coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

हुरीले अस्तव्यस्त कैलाली–कन्चनपुर

दिलबहादुर/नागरिक

धनगढी - तीन दिनअघि हुरीले वितन्डा मच्याएको सुदूरपश्चिम प्रदेशको जनजीवन अझै सामान्य बन्न सकेको छैन। बस्ती तहसनहस छ। कैलाली र कञ्चनपुरका गाउँबस्तीमा विद्युत् आपूर्ति ठप्प छ। बस्ती तहसनहस भएका छन् ा। उद्धार कार्य अझै प्रभावकारी हुन सकेको छैन।

तीन दिनअघिको हुरीले हुन्डरी सम्झेर कञ्चनपुर बेडकोट नगरपालिका १० का ८२ वर्षीय रामसिंह रावल अझै त्रसित छन्। उनी त्यो दिन सम्झँदै भन्छन्, ‘बिहीबार दिनभर उखरमाउलो गर्मी भयो। दिनचर्या अन्य दिनजस्तै चलिरह्यो। आकाशमा न बादल थियो, न आँधीबेहरीको संकेत नै। बेलुकी ७ः५५ बजे एक्कासि आँधीबेहरी चल्यो। आकाश धुलाम्य देखियो। ठूलठूला रुखले भुइँ छुन थाले। घर छाएका जस्तापाता आकाशमा उड्न थाले। विद्युत्का पोलहरु ढल्न थाले।’

बस्ती तहसनहस
किसान मर्कामा
जनजीवन अस्तव्यस्त
सत्र सय घरमा क्षति
बिजुली छैन, गर्मीले उकुसमुकुस

१५ मिनेट चलेको आँधीबेहरीले कैलाली र कञ्चनपुरका १७ सय ४५ घर उडाएको छ। दुई जनाको ज्यान गयो भने ९९ जना घाइते भए। १२ सय बढी विद्युत्का पोल ढले। रावलले भने, ‘पत्नी, भेट्न आएकी छोरी र नातिनीसँग गफिँदै बसिरहेको थिएँ। अर्को घरमा बुहारीले खाना पकाउँदै थिइन्। बाहिर हावाहुरी चल्न थालेपछि ढोका थुनेर बस्यौं। एक्कै छिनपछि त घर गल्र्याम्म गुर्लुम्म ढल्यो। दुवैतिरका घरका भित्ता हामीमाथि परेर च्यापियौं।’ छिमेकीले उनीहरुलाई उद्धार गरेर अस्पताल पु¥याए। उनको परिवारका चार जना गम्भीर घाइते भए। उनीहरुको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ। धनगढी उपमहानरपालिका–३, बडहराका ४४ वर्षीय काशिराम विक टायलले छाएको कच्ची घरभित्र ६ जनाको परिवारसहित बसिरहेका थिए। बाहिर अत्यासलाग्दो हावाहुरी चल्न सुरु भयो। सिमलको रुख ढलेर घरमाथि बज्रियो। घर पनि गल्र्यामगुर्लुम्म ढल्यो। च्यापिएर काशिराम र उनकी ४० वर्षीया पत्नी मीना गम्भीर घाइते भए। अन्यलाई सामान्य चोट लाग्यो। ‘रुख ढलेपछि सबैको एकै चिहान भयो भन्ने लागेको थियो,’ उनले भने, ‘टाउको, शरीर सबैतिर चोट लागेको छ।’

मोटरसाइकलसहित यात्री उडे
अत्तरियाको हाटखोलीबाट मोटरसाइकलमा धनगढी फर्कंदै गर्दा गेटानजिकै हुरीले उडाएको बडहराका भूपेन्द्र बडायकले बताए। उनले भने, ‘पाँच मोटरसाइकलसहित साथीहरु हाटखोलीबाट फर्कंदै थियौं। गेटामै हावाहुरीले मोटरसाइकलसहित उडायो।’ मोटरसाइकल चलाउँदै गर्दा आएको हुरीले सडकबाट करिब ३० मिटर टाढा रहेको खेतमा पु¥याएको बताउँदै उनले भने, ‘खेतमा लगाइएको काँडेतारमा अल्झिएर जोगिएँ। मोटरसाइकलको भने अझै पत्तो छैन।’ अरु साथीलाई पनि हुरीले मोटसाइकलसहित खेतमा पु¥याएको उनले बताए। अनुहारभरि चोटैचोट लागेर धनगढी चौराहस्थित सरोज मेडिकल हलमा उपचार गराइरहेको उनले भने, ‘एक्कासि आएको हावाहुरीले आँखा पूरै अँध्यारो भयो, मोटरसाइकलसहित उडेर खेतमा पुग्यौं।’

भोकभोकै रात बित्यो
धनगढी उपमहानगरपालिका–१२ जुगेडाको मुक्त कमैया बस्तीका जितबहादुर चौधरी मजदुरी गरेर घर पुगिसकेका थिएनन्। छोरी रविना घरभित्र खाना पकाउँदै थिइन्। हुरीले घर हल्लिन थालेपछि खाना पकाउन छोडेर रविनाले भागेर ज्यान जोगाइन्। उनको टाउको र हातमा चोट लागेको छ। हावाहुरीले घरको छाप्रो भत्काएपछि रातभर आँगनमा बसेको जितबहादुरले बताए। यो मुक्त कमैया बस्तीका अधिकांश घरका छाना जस्तापाताले छाएका थिए। सबैजसो घरका जस्तापाता हुरीले उडाएको छ। दर्जनौं परिवार घरवारबिहीन भएका छन्। ‘ऋण निकालेर एक महिनाअघि मात्र घर बनाउन थालेका थियौं। पूरै घर बनिसकेको थिएन्। त्यही घर हुरीले भत्काउँदा छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छौं,’ रविनाले भनिन्।

बाँधुराम चौधरीको परिवारका ७ सदस्य खाना खाने तयारीमा थिए। हावाहुरीले घरको छत भत्काएपछि उनीहरुलाई ज्यान जोगाउन मुस्किल भो। ‘१४ दिनको नातिलाई जोगाउन हम्मेहम्मे भो,’ उनले भने, ‘खाना र चामलमा पूरै पानी पस्यो। रातभर भोकभोकै छिमेकीको घरमा आश्रय लियौं। छिमेकीको घरभित्र पनि पानी परेर चामल, खाना भिजेको थियो।’ मुक्त कमैया बस्तीका परिवारले घरमा पानी पसेर अन्न भिजेकाले शुक्रबार बिहानसम्म खाना पकाएर खान पाएका थिएनन्। हुरीसँगै वर्षा पनि भएको थियो। घरको छत भत्किँदा जस्तापाताले लागेर यो बस्तीका कैयौं मान्छे घाइते भए पनि उपचारका लागि अस्पताल गएनन्। जस्तापाताले चोट लागेको खुट्टा देखाउँदै बजिया चौधरी भनिन्, ‘पैसा नहुँदा अस्पताल जान पाइनँ।’

१७ सय घर छानाविहीन
हुरीले कैलालीमा ११ सय ७४ घरका छाना उडाएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए। उनका अनुसार, अहिले पनि जिल्लाभर क्षतिको विवरण संकलन भइरहेकोले संख्या बढ्न सक्ने देखिन्छ। यसैगरी कञ्चनपुरका प्रहरी उपरीक्षक दिनेश आचार्यका अनुसार जिल्लामा ५ सय ७१ वटा घरको छाना उडाएको छ भने १९ वटा घरमा पूर्ण क्षति भएको छ। त्यहाँ पनि क्षतिको विवरण संकलन भइरहेको छ।

अझै अँध्यारै छ कैलाली–कञ्चनपुर
हुरीले कैलाली र कञ्चनपुरमा १२ सय भन्दा बढी पोल ढालेकाले बिहीबार बेलुकीदेखि विद्युत् सेवा अवरुद्ध भएको छ। विद्युत् अवरुद्ध हुँदा कैलाली–कञ्चनपुरको जनजीवन अस्तव्यस्त बनेको छ। करिब ४२÷४३ डिग्री सेल्सियस तापक्रम रहेको कैलाली र कञ्चनपुरमा विद्युत् सेवा नहुँदा जनजीवन गर्मीले प्रभावित भएको हो। नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाका प्रमुख सतिशकुमार कर्णका अनुसार कैलालीमा ७ सय र कञ्चनपुरमा ५ सय बढी विद्युत्का पोलमा क्षति पुगेको छ। पोल ढल्दा विद्युत लाइन पूरै बिग्रिएको उनले बताए। ‘बिहीबार बेलुकीदेखि कैलाली–कञ्चनपुरमा विद्युत आपूर्ति ठप्पजस्तै छ,’ उनले भने, ‘पुरानै अवस्थामा फर्कन अझै १५ दिन बढी लाग्ने छ।’ हुरीकै कारण ६ वटा ट्रान्सफर्मर समेत ढलेको उनले बताए। ‘ठूलो हुरीले ट्रान्सफर्मरै खसाल्यो,’ उनले भने, ‘खसेका ठाउँमा नयाँ राख्ने काम भइरहेको छ।’ धनगढी, अत्तरिया, कृष्णपुर गुलरिया क्षेत्रका विद्युत् पोलमा बढी क्षति भएको उनले बताए।
विद्युत् सेवा अवरुद्ध हुँदा कैलालीबाट पत्रपत्रिका प्रकाशित हुन सकेका छैनन्। एफएम रेडियोहरु समेत बन्द छन्। विद्युतीय रिक्सा चार्ज गर्न नपाएर ठप्प छन्। चर्को गर्मीमा अटो रिक्सा चढ्ने हिँडेरै गन्तव्यमा पुग्न बाध्य छन्। गर्मी धेरै हुँदा धनगढीमा जेनेरेटर भएका ठूला होटेलमा स्थानीय कोठा लिएर बस्न थालेका छन्। ‘विद्युत् अवरुद्ध हुँदा घरमा गर्मी सहन नसकेर होटेलमा कोठा लिएर बसेको छु,’ स्थानीय मीन बम भन्छन्, ‘एसी भएको होटेलमा कोठा लिएर चर्को गर्मी छल्न बसेको छु।’ विद्युत् आउने छाँट नदेखिएपछि होटेलमा कोठा लिन बाध्य भएको उनले बताए।

किसान मर्कामा
हुरी धेरैजसो किसानकै घरका छाना उडाएको छ। खेतीमा पनि क्षति पुगेका छ। हुरीले फलफूल र अन्नबाली दुवैमा क्षति पुगेको छ। कुखुर व्यवसायी पनि मर्कामा परेका छन्। सबैभन्दा बढी केरा खेती गरेका र कुखुरापालेका किसान मर्कामा परेका छन्। अत्तरियाको लालपुरमा १२ बिघा जमिन भाडामा लिएर केरा खेती गरेको लछिराम आचार्यको ९५ प्रतिशत केराका बोट ढलेका छन्। ऋण लिएर गरिएको केरा खेती फसल लिन नपाउँदै हुरीले ढालेर क्षति पु¥याएको उनले बताए। ‘फलेको केरा पूरै सखाप भयो,’ उनले भने, ‘हावाहुरीले पूरै खेती सखापै पा¥यो।’ कैलाली–कञ्चनपुरमा मात्रै हावाहुरीका कारण १० करोड रुपैयाँबराबरको केरा क्षति भएको उनले बताए। ‘हावाहुरीले सबैभन्दा बढी महेन्द्रनगर, बेलौरी, गुलरिया, अत्तरिया र चौमालाका किसान मर्कामा परेका छन्,’ उनले भने, ‘यो क्षेत्रमा बढी हावाहुरीले क्षति पु¥यायो।’

त्रिपाल वितरण गरिँदै
घरका छाना उडाएकालाई त्रिपाल वितरण गर्न थालिएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी बोहोराले क्षतिको विवरण संकलन गरेर छाना उडाएकालाई ओत होस् भनेर त्रिपाल वितरण सुरु गरिएको बताए। ‘गलत व्यक्तिको हातमा त्रिपाल नपरोस् भन्नका लागि प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा समिति गठन गरेर काम थालिएको छ,’ उनले भने, ‘अब चाँडै अन्य राहत सामग्री पनि वितरण गरिने छ।’ वडाध्यक्ष संयोजक रहेको टोलीमा प्रहरी प्रतिनिधि, वडा सचिव र रेडक्रसको प्रतिनिधि छन्। यो समितिले क्षतिको विवरण संकलन र राहत वितरण गर्ने उनले बताए।

प्रकाशित: २६ जेष्ठ २०७६ ०१:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App