coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हेलचक्र्याइँले दोहोरियो डेंगे प्रकोप

झापा- आफूलाई पर्याप्त जानकारी भए पनि पूर्वसतर्कता अपनाउन  नचाहने  सर्वसाधारणको बानीले डेंगे संक्रमण फैलिन मद्दत गरिरहेको छ। जनस्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार सर्वसाधारण थोरैमात्रै सतर्क हुने हो भने पनि डेंगे संक्रमणबाट बच्न सकिन्छ। तर, अघिल्लो वर्षको पीडा बिस्तारै बिर्सिनाले सर्वसाधारण थाहा पाएकै उपाय अपनाउन पनि चुक्छन्। यसै कारण संक्रमण प्रकोपको रुप धारण गर्न पुग्छ।

'सन् २०१२ मा जिल्लामा पहिलोपटक डेंगे फेला परेयता हरेक वर्षजसो देखिएको छ', झापाका अवकाशप्राप्त जनस्वास्थ्य अधिकृत चन्द्रनारायण सिंहले भने, 'त्यसयता हरेक वर्ष डेंगेबाट जोगिने उपायबारे ठाउँठाउँमा चेतना अभियान चलेको छ। रोग फैलिएपछि सजग हुने सर्वसाधारणले संक्रमण घटेपछि पीडा भुल्दै जान्छन्। यसैले संक्रमण एकैपटक धेरैमा फैलिने गरेको छ।'

तीन वर्षअघि प्रकोपको रुप लिएर डेंगे फैलिएपछि जिल्लाभरिका सहरी क्षेत्रमा सरकारी तथा जनस्तरबाट सचेतना अभियान चलेको थियो। त्यसभन्दा अघिल्लो वर्ष ७७ जनामा देखिएको रोग  सन् २०१३ मा दुई सय दुईजनामा फेला परेको थियो। त्यही बेला जनस्वास्थ्य कार्यालय, इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखालगायतको अगुवाइमा जिल्लाका हरेक सहरमा चेतना अभियान चलेको थियो। त्यसपछिको दुई वर्षमा डेंगेले कमलाई मात्र पिरल्यो। 'दुई वर्षसम्म पीडा खेप्न नपरेपछि सर्वसाधारणले पहिले जानेको सतर्कता उपाय पनि कार्यान्वयन गर्न भुले', जिल्ला जनस्वास्थ्यका एक अधिकारीले भने, 'जानेकै कुरा व्यवहारमा लागू नगर्दा यसपटक दमकमा प्रकोप चुलियो।' यस भनाइमा डेंगे पीडित पनि सहमति जनाउँछन्। अहिले दमकको बजार क्षेत्रका बासिन्दामा संक्रमण भएको छ। उनीहरूमध्ये अधिकांशले डेंगेबारे यसअघि नै धेरथोर जानकारी पाएका थिए। 'दुई तीन वर्षअघि रोग फैलिँदा हामीले जोगिने उपाय धेरथोर थाहा पाएका थियों', असोज २४ मा डेंगे संक्रमण पुष्टि भएर उपचारपछि आराम गरिरहेका दमक १२ का नारद खनालले भने, 'तर एकैचोटि रोग लागेपछि मात्रै त्यो कुरा सम्झना आउँदोरहेछ।'

जिल्ला जनस्वास्थ्य प्रमुख मधुसूदन कोइरालाका अनुसार सहरमा बसोबास गर्ने सर्वसाधारणले आफ्नै घर परिसरमा मात्रै सरसफाइमा ध्यान दिने हो भने रोग संक्रमणको जोखिम आधा कम हुन्छ। एसी, फ्रिज, गमला, पुराना टायरजस्ता वस्तुमा पाँच दिनभन्दा बढी पानी जम्नासाथ डेंगु सार्ने एडिस एजिप्टाई जातको लामखुट्टेले अन्डा पार्छ। त्यसबाहेक जथाभावी फोहर फाल्दा सँगै मिल्काइने प्लास्टिकका बट्टा, प्लास्टिकका गिलास तथा अन्य भाँडाबर्तनमा ज्यादै थोरै परिमाणमा जम्ने पानीमा पनि यो लामखुट्टेले फुल पार्छ। त्यसैले जथाभावी फोहर हुने तथा पानी जम्ने भाँडा तथा यन्त्र बढी प्रयोग हुने सहरी क्षेत्रमा डेंगु छिटो र बर्सेनि फैलिने गरेको हो।

'कोठाको सजावटका लागि राखिने फूलदानीको पानी पनि फेरिरहने नगर्दा रोग सार्ने लामखुट्टे कोठामै पैदा हुन्छ', कोइरालाले भने, 'त्यसैले लामो समय पानी जम्ने अवस्था आउन दिनु हुँदैन।' उनले यस्तो सतर्कता जम्मा दुई महिनामात्रै गरे पनि पर्याप्त हुने बताए। असोज र कात्तिकभरि यस्तो सतर्कता देखाउन सके मंसिरदेखि लामखुट्टे सक्रिय नहुने उनले बताए।

सर्वसाधारणले जोगिने उपाय भुल्ने समस्याबारे जानकार सरकारी निकायहरू पनि संक्रमण बढ्दा मात्रै सक्रिय हुने, अरु बेला सुस्ताउने गर्छन्। यसले पनि समस्या एकैचोटि बढाउने गरेको छ। हरेक वर्ष चेतना अभियान चलाउन प्राप्त बजेटले नपुग्ने जनस्वास्थ्यले बताउँदै आएको छ।

अहिले पनि रोग संक्रमण उच्च हुनासाथ आत्तिएका सर्वसाधारणले सतर्कता थालेपछि संक्रमण दर घट्दै जान थालेको छ। 'हामीले घरदैलो अभियान चलाएपछि सर्वसाधारण जागरुक भएका छन्', जनस्वास्थ्यका भेक्टर कन्ट्रोलर अधिकृत बबिन चौलागाईंले भने, 'यसले संक्रमित संख्या दिनैपिच्छे घट्दै जान थालेको छ।' तीन दिनअघि एकै दिन ४१ जनामा संक्रमण फेला परेको जिल्लामा त्यसपछि १३ जनामा भेटियो। त्यस्तै बिहीबार आठजनामा संक्रमण फेला परेको छ। यो सँगै झापामा यसपटक डेंगे पीडितको संख्या एक सय २३ पुगेको छ। स्वास्थ्यकर्मीका अनुसार यो रोगबाट जोगिने उपाय भनेकै सर्वसाधारणले अपनाउनेसतर्कता हो। त्यसमा बेवास्ता गरेर अरु उपाय मात्रै खोज्दा जोखिम बढ्ने निश्चित हुन्छ।

अहिले दमकबासीले प्रभावित क्षेत्रमा खटिएको विशेषज्ञ टोलीलाई फोहोर क्षेत्र देखाउन, जथाभावी फ्याँकिएका टायर हटाउन सघाउन थालेका छन्। इपिडोमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आएको विज्ञ टोली, जनस्वास्थ्य, नगरपालिका तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतको  टोलीले तीन दिनयता दमकका विभिन्न ठाउँमा सफाइ तथा लामखुट्टेको लार्भा मार्ने क्रम जारी राखेका छन्। केही दिनसम्म सरकारी टोलीमात्र सहभागी यो अभियानमा पछिल्लो समय स्थानीयले पनि साथ दिएका छन्।

दुई दिनयता दमक क्षेत्रका होटल र त्यहाँ रहेका सफा पानी जम्न सक्ने धेरै सामग्रीमा सफाइ गरिएको छ। 'तर यस्तो काम स्थानीयले दैनिकजसो गर्नुपर्छ', विज्ञले भने, 'सधैं हामी आउने कुरा हुँदैन।'

डेंगु भाइरस संक्रमित एडिस एजिप्टाई लामखुट्टेले मानिसलाई टोकेपछि यो रोग सर्छ। यो रोगको संक्रमण हुँदा लामखुट्टेले टोकेको पाँचदेखि सात दिनभित्र उच्च ज्वरो र अत्यधिक टाउको दुख्ने समस्या आउने जानकारहरू बताउँछन्।

परीक्षण किट आइपुग्यो

डेंगे परीक्षण गर्ने आठ सय थान किट बिहीबार नेपाल आइपुगेका् छ। स्वास्थ्य मन्त्रालयका अनुसार सरकारसँग भएमध्ये एक हजार पाँच सय किट सकिएपछि अभाव भएको थियो। सरकारले अमेरिकाबाट मगाएको किट आउन ढिलाइ भएपछि भारतबाट किट मगाएको हो। विभिन्न जिल्लामा डेंगेको प्रकोप फैलिँदा परीक्षण गर्ने किट अभावले समस्या भएको छ।

नेपाल आएको कीट मध्ये ४ सय चितवन,  सय दमक र ३ सय केन्द्रमा स्टक राखिने मन्त्रालयले जनाएको छ।

प्रकाशित: १२ कार्तिक २०७३ ०२:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App