coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुर्गम गाउँमा पलाउँदै विकासको आशा

पाँचथर - जिल्लाको दक्षिणी मिक्लाजुङ गाउँपालिका–६ को कन्याटानीय शुक्रबार बिहानको चिसोमा चियाको चुस्की लिँदै बाटो कालोपत्रे भएपछि यो ठाउँ स्वर्ग बन्ने धारण सुनाउँदै थिए। राँके–भेडेटार सडकखण्डमा पर्ने सो सानो ग्रामीण बजारमा बासिन्दाले यो क्षेत्रका विकास अनेकन अपेक्षा र सम्भावनाहरू रहेको सुनाए।

सदरमुकामदेखि निकै टाढा पर्ने यो ठाउँ प्राकृतिक रूपमा सुन्दर छ। तर विकासका पूर्वाधारको अभावले समस्या पारेको थियो। संघीयता कार्यान्वयनसँगै प्रदेश र स्थानीय सरकारको सक्रियता, प्राविधिक फड्को तथा ठूलो योजनाले यहाँको विकास र समृद्धिमा मद्दत पुग्ने स्थानीयको अपेक्षा छ। राम्रोसँग मोबाइल नटिपे पनि यहाँका घरघरमा इन्टरनेट जोडिएको छ। सोलारको माध्यमबाट स्थानीयले इन्टरनेटको सहयोगमा देश–विदेशको जानकारी संग्रह गर्ने गर्छन्। कन्याटार सेरोफेरोका ग्रामीण क्षेत्रमा निजी इन्टरनेट प्रदायक कम्पनीले सुविधा दिएका छन्। सामुदायिक भवन, खानेपानी, सडकलगायत पूर्वाधार विकासका कारण यहाँका बासिन्दा निकै हौसिएका छन्।

कन्याटारसँगै रहेका लेकगाउँ, कम्फुटार, खान्दु्रङ, सिक्देम्बालगायत क्षेत्रका बासिन्दा पनि शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा प्रविधिको विकास ह्वात्तै बढ्ने अपेक्षा राखिरहेका छन्। यी ठाउँमा पर्यटन विकासका लागि पोखरीलगायत विभिन्न पूर्वाधारहरू बन्दै छन्। ‘विकासका केही काम अघि बढेका छन्। दीर्घकालीन महोत्सवका योजनाहरू अघि सार्न पाए ग्रामीण क्षेत्रमा ठूलो राहत पुग्ने थियो,’ स्थानीय श्री राईले भने ‘ग्रामीण क्षेत्रका बासिन्दा अडिने किसिमको कार्यक्रमहरू थपिन आवश्यक छ।’
राँके–भेडेटार सडकले यहाँका धेरै ग्रामीण क्षेत्र भेट्छ। यही सडकलाई आधार बनाएर गाउँगाउँमा शाखा सडकहरू खोलिएका छन्। राँके–भेडेटार सडक कालोपत्रे गर्न ठेक्का लागेर काम भइरहेकाले स्थानीयमा उत्साहमा वृद्धि भएको छ। तराई तथा सदरमुकामलगायत ठाउँमा पुग्न सजिलो हुने अपेक्षा छ।

अहिले पनि यहाँका बासिन्दा वर्षायाममा सदरमुकाम फिदिम जान चार जिल्ला घुम्न बाध्य छन्। झरीले बाटो बिगारेपछि ६ नम्बर बुधबारेबाट धनकुटा, मोरङ, झापा, इलाम हुदै फिदिम पुग्नुपर्ने हुन्छ। हिउँदमा यो क्षेत्रमा धरान–रवि बस चल्छ। गाउँगाउँमा जिप सञ्चालनमा छन्। केन्द्रीय प्रसारण लाइनको विद्युत् आवश्यक रहेको कन्याटारवासी भविन्द्र बन्जरा बताउँछन्। केन्द्रीय प्रसारणको विद्युत्को काम अघि बढे पनि ढिलाइ भएको छ। भवन, सडक, पर्यटकीय पूर्वाधारलगायत विकास चाँडै हुने आशा स्थानीयको छ।
तराईका विभिन्न जिल्लामा यहाँका मानिसहरू बसाइँ सरेर गएका छन्। यहाँका धेरैजसो मान्छेका घर तराईमा पनि छ। तर सडक कालोपत्रे भएपछि यहाँ घुम्न आउने पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ। मिक्लाजुङ डाँडा, लेकगाउँ, कन्याटर लगायका रमणिय क्षेत्रमा भएपछि उनीहरू फर्किने र पर्यटक पनि उल्लेख्य संख्यामा आउने स्थानीयको अपेक्षा छ। स्थानीयको जीवनस्तर उकासिने अपेक्षासहित यहाँ ताल निर्माण, होमस्टे तथा अन्य पर्यटकीय पूर्वाधारका काम भइरहेको लेकगाउँका सञ्जय राई बताउँछन्।

बाटो राम्रो भएमा यो क्षेत्रमा उत्पादन हुने कृषि उपज बिक्री वितरण गर्न, तराईका बजारसम्म लैजान सहज छ। पहाडको लेकाली क्षेत्रमा भएको उत्पादनलाई तराई तथा सहर क्षेत्र विशेष मन पराइने भएकाले यो ठाउँमा कृषि क्षेत्रमा बृहत्तर लगानीको अवश्यकता रहेको स्थानीय शिक्षक घनश्याम घिमिरले बताउँछन्। थम्कीला डाँडाहरू, वनक्षेत्र, तालपोखरीले भरिएका यी ग्रामीण क्षेत्रका बासिन्दा कृषि, व्यापार तथा घरेलु उद्यममा सक्रिय छन्। स्थानीय तथा प्रदेश सरकारले गाउँमा युवाहरूलाई अड्याउने खालका विशेष कार्यक्रम आउन सके गाउँमा विकासका विभिन्न आयामहरू सिर्जना हुने उनको भनाइ छ।
मिक्लाजुङको कन्याटारमा बस चढ्दै वृद्धा। तस्बिर ः गिरिराज÷नागरिक

प्रकाशित: २६ जेष्ठ २०७६ ०३:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App