काठमाडौं- तिहार भन्नासाथ झिलिमिली बत्ती र देउसी भैलोको सम्झना हुन्छ। त्यसैले तिहार नजिकिँदै गर्दा राजधानीमा झिलिमिली बत्ती सडकका पेटीमा पनि बेच्न राखेको देखिन्छ। झिलिमिली बत्ती, विभिन्न फूलका मालाहरु विशेषतः सयपत्री तथा मखमली माला बजारभर देख्न सकिन्छ।
बढ्दो सहरीकरणले तथा सरसफाइ तथा सुन्दरताको दृष्टिकोणले पनि परम्परागत पाला र मैनबत्तीको प्रयोग घट्दै गएपछि विद्युतीय बत्तीको प्रयोग बढ्न गएकाले झिलिमिली बत्तीको व्यापार बढेको न्युरोडका एक व्यापारी बताउँछन्।
झिलिमिली बत्ती किन्न आउने ग्राहकको हुलले गर्दा आफूलाई फुर्सद नभएको दुई दिन भएको ती व्यापारीले बताए। उनको बुझाइमा विद्युतीय बत्ती टिकाउ र सजिलो हुने भएकाले बिक्री बढेको हो। तर केही ग्राहकले भने तिहारमा पनि लोडसेडिङ हुन्छ भनेर उनललाई सोध्ने गरेको उनी सुनाउँछन्।
औंसीको निष्पट्ट अध्यारो रातमा झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गर्ने परम्परा भएकाले पनि तिहारमा झिलिमिली बत्ती किन्न आएको बागबजारकी तारा पराजुलीले बताइन्। उनी परम्परागत पाला तथा मैनबत्तीबाट असजिलो महसुस गरी झिलिमिली बत्ती किन्न आएकी हुन्।
झिलिमिली उज्यालो तथा लक्ष्मीको विशेष पर्व भएकाले पनि तिहारलाई विशेष बनाउन विद्युतीय बत्ती किन्न आएको उनले बताइन्।
'लोडसेडिङको मात्र डर हो हैन भने विद्युतीय बत्ती एक पटक बालेपछि ननिभाएसम्म बलिरहन्छ,' उनले भनिन्, 'रातभर बल्छ, औंसीको रातमा जसको घरमा उज्याले छ उसको घरमा मात्रै लक्ष्मीको आगमन हुने हुनाले झिलिमिली त पार्नै पर्यो नि।'
सांस्कृतिक रुपमा पनि तिहारमा औंसीको निष्पट्ट रातमा लक्ष्मीको आराधना गर्दा उज्यालो बनाउनु पर्ने परम्परा हो। तर बिस्तारै परम्परागत माटोका पाला तथा मैनबत्तीबाट मानिसहरु विद्युतीय बत्तीतिर पल्केका छन्।
माटोका पाला र मैनबत्तीभन्दा विद्युतीय बत्ती सजिलो र सुरक्षाको दृष्टिकोणले पनि उपयुक्त हुने भएकाले विद्युतीय बत्ती बेच्ने व्यापारी बताउँछन्। 'यसपालि विद्युतीय बत्तीको व्यापार बढेको छ,' चाइना टाउनका एक व्यापारीले बताए।
हालका दिनमा त चीनबाट विद्युतीय पालाझै देखिने बिजुली बत्तीहरु आएकाले यसप्रति ग्राहकको आकर्षण बढेको उनको भनाइ छ।
बजारमा सस्तोमा ४० रुपैयाँ तथा महंगोमा ३ हजार ५ सय रुपैयाँसम्मका विद्युतीय बत्ती पाइने उनले बताए। गुलाबको फूल, पाला, फलफूल स्टाइलका विभिन्न आकार प्रकारमा पाइने यस्ता बत्तीको माग बढी छ। गत वर्षको तुलनामा यस वर्ष व्यापार करिब दोब्बर नै बढेको उनको भनाइ छ।
व्यापारीले भारत र चीनबाट यस्ता बत्ती आयात गर्छन् तर चिनियाँ बत्ती बढी आकार प्रकारका तथा सस्तो पनि भएकाले चिनियाँ बत्तीको व्यापार भने बढी नै हुने गरेको उनले बताए।
प्रकाशित: १२ कार्तिक २०७३ ०४:०५ शुक्रबार