८ वैशाख २०८१ शनिबार
अर्थ

प्रि–फिजिबिलिटी अध्ययन सकियो, १ सय ८५ करोड लाग्ने

फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीलाई केबलकारको प्रिफिजिबिलिटी रिपोर्ट बुझाइँदै

रसुवा– धुन्चे–गोसाइँकुण्ड केबलकार निर्माणका लागि प्रि–फिजिबिलिटी अध्ययन सकिएको छ। अध्ययन सकिएसँगै केबलकार निर्माणका लागि फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीलाई प्रि–फिजिबिलिटी रिपोर्ट बुझाइएको छ।

शुक्रबार रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले राजदूत अधिकारीलाई प्रतिवेदन बुझाएका हुन्। भ्रमणका लागि फ्रान्स पुगेका तामाङले नेपाली दूतावास पुगेर प्रतिवेदन बुझाएका हुन्।

केबलकार निर्माणका लागि वातावरण निर्माण तथा प्रचारमा सहयोग पु-याउन प्रतिवेदन बुझाएको उनले बताए। ‘जिल्लामा केबलकार निर्माणका लागि काम गरिरहेका छौं,’ उनले भने, ‘यसले जिल्लालाई समृद्ध बनाउन सहयोग पुग्छ।’

केबलकार निर्माण गर्दा वातावरणमा कम क्षति हुने र अनुगमन गर्न समेत सहज हुने भएकाले इआइए अध्ययनका लागि अनुमति दिन उपयुक्त रहेको राय विभागमा पठाएसँगै प्रक्रिया अघि बढेको गोसाइँकुण्ड गाउँपालिकाले जनाएको छ।

धार्मिकस्थल गोसाइँकुण्ड जानका लागि मोटरबाटो निर्माण गर्दा वन्यजन्तुको वासस्थानमा असर पर्नुका साथै वातावरणमा अधिकतम असर गर्ने भए पनि केबलकार निर्माण गर्दा कम असर देखिने लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ।

केबलकार निर्माण गर्दा वन तथा वातावरणमा केही नकारात्मक प्रभाव पर्ने भए पनि आयोजना निर्माण भएमा निकुञ्ज क्षेत्रमा अनुगमन गर्न र वन्यजन्तुको चोरी सिकार एवं वन पैदावरको चोरी निकासी नियन्त्रण गर्न सहज हुने कार्यालयले जनाएको छ।

धुन्चेदेखि गोसाइँकुण्डसम्म केबलकारको दूरी साढे ६ किलोमिटर रहने छ। दुइटा स्टेसन रहनुका साथै २८ टावर राख्ने प्रस्ताव गरिएको छ। ५० प्यासेन्जर क्याबिन राख्न प्रस्ताव गरिएको गोसाइँकुण्ड गाउँपालिकाले जनाएको छ।

गोसाईकुण्डमा केबलकार निर्माणका लागि प्रस्ताव गरिएको अन्य क्षेत्रमध्ये धुन्चे गोसाइँकुण्ड केबलकार छोटोे रहेको र सस्तोमा निर्माण हुने गाउँपालिकाले जनाएको छ। केबलकार निर्माण गर्न एक अर्ब ८५ करोड लाग्ने अनुमान गरिएको छ।

आयोजना निर्माण भएमा स्वदेशी तथा विदेशी पर्यटकलाई धार्मिकस्थल गोसाइँकुण्डको भ्रमण गर्न सहज हुने अध्यक्ष तामाङले बताए।

केबलकारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नका लागि प्रदेश तथा स्थानीय सरकारले वजेट विनियोजन गरिसकेका छन्। आयोजनाको सुरुको स्थान गोसाइँकुण्ड–६ र अन्तिम स्थान गोसाइँकुण्ड–५ मा पर्छ।

धार्मिकस्थल ‘गोसाइँकुण्ड’ गोसाइँकुण्ड गाउँपालिका–५ मा पर्दछ। केबलकार निर्माणको चर्चा चले पनि प्रक्रिया अघि बढेको थिएन। चालु आर्थिक वर्ष ०७५/७६ का लागि केबलकारको अध्ययन गर्न प्रदेश नम्बर ३, गोसाइँकुण्ड र नौकुण्ड गाउँपालिकाले ५५ लाख बजेट विनियोजन गरेका थिए।

प्रकाशित: २६ जेष्ठ २०७६ ०६:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App