८ वैशाख २०८१ शनिबार
समाज

अभियुक्त जोगाउने इन्स्पेक्टर पक्राउ

काठमाडौं – सबारी ज्यानमुद्दामा संलग्न चालक जोगाएको आरोपमा नेपाल प्रहरीका इन्स्पेक्टर लोकबहादुर जिसी नवलपरासीबाट पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले मंगलबार इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख जिसीलाई पक्राउ गरेको हो।

२०७६ वैशाख ११ गते राती बोधराज पाण्डेले पूर्वपश्चिम राजमार्गको गैंडाकोट खण्डमा चलाएको कारको ठक्करबाट मृत्यु भएको सबारी ज्यान मुद्दामा नक्कली चालक खडा गरेर प्रमाण नष्ट गरेको अभियोग लगाइएको छ । विपरीत दिशातिरबाट आएको मोटरसाइकललाई पाण्डेले चलाएको कारले ठक्कर दिएको थियो । पाण्डेले चलाएको कारको ठक्करबाट मोटरसाइकल पछाडी बस्ने युवतीको मृत्यु हुनुका साथै चालक घाइते भएका थिए ।

मोटरसाइकल चालक घाइते र पछाडी बस्ने युवतीको मृत्यु भएपछि पाण्डेले प्रहरीसँग मिलेर किसुन महतोललाई नक्कली चालकका रुपमा खडा गरेका थिए । पछि इन्स्पेक्टर जिसीले चालक पाण्डेबाट १० लाख लिएर घटनामा नक्कली चालक किसुन महतोलाई खडा गरेको उजुरी परेको थियो । सोही उजुरीमाथी छानबिन गर्दा जिसीको संलग्नता खुलेपछि उनलाई पक्राउ गरिएको हो । आयोगका प्रवक्ता सहसचिव प्रदीपकुमार कोइरालाले नक्कली चालक खडा गरेर घटनाको सत्यतथ्य लुकाउन खोजेको आरोपमा उनीमाथी अनुसन्धान भइरहेको बताए ।

प्रकाशित: २६ जेष्ठ २०७६ ०४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App