८ वैशाख २०८१ शनिबार
समाज

पुल निर्माणको बजेटले स्थानीय उत्साहित

खोटाङ - खोटाङको धार्मिकस्थल हलेसी र पूर्वी तराई जोड्ने छोटो दूरीको सडकखण्डमा पुल निर्माणका लागि बजेट परेकाले स्थानीय उत्साहित भएका छन्। खोटाङलाई १ नम्बर प्रदेश र २ नम्बर प्रदेशको राजधानीसँग जोड्ने द्रुतमार्ग खोल्ने मोटरेबल पुल निर्माणका लागि नेपाल सरकारको वार्षिक विकास कार्यक्रममा बजेट परेकाले उनीहरू उत्साहित भएका हुन्।

तराईबाट सीधै धार्मिक तथा पर्यटकीय स्थल हलेसी, ओखलढुंगा हुँदै खुम्बु–सगरमाथासम्म पुग्ने सबैभन्दा छोटो मार्ग खुल्ने भएकाले कुनई र बतासेघाट जोड्ने पक्की पुललाई अर्थपूर्ण मानिएको छ। विशेषगरी खोटाङ र उदयपुरका जनप्रतिनिधि, नेता तथा होलेसुङ समूहले सो स्थानमा पुल निर्माणका लागि पटकपटक माग गर्दै आएका थिए। उदयपुरको लिम्चुङबुङ गाउँपालिका–१ बाँसबोटेको कुनई र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको बतासेघाट खोप्पास्थित सुनकोसीमा पक्की पुल निर्माणका लागि बजेट विनियोजन भएको नेपाल सरकार राष्ट्रिय योजना आयोगले प्रकाशित गरेको रातो किताबमा उल्लेख छ।

 बतासेघाटमा पक्की पुल बनेपछि दार्जिलिङ, सिक्किमलगायतबाट हलेसी तथा सगरमाथा पुग्ने सबैभन्दा छोटो बाटो खुल्ने जनाइएको छ।

खोटाङतर्फ मध्यपहाडी लोकमार्गको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको दलस्वरचोकदेखि सुनकोसीको बतासेघाट जोड्ने होलेसुङ जनकराज राई मार्ग (१३ दशमलव २७ किलोमिटर) निर्माण भइसकेको तथा उदयपुरको लिम्चुङबुङ गाउँपालिकातर्फबाट पनि सुनकोसी नदीसम्म सडक निर्माण भइसकेकाले पुल निर्माण हुन लागेको हो। ‘सुनकोसीको दुवै किनारासम्म सडक बनिसकेको छ। मोटरेबल पुल बन्नेबित्तिकै तराईबाट सीधै हलेसी आउने छोटो मार्ग खुल्नेछ,’ होलेसुङ समूहका सदस्य रहेका दुर्छिमका बुद्धिजीवी भूपेन्द्रकुमार राईले भने, ‘बतासेघाटमा पुल बन्नेबित्तिकै तराई हुँदै हलेसी आउने भारतीय दर्शनार्थीसमेत यही बाटोबाट हिँड्नेछन्।’

सुनकोसीको दुवैकिनारामा सडक निर्माण भएको वर्षौं बिते पनि बतासेघाटमा पक्की पुल नभएकाले स्थानीय झोलुंगे पुलमार्फत सुनकोसी वारपार गर्दै आएका छन्। सुनकोसीमा पुल बनेपछि हाल पूर्वी तराई–कटारी–घुर्मी हुँदै हलेसी आउने दर्शनार्थीका लागि गाईघाट–मुर्कुची–पुवाँरे–भालेबास–माझखर्क–कुनई–बतासेघाट हुँदै हलेसी पुग्ने छोटो बाटो खुल्नेछ। यस्तै लिम्चुङबुङ गाउँपालिका, ताम्ली गाउँपालिका र रौतामाई गाउँपालिकाका १८ वडाका स्थानीयका लागि काठमाडौं आवतजावत गर्ने छोटो दूरीको सडक खुल्ने राईले बताए।

हलेसी तुवाचुङ नगरपालिका र लिम्चुङबुङ गाउँपालिकाको कृषि उत्पादनलाई सहरसम्म पु¥याउनसमेत पुल उपयोगी हुने स्थानीयको भनाइ छ। बतासेघाटमा पुल निर्माण भएपछि आवतजावतबाहेक खोटाङ र उदयपुरको आर्थिक, धार्मिक, राजनीतिक, सामाजिक तथा सांस्कृतिक विकासमा समेत टेवा पुग्ने भएको छ। सो पुलका कारण ओखलढुंगा–सोलुखुम्बुको सगरमाथा ट्रेकिङ तथा पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने स्थानीयको अपेक्षा छ। बतासेघाटमा पक्की पुल बनेपछि दार्जिलिङ, सिक्किमलगायतबाट हलेसी तथा सगरमाथा पुग्ने सबैभन्दा छोटो बाटो खुल्ने जनाइएको छ।

नेपाल सरकारले प्रकाशित गरेको आव २०७६/७७ मा समावेश वार्षिक विकास कार्यक्रममा तलुवा र सल्ले जोड्ने मूलघाट, छुइला र पौवासेरा जोड्ने बंसिलाघाट पुल, दिप्सुङ र बाक्सिला जोड्ने पुल, बाम्राङ र बुइपा जोड्ने दिखुवा खोला पुल र चिसापानी–खोटाङ बजार जोड्ने सावाखोला पुलका लागि बजेट विनियोजन गरेको उल्लेख छ। यस्तै अर्खौले–सल्ले–महादेवबेंसी सडक, दिक्तेल–खोटाङ बजार सडक, दिक्तेल–रेग्मीटार सडक, धाप्लाङ–ऐंसेलुखर्क सडक र पामाखाम–खोटाङ बजार सडकका लागि पनि बजेट परेको प्रतिनिधिसभा सांसद विशाल भट्टराईले बताए।

प्रकाशित: २६ जेष्ठ २०७६ ०४:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App