८ वैशाख २०८१ शनिबार
अर्थ

पर्यटनको बजेट कनिका छरेझैं : व्यवसायी

पोखरा - पर्यटन बोर्ड पोखरा कार्यालयको चालु आर्थिक वर्षको बजेट सात करोड ६६ लाख रुपैयाँ हो। बोर्डको समग्र बजेट एक अर्ब ५० करोड ७७ लाख रुपैयाँ रहेकामा पोखरा कार्यालयले पाँच प्रतिशत पाएको थियो। पोखराले पाएको बजेटमध्येबाट पनि पूर्वाधारतर्फ तीन करोड ५० लाख र चार करोड १६ लाख रुपैयाँ प्रवद्र्धनात्मक कार्यक्रमका लागि छुट्ट्याइएको थियो।

पोखरा कार्यालयका लागि छुट्ट्याइएको प्रवद्र्धनात्मक बजेट (चार करोड १६ लाख रुपैयाँ) बाट बोर्डले यहाँका व्यवसायीसँग मिलेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पर्यटन प्रवद्र्धन गर्दै आएको छ। बोर्डले प्रवद्र्धनात्मक कार्यक्रमका लागि छुट्ट्याइएको बजेटको आकार निकै सानो भएको गुनासो व्यवसायीले गर्दै आएका छन्। यता, पूर्वाधारका लागि विनियोजित रकमले भने पर्यटनमा लाभ नपुगेको बरु कनिका छरेजस्तो भएको भन्दै व्यवसायीले आपत्ति जनाएका छन्।  

पर्यटकीय पूर्वाधारका नाममा कनिका छरेजस्तो गरी बजेट नछर्न व्यवसायीले बोर्डलाई सुझाएका छन्। बोर्डका अनुसार यो वर्ष पूर्वाधारतर्फ ८० र कार्यक्रमतर्फ ९० प्रतिशत बजेट खर्च भएको छ। व्यवसायीले पूर्वाधारका लागि विनियोजित रकमको उपयोग नभएको गुनासो गरेका छन्। ‘कार्यक्रम प्रभावकारी भएका छैनन् भने ती कार्यक्रमका लागि दिएको बजेट कटौती गर्दा कुनै फरक पर्दैन,’ अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले भने, ‘पर्यटन बोर्डको काम पर्यटन क्षेत्रमा गर्ने हो, विकासे काम गर्ने होइन।’

पर्यटन क्षेत्रमा ठूलो रकम कनिका छरेजसरी बाँडिएको भन्दै व्यवसायीले आपत्ति जनाएका थिए। बोर्डले मात्र नभई गण्डकी प्रदेश सरकारले पनि होमस्टेको नाममा करोडौं रकम बाँडेको भन्दै व्यवसायीले आपत्ति जनाए। सरकारी बजेट कार्यकर्तालाई बाँडेर अर्काेपटकको चुनाव जित्ने रणनीति बनाएको भन्दै भट्टराईले जुन उद्देश्यले बजेट छुट्टिएको छ, त्यही काममा खर्च हुनुपर्ने बताए।

‘गण्डकी प्रदेश सरकारले होमस्टेमा मात्र ३० करोड रुपैयाँ बाँडेको छ। एक अर्ब रुपैयाँ बाँडे पनि बाँडोस्, तर त्यो रकम पर्यटनमा उपयोग हुनुपर्छ, आफ्ना कार्यकर्तालाई दिन पाइन्न,’ बोर्डको नयाँ बजेटबारेको छलफलमा उनले भने, ‘पर्यटनमा लाभ हुन्छ भने हामी बजेटको विरोधी होइनौं। तर, त्यसको औचित्य प्रदेश सरकारले पुष्टि गर्न सक्नुपर्छ। बोर्डले पनि खर्चेको रकमको परिणाम खोज्नुपर्छ।’

बोर्डका पूर्वसदस्य टिकाराम सापकोटा पनि पूर्वाधार खर्चेको रकमलाई प्रवद्र्धनमा लगाएको खण्डमा पर्यटन क्षेत्र उकासिने भए पनि त्यो हुन नसकेको बताए। सामान्य कामका लागि पनि बोर्डले रकम दिने गरेको भन्दै उनले आपत्ति जनाए। ‘बोर्डले अहिले सामान्य काममा पैसा दिएको छ। प्रवद्र्धन र बजारीकरण गर्ने मूल काम बोर्डको हो। तर, संरक्षण, सौन्दर्यकरण र सम्पदा निर्माणका नाममा खर्च भएको छ। त्यसबाट पर्यटनमा लाभ पुगेको छैन,’ सापकोटाले भने, ‘पर्यटनमा लाभ पुग्ने शीर्षकमा मात्र खर्चनुपर्ने बजेट कनिका छरेजस्तो गर्दा कतै फाइदा पुगेको छैन।’ उनले पूर्वाधार विकासको काम स्थानीय तहको भएकाले पनि अब पर्यटन बोर्डले त्यस क्षेत्रमा लगानी गर्न आवश्यक नरहेको बताए।

पर्यटन बोर्डका सदस्य विप्वल पौडेल बोर्डले कनिका छरेजस्तो गरी पूर्धाधारका नाममा रकम खर्चेको बताउँछन्। बोर्डले विनियोजन गरेकोमध्ये ६० प्रतिशत रकम कनिका छरेजस्तो बाँडेको उनले बताए। ४० प्रतिशत बजेटमात्र जसोतसो अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा खर्च भएको उनको भनाइ छ। ‘अब हामी ६० प्रतिशत बजेट प्रवद्र्धनात्मक गतिविधिमा खर्चन दबाब दिनेछौं। कनिका छरेजस्तो रकम बाँड्ने काम नगरौं,’ आगामी वर्षको बोर्डको बजेटबारे पौडेलले भने, ‘कनिका छरेजस्तो बजेट बाँड्दा त्यसले पर्यटनमा लाभ दिँदैन।’  

प्रदेश सरकारले होमस्टेका नाममा छरेको ३० करोड रुपैयाँ खोज्न व्यवसायी नगएको सदस्य पौडेलले बताए। ‘देखिने काम गरौं, जहाँ पायो त्यहाँ बजेट खर्च नगरौं,’ पौडेलले भने, ‘प्रवद्र्धनात्मक कार्यक्रम पनि एकै ठाउँमा गर्न जरुरी छैन। तीन–चारवटा निकाय एकै ठाउँमा पालैपालो प्रवद्र्धनमा जान जरुरी छैन। एउटै निकायले प्रभावकारी तरिकाले काम गर्नुपर्छ। फरक निकाय फरक ठाउँमा जाँदा बजेट पनि पुग्छ र काम पनि प्रभावकारी हुन्छ।’

बोर्डका पोखरा प्रमुख मणि लामिछानेले पनि पूर्वाधारमा खर्चेको केही रकमलाई प्रवद्र्धनात्मक कार्यक्रममा लैजाने हो भने अहिलेभन्दा बढी लाभ पर्यटनले पाउने बताए। ‘पूर्वाधारका लागि खर्चेको रकमलाई पनि हामीले प्रवद्र्धनमा उपयोग गर्ने हो भने बल्ल पर्यटनको विकास हुन्छ,’ लामिछानेले भने, ‘बोर्डको नीतिअनुसार नै हामीले खर्चने हो। त्यसले व्यवसायीले चाहेजस्तो आकारको रकम बोर्डबाट प्रवद्र्धनमा पाउन सकेका छैनन्।’

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रवद्र्धनमा जाँदा बोर्डसँगको साझेदारीका लागि यहाँका व्यवसायीले प्रस्ताव पेस गरेर रकम माग गर्छन्। तर, बोर्डले दिने रकम न्यून हुने गरेको उनीहरुको गुनासो छ। पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन बोर्डको पैसा के काममा खर्च गर्ने भन्ने निक्र्योल गर्न नसकेको बताउँछन्। ‘बोर्डको काम गन्तव्य प्रवद्र्धन गर्ने हो। त्यसैले प्रवद्र्धनमा मन फुकाउनुपर्छ,’ तुलाचनले भने, ‘त्यसका लागि बजेटको आकार बढाउनुपर्छ।’ अहिले व्यवसायीले माग गरेको रकमको २० प्रतिशत मात्र रकम बोर्डले दिने गरेको उनले बताए। त्यो रकम अपुग भएको तुलाचनको भनाइ छ। ‘हामी हरेक वर्ष प्रवद्र्धन गर्न जान्छौं। बोर्डसँग बजेट माग्दा कहिल्यै भने जति पाउँदैनौं,’ उनले भने।
 

प्रकाशित: २६ जेष्ठ २०७६ ०८:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App