८ वैशाख २०८१ शनिबार
अर्थ

उखु बेच्न नपाएपछि दाउरा

प्रतापपुर–९ स्थित उखु किसान अनिता चौधरीको भान्सामा आगो बाल्न चाङ लगाएर राखिएको सुकेको उखु। ढिलो गरी सञ्चालन भएका जिल्लाका चिनी उद्योग छिट्टै बन्द हुँदा उखु सुकेर दाउरा बनेको छ। तस्बिरः रेखा/नागरिक

बुटवल– नवलपरासीको प्रतापपुर गाउँपालिका–९ की सुमित्रा धवल मंगलबार खेतको डिलमा बसेर एक तमासले सुकेका उखु हेरेर टोलाउँदै थिइन। घर सामुन्नेको ६ कट्ठा खेतमा उनले २०७४ को फागुनमा उखु लगाएकी  हुन्। जुन उखु उनका लागि खुन पसिना सबथोक हो। १० जनाको परिवार पाल्ने एकमात्र आयस्रोत हो। तर त्यही उखुले अहिले उनलाई दिनको भोक न रातको निन्द्रा बनाएको छ। बर्षदिनको मेहनत र पसीना खेतमा सुकेर सोत्तर बनेपछि हातगोडा छाडेका छन्। केही दिनअघिको असिना पानीले तीनै उखु पनि ढलेर आधाजसो कुहीएका छन्। ‘हामी त लुटियौं। बर्बाद भयौं। उखु खेतमै सुक्यो मेरा बालबच्चा पनि सुक्ने भए,’ सुमित्राले दुखेसो पोखिन।

सुमित्राकी देवरानी द्रौपती धवल र शंकर धवलको अवस्था पनि उस्तै छ। मंगलबार उखु बारीमै भेटिएका धवल दम्पती हतास मनस्थितिमा देखिन्थे। सम्पत्तिका नाममा उनीहरुसँग करिब आठ कट्ठा जमिन छ। जसमा उनीहरुले उखु लगाएका छन। उखु लगाउँदाको क्रण तिर्न साहुले ताकेता गरिरहेका छन्। उखु बेचेरै पाँच जनाको परिवारका लागि दाल चामल किन्नुपर्छ। नुनतेल, मसलाको जोहो गर्नुपर्छ। तीन छोराछोरीलाई एकजोर नयाँ लुगा फेरि दिनुपर्छ। तर परिवारको भरथेग गर्ने त्यही उखु बिक्री गर्न नपाएर खेतमै सुकेपछि उनको परिवार  बिचल्लीमा परेको हो। ‘मिल बन्द भए। उखु खेतमै सुक्यो। बालबच्चा कसरी पाल्ने? साहुको ऋण कसरी तिर्ने? म त बरबाद भए,’ शंकरले दुखेसो पोखे।

प्रतापपुरकै कालिभद्र चौधरीले जेठ १ र २ गते एक दर्जनभन्दा बढी खेताला लगाएर उखु कटाएका थिए। ३ गते ट्र्याक्टरमा लोड गर्दै गर्दा चिनी उद्योग बन्द भएको सूचना थाहा पाए। थारु र उनका छिमेकीले उद्योगमै पुगेर हारगुहार पनि गरे। तर उद्योग खुलेनन्। मिल लैजान तयार गरिएको करिब ७४ क्विन्टल उखु घर अघिल्तिर चाङ लगाइएको छ। जुन उखु अहिले सुकेर दाउरो बनेको छ। थारुका छिमेकी अनिता चौधरीको अवस्था पनि उस्तै छ। साँगुरो र झिँगटीले छाएको घरको भान्सामा सुकेको उखुको चाङ छ। मिल लैजान ठिक्क पारेको उखु सुकेपछि दाउराको रुपमा प्रयोग गर्न बाध्य भएको अनिताले बताइन्। नगदे बालीले गरिबी घटाउला भनेर उनले सात वर्षअघि धान मासेर १० कट्ठामा उखु लगाएकी हुन्। अहिले त्यही उखु दाउरा बनाएर आगो फुक्दा अनिताको मन भतभती पोल्छ।

सरकारले कृषिजन्य उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने योजनासहित बर्सेनि बजेट विनियोजन गरिरहदा नवलपरासीमा भने किसानका खेतमा नगदे बाली सुकेर खेर गइरहेको छ। उखु उत्पादक कृषक तदर्थ समिति नवलपरासीका अनुसार ढिलो गरी सञ्चालन भएका यहाँका चिनी उद्योग छिटै बन्द हुँदा यो वर्ष करिब पाँच करोड मूल्य बराबरको उखु क्रसिङ हुन पाएन। झन्डै ७०–७५ बिघामा लगाइएको करिब एक लाख क्विन्टल उखु खेतमै सुकेको तदर्थ समितिका धिरज त्रिपाठीले बताए।

जसका कारण जिल्लाका दजर्नौ किसान परिवार अहिले बिचल्लीमा परेका छन्। परिवारको गुजारा कसरी गर्ने भन्ने चिन्तामा छन। मिल बन्द भएपछि केही किसानले आधा कम मूल्यमा जुस पेल्ने साना व्यवसायीलाई उखु बिक्री गरेका छन्। तर त्यसबाट खेतालाको ज्यालासमेत नउठेको प्रतापपुर–९ का टेकनारायण चौधरी थारुले बताए। नगदे बाली खेतमै सुकेर किसानको बिचल्ली हुँदा समेत स्थानीय, प्रदेश र केन्द्र सरकार मुकदर्शक भएर बसेको गुनासो जिल्लाका किसानको छ। जिल्लाबाट प्रदेश र संघीय संसदमा पुगेका सांसदले समेत किसानका समस्यालाई वास्ता नगरेको कृषक कालिभद्र चौधरीले बताए।

सरकार र उद्योगीकै लापरबाहीले उखु खेर गयो
नवलपरासीमा लुम्बिनी, बाग्मती र इन्दिरा गरी तीनवटा चिनी उद्योग छन्। जसमध्ये लुम्बिनी चिनी कारखाना वैशाख पहिलो साता बन्द भएको हो। बाग्मती  खाँडसारी  र इन्दिरा सुगर मिलले पनि जेठ २ देखि क्रसिङ बन्द गरेका हुन्।

उखु क्रसिङको मुख्य सिजन मंसिरदेखि फागुनसम्म भए पनि सरकारले विगतमा जस्तै यसपालि पनि उखुको मूल्य तोक्न ढिलाइ गरिदियो। मंसिरअगावै मूल्य तोक्नुपर्ने भए पनि  माघ दोस्रो साता बल्ल मूल्य तोकियो। त्यसपछि पनि तोकिएको मूल्यमा असहमति जनाउँदै नवलपरासीमा उद्योग सञ्चालन गरिएन। चौतर्फी दवावपछि फागुन दोस्रो सातादेखि उद्योग खुले। ढिलोगरी सञ्चालनमा आएका उद्योगले प्राविधिक समस्या देखाएर बेलाबेलामा मिल बन्द गरिरहे।
बन्द हुँदै खुल्दै गरेका उद्योगमा पालो नलाग्दै धेरै किसानका खेतमा उखु सुक्न थाल्यो। सुकेको उखुको चिनी नपर्ने भन्दै उद्योगीले जेठ पहिलो साता मिल नै बन्द गरीदिए। जसका कारण करिब ७०–७५ बिघा क्षेत्रफलको उखु क्रसिङ हुन सकेन।

सिजनमै उखुको मूल्य नतोकेको बहानामा मिल नचालाएका उद्योगीले मूल्य तोकेपछि पनि फूल फेजमा उद्योग नचलाउँदा उखु खेर गएको उखु उत्पादक किसान तदर्थ समितिका त्रिपाठीले बताए। सरकार र उद्योगीकै लापरबाहीले परिवारको बिचल्ली भएको भन्दै यहाँका किसानले उद्योगीलाई कारबाही गर्न र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। तर उद्योगी भने त्यसमा आफ्नो दोष नभएको बताउँछन्। किसानले समयमै उखु काटेर नल्याएकाले मिल बन्द गर्नु परेको दाबी बाग्मती खाँडसारी चिनी मिलका उखु महाप्रबन्धक गोपाल सापकोटाको भनाइ छ। तर प्रतापपुरका किसान कालीभद्रले भने किसानले उखु काटेर मिलमा लैजाने तयारी गरिरहँदा अग्रिम सूचनाबिना मिल बन्द गरिएको बताए।

प्रकाशित: २६ जेष्ठ २०७६ ०५:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App