७ वैशाख २०८१ शुक्रबार
समाज

वीरगन्ज महानगरमा अब विद्युतीय नक्सा

वीरगन्ज - वीरगन्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले साउन १ देखि विद्युतीय नक्सा प्रणाली लागू गर्ने बताएका छन्। सेवाग्राहीले नक्सा पासका लागि खर्चिनुपर्ने समय, लागत र झन्झटिलो प्रक्रिया घटाउन सो प्रणाली प्रयोगमा ल्याउन लागेकोे बताए।

नगरप्रमुख सरावगीले भवनको नक्सा पास गर्ने विद्युतीय प्रणालीबाट हुने भएपछि यसबाट सेवाग्राहीको समय र खर्च घट्नुका साथै आर्थिक सुशासनसमेत कायम हुने विश्वास व्यक्त गरे। ‘हामीले यसको ट्रायल गरिसकेका छौं, साउन १ देखि लागू गर्ने करिब पक्का छ,’ युएनडिपीको नेपालस्थित कार्यालयले शनिबार वीरगन्जमा अयोजना गरेको ‘भवन निर्माणका लागि विद्युतीय नक्सा’ विषयक दुई दिने तालिमको उद्घाटन कार्यक्रममा नगरप्रमुख सरावगीले भने, ‘घरमा वा कुनै साइबरमा बसेर सेवाग्राहीले आफ्नो घरको नक्सा महानगरपालिकामा पेस गर्न सक्छन्।’

तालिममा सहभागी पर्साका ४० जना इन्जिनियर र ओभरसियरलाई सम्बोधन गर्दै नगरप्रमुख सरावगीले महानगरमा कागजको प्रयोग घटाउँदै विद्युतीय एप्स र विधि प्रयोगमा ल्याउने योजनाअनुसार अघि बढेको बताए। भवनको नक्साको डिजाइन विद्युतीय प्रणालीबाट हुने व्यवस्था त्यसैको कडी रहेको उनले जनाए। महानगरभित्रका नक्साविनाका पुराना घरको अभिलेखीकरण गर्दै नक्सा पास गर्ने कार्यमा महानगर लागेको उनले जानकारी दिए। उनका अनुसार महानगरभित्रका सबै सडक तथा टोलको नामकरण सम्पन्न भई घरको नम्बर वितरण थालिएको छ।

नगरभित्र नक्सा पास नगरी घर निर्माण गरे तीनगुणा कर र ५ लाख रुपैयाँसम्म जरिवाना असुल्ने गरी नियम लागू गर्न लागेको उनले बताए। भवन संहिताअनुसार घर बनाउन महानगरपालिकाले सबैलाई आग्रह गरेको उनको भनाइ छ। उनले वातावरणमैत्री, भूकम्पप्रतिरोधी र आगलागीलगायत विपद् जोखिम न्यूनीकरण हुनेगरी भवन बनोस् भन्ने महानगरको ध्येय भएको बताए। कार्यक्रममा युएनडिपीका कार्यक्रम प्रबन्धक प्रज्ञा प्रधान, महानगरपालिकाका योजना महाशाखा प्रमुख अखलाक सिद्दिकीलगायतले विद्युतीय नक्सांकनले सबैलाई सहज हुने बताए। तालिममा वीरगन्ज महानगरसहित पर्साका १४ वटै स्थानीय तहमा कार्यरत इन्जिनियर, ओभरसियर तथा प्राविधिक सहभागी छन्। यहाँका १४ पालिकामध्ये वीरगन्ज महानगरपालिकाले पहिलेदेखि नै विद्युतीय नक्सा पासका लागि कार्य अगाडि बढाएकाले साउन १ देखि लागू गर्न लागेको जनाएको छ।

प्रकाशित: २६ जेष्ठ २०७६ ०४:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App