिर्णयको बन्दी बन्दै आएको छ। प्रत्येक दुई वर्षमा हुनुपर्ने सार्क शिखर सम्मेलन २०१४ देखि आयोजना हुन सकिरहेको छैन।

भारतका लागि नेपाली राजदूत आचार्यले हालै एक भारतीय समाचारपत्रलाई दिएको अन्तर्वार्तामा बिम्स्टेक सार्कको विकल्प हुन नसक्ने बताएका थिए। सार्कको वर्तमान अध्यक्ष मुलुकको हिसाबले नेपालले सार्कलाई जसरी पनि सक्रिय बनाउनुपर्ने दबाब बढाउँदै आएको छ। प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीले समेत विभिन्न मञ्चमा सार्क सक्रिय हुनुपर्ने र यसमा सबै पक्षको सहभागिता र सहयोगको आवश्यकता औल्याउँदै आएका छन्।

प्रकाशित: २७ जेष्ठ २०७६ ०१:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App