८ वैशाख २०८१ शनिबार
अर्थ

सडक संरचना उच्च जोखिममा

मितेरीपुल (सिन्धुपाल्चोक)  - विनाशकारी भूकम्पको चार वर्षपछि उत्तरी नाका तातोपानी अस्थायी रुपमा सञ्चालनमा आए पनि सडक संरचना अझै उच्च जोखिममा देखिएको छ। चार वर्षअघिको भूकम्प र लगत्तैको भोटेकोसी बाढीले क्षतबिक्षत बनेको चीन जोड्ने प्रमुख व्यापारिक नाका तातोपानीको २१ किलोमिटर सडक खण्ड उच्च जोखिममा देखिएको हो। भूकम्प र बाढीले भत्केको यो खण्डको ट्र्याक चीनले खोलिदिएको थियो।

‘बाह्रबिसे बजारभन्दा माथि बसेरीदेखि सीमा क्षेत्र लिपिङसम्म चीनले खोलिदिएको ट्र्याक क्षेत्रका दर्जनभन्दा बढी स्थानमा पहिरोको उच्च जोखिम छ,’ सडक विभागका एक उच्च अधिकारीले नागरिकसँग मंगलबार भने, ‘बाह्रबिसेको साधी खोलादेखि लार्चासम्म चारवटा अस्थायी पुल (बेलिब्रिज) कै भरमा नाका सञ्चालनमा ल्याइँदैछ। बाह्रबिसेमाथिको क्षेत्रमा भूकम्पले खुकुलो पारेका कारण सधैं पहिरो आइरहेको छ। आउँदो बर्खामा पनि सडकले पहिरो थेग्न सक्ने देखिँदैन।’
उनका अनुसार बाह्रबिसेभन्दा उता भूकम्प र भोटेकोसी बाढीले सडकको निसाना नै मेटाइदिएको १७ स्थानमा चिनियाँ पक्षले बनाएको ट्र्याक हेर्दा बर्खामा सजिलै बग्ने खालको छ। डाकलाङसहित आधा दर्जन पहिरोको उच्च प्रभाव रहेको क्षेत्रमा पहिरो रोकथामका निम्ति दिगो र मजबुत उपाय अपनाउनुको सट्टा सामान्य लिपपोत र गह्रा मात्र बनाएर छाडिएको छ।

भोटेकोसीको किनारैकिनार गएको सडकलाई नदीको बहावले तानेर असर नगरोस् भन्नका निम्ति १७ वटै स्थानमा दिगो खालका संरचना निर्माण भएका छैनन्। ती अधिकारीका अनुसार बर्खामा चल्ने पहिरो र नदीको धारले सडक संरचना तान्ने खतरा अत्यधिक छ। लार्चायताको क्षेत्रमा डाकलाङसहित पहिरोग्रस्त क्षेत्रमा अत्यधिक जोखिम छ। यस्तै लार्चा पुलभन्दा उता लिपिङ बजारसम्म पहिरोका कारण धराप उस्तै छ।

चीनले खुलाउने यो नाका सडक झण्डै २१ किलोमिटर खण्डमा ट्र्याक मात्र खुलाउने वा दिगो रुपले नै चिनियाँ पक्षले पहिरो नियन्त्रण र बलियो संरचना बनाउने भन्नेबारे सरकारका अधिकारी स्पष्ट हुन सकेका थिएनन्। चैत अन्तिम साता नाका निरीक्षण गर्न पुगेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठसहितको उच्च सरकारी टोलीसँग चिनियाँ अधिकारीले सडक निर्माणको प्रगतिबारे गरेको ‘ब्रिफिङ’मा नेपाली अधिकारीले ट्र्याक मात्र खुलाउने कि पहिरो र नदी नियन्त्रणका लागि बलिया संरचना बनाउने भन्ने विषयमा जिज्ञासा राखेका थिए। ‘त्यतिखेर यहाँ काम गरिरहेका चिनियाँ अधिकारीको टोलीले ट्र्याक खोलेर बलिया संरचना निर्माणसमेत अघि बढाइने बताएको थियो,’ उक्त ब्रिफिङमा सहभागी एक नेपाली अधिकारीले भने, ‘तर पछि ट्र्याक मात्र खोलेर उनीहरुले बनाएको १७ स्थानमा बेस बिछ्याएर सामान्य कंक्रिट मात्र गरियो।’

त्यहाँ काम गरेका चिनियाँ अधिकारीलाई पछि कुरा गर्दा नेपाल सरकारसँगको सम्झौतामा ट्र्याक मात्र खुलाउने रहेका कारण ट्र्याक खुलाउने कामलाई मात्र जोड दिएका हौं भनेर जवाफ दिएको सडक विभागका ती अधिकारीले बताए। यसो हुनुमा सरकारी पक्षले ट्र्याक मात्र खोल्न लगाउने वा बलियो किसिमकै निर्माणका लागि आग्रह गर्ने भन्नेमा स्पष्ट हुन नसक्नु मुख्य कारण रहेको ती अधिकारीले बताएका छन्।   भूकम्पलगत्तै सुरुमा नेपाल सरकार आफैंले ट्र्याक खोल्ने तयारीसहित टेन्डरसमेत भएको थियो। पछि अर्थ मन्त्रालयले उक्त बसेरीउताको खण्डमा चिनियाँ पक्षले काम गर्ने भएकाले सडक विभागलाई कुनै काम नगर्न पत्राचार गरेको थियो।
‘दीर्घकालीन बनाउने गरी छलफल अघि बढेको छ’

सडक विभागका महानिर्देशक केशव शर्माले तातोपानी नाकाको सडक संरचना पहिरो र बाढी थेग्न सक्ने खालको बलियो नभएको स्वीकार गरे। ‘त्यतिखेर ट्र्याक मात्र खुलाउने गरी हाम्रो तर्फबाट कुराकानी भएकाले चिनियाँ पक्षले ट्र्याक खुलाइदिएको हो,’ उनले भने, ‘त्यहाँको भूगोलअनुसारको स्टेबल (मिलेको) संरचना बनाउनेबारे छलफल गरिरहेका छौं।’

उनले दीर्घकालीन रुपले नाका सञ्चालनका लागि चिनियाँ पक्षसँग सरकारी स्तरबाट संवाद अघि बढेको सुनाए। चार वर्षदेखि बन्द नाका दुई देशबीचको अन्तर्राष्ट्रिय तथा व्यापारिक सम्बन्ध पुनः सुरु गरेको सन्देश दिन अहिले अस्थायी रुपले मात्र भए पनि नाका खुलाउन लागेको भनाइ नेपाल सरकारको छ। ‘यसको दीर्घकालीन निर्माण र सञ्चालनका निम्ति चिनियाँ पक्षसँगै संवाद भइरहेको छ,’ महानिर्देशक शर्माले सुनाए। महानिर्देशक शर्माले नाका खुलेपछि वर्षातमा बन्द हुन नदिन सडक विभाग दृढ रहेको सुनाए। ‘पहिरो पन्छाउन र नाका रोकिन नदिने सबै उपकरण र मेसिन तयारी हालतमा राख्छौं,’ उनले भने।

चिनियाँ पक्षले ट्र्याक खोलेको स्थानयता सडक विभागमार्फत जुरे पहिरो नियन्त्रण, कोठे, बाह्रबिसे पम्प र हस्पिटल छेउमा नदीको बहाव नियन्त्रण, सडक कालोपत्रे र मर्मतसम्भारको काम हुँदै आएको छ। चीनले दुई देश जोड्ने मितेरी पुल निर्माण कार्य करिब सम्पन्न गरेको छ। चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी पुग्ने सडक २०७१ साउन १६ गतेको जुरे पहिरो, २०७२ वैशाख १२ को भूकम्प र २०७३ असार २१ को भोटेकोसीले नराम्ररी प्रभावित पारेको थियो। राजधानीबाट एक सय १४ किलोमिटर दुरीमा रहेको नाका पुग्ने सडक सुरु गराउन नेपालले समेत विशेष प्राथमिकतामा राखेर काम गर्दै आएको थियो।


०००००००००००००००००००००००००००००००००००००००
१. नेपाल र चीन जोड्ने मितेरी पुल।
२. चीनले ट्र्याक खुलाएको डाकलाङ क्षेत्रको पहिरो।
तस्बिर ः रमेश÷नागरिक

प्रकाशित: २६ जेष्ठ २०७६ ०८:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App