coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नक्कली र ठूला लगानीका मारमा अगरबत्ती उद्योग

काठमाडौं- सीमामा हुने अवैध व्यापार, तयारी धुपमा न्यून भन्सार मूल्यांकन, ठूला लगानीका कम्पनीसँगको अस्वस्थ प्रतिस्पर्धाले स्वदेशी लगानीमा सञ्चालित अगरबत्ती उद्योग मारमा परेका छन्। सरकारले साना तथा मझौला उद्योगलाई प्रत्साहन गर्ने विविध कार्यक्रम लागू गरे पनि व्यवसायमैत्री वातावरण नहँुदा अगरबत्ती उद्योग संकटमा पर्दै गएका हुन्।

धार्मिक प्रयोजनमा अत्यधिक हुने अगरबत्ती उद्योगले धेरैलाई स्वरोजगार बनाउन सफल बन्दै जाँदा बजारमा भने स्वदेशी धुपले विविध समस्या र चुनौती सामना गर्नु परेको छ। अझ देशभित्रै खुलेआम उत्पादन तथा बिक्री भइरहेका नक्कली अगरबत्तीले ऋणमा सञ्चालित साना उद्योग झनै धरासायी बन्दै गएका छन्। भारतबाट नेपाल भित्रिने अगरबत्तीमा विगतका वर्षदेखि क्रमिक रुपले घटेको सरकारी तथ्यांक छ। बजारमा भने भारतमा बनेका प्रशस्त अगरबत्ती पाइन्छन्।

'अहिले नेपाली अगरबत्तीको व्यापारमा ७५ प्रतिशले गिरावट आएको छ,' नेपाल अगरबत्ती उद्योग संघका उपाध्यक्ष टेकनारायण श्रेष्ठले भने, 'नेपाली उद्योग फस्टाउने कुनै वातावरण नै छैन।' उनले नेपाली बजारमा साना लगानीका अगरबत्ती उद्योगले झनै मारमा पर्दै गएको बताए।

'सीमाबाट अवैध रुपमा आयात हुने अगरबत्ती नियन्त्रण गर्नुको साटो सरकार आँखा चिम्लिएर बसेको छ, त्यसले बजारमा हामीजस्ता कम लगानीमा सञ्चालित उद्योग मर्नु न बाँच्नु बनाएको छ,' उनले भने, 'त्यसमा भारतबाट बाहिरी खोल मात्रै आउने र भित्र नेपाली धुप प्याकिङ गर्ने गरेका छन्।' उनले 'मेड इन इन्डिया' लेखेका अगरबत्तीको खोल प्रशस्त आयात हुने गरेको र सरकारले बेवास्ता गरेको आरोप लगाए।

'सीमित ठूला लगानीका उद्योगले धेरै साना लगानीका उद्योगलाई धरासायी बनाएका छन्,' उपाध्यक्ष श्रेष्ठले भनेे, 'स्वच्छ वातावरणमा प्रतिस्पर्धा गर्नै सकिएको छैन, पूरै एकाधिकार रहेको छ।' यस्तै अवस्था रहिरहे नेपाली साना उद्योग धेरै नटिक्ने श्रेष्ठको भनाइ छ।

'उद्योगीले अगरबत्ती बनाउन चाहिने कच्चा पदार्थ ल्याउँदा भन्सार शुल्क धेरै लाग्छ, रेडिमेट अगरबत्तीलाई भने न्यून मूल्यांकन गरिन्छ,' उपाध्यक्ष श्रेष्ठले गुनासो गर्दै भने, 'त्यसले कसरी स्वदेशी उद्योग व्यवसायलाई प्रोत्साहन गर्छ, सबै आयातित धुपको पछि लाग्छन्।'

यता कुसुम अगरबत्ती उद्योगका प्रोप्राइटर कुमार राजभण्डारीले नेपाली लगानीमा सञ्चालित उद्योग धरासायी बन्ने अवस्थामा रहेको जनाकारी दिए। उनले आफ्नै उद्योगको व्यावसायिक अवस्थाबारे जानकारी दिँदै भने, 'मासिक १ लाख रुपैयाँको व्यापार गर्न पनि मुस्किल छ, हामी ठूला लगानी भएका कम्पनीबाट पीडित छौं।'

सरकारले साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्ने नीति ल्याउने गरेको तर उद्योगीमैत्री हुने नगरेको व्यवसायीको आरोप छ। 'नेपालमा पहिलो श्रेणीका काउलो र बाँसका कच्चा पदार्थ बाहिर जान्छन्, गुणस्तरहीन वस्तुबाट मात्रै साना उद्योगले धुप बनाउन बाध्य छौं,' उनले भने, 'नेपाल पूर्णरुपमा आत्मनिर्भर बन्न स्वदेशी लगानीका उद्योगबाट उत्पादित धुपको गुणस्तरमा बढी ध्यान दिनुपर्छ।' उनले पहिला १२ घण्टा ब्यस्त रहने कामदारलाई ५–६ घन्टा पनि मुस्किलले प्रदान गरिएको उनले बताए।

अवैध व्यापारमा निगरानी, स्वदेशीलाई प्रोत्साहन रेडिमेड धुपमा उच्च भन्सार मूल्यांकन र लगानीमा विस्तार गर्न सके अगरबत्तीमा नेपाल अत्मनिर्भर बन्ने नेपाली अगरबत्ती उद्योगीको धारणा छ।

नेपाल अगरबत्ती उद्योग संघका अनुसार नेपालमा गत वर्ष ३ सय करोड रुपैयाँ बराबरको धुपको कारोबार भएको थियो। हाल नेपालमा १ सय २० देखि १ सय ५० सम्म अगरबत्ती उद्योग रहेको संघको भनाइ छ। अगरबत्ती उद्योगमा ५ हजारदेखि करोडौसम्म लगानी गर्न सकिने हुँदा लगानीको यकिन तथ्यांक हालसम्म छैन। भारतबाट ठूलो मात्रामा धुप आयात हुने गरे पनि नेपालमा उत्पादित १५ प्रतिशत धुप चीन निर्यात गर्दै आएको संघको जनाएको छ। खासगरी बौद्ध धर्मावलम्बीले प्रयोग गर्ने धुप निर्यात हुने गरेको व्यवसायीको धारणा छ।

प्रकाशित: १२ कार्तिक २०७३ ०४:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App