८ वैशाख २०८१ शनिबार
राजनीति

काँग्रेसको प्रथम चरणको जागरण अभियान सकियो (फाेटाे फिचर)

डडेल्धुरा– नेपाली काँग्रेसले थालेको पहिलो चरणको जागरण अभियान शनिबार सम्पन्न भएको छ। कांग्रेस डडेल्धुराले गत वैशाख २५ गतेदेखि शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’को पहिलो चरण शनिबार डडेल्धुरा सदरमुकाममा -याली निकाली समीक्षा गर्दै समापन भएको हो।

पहिलो चरणको एक महिने जागरण अभियानका क्रममा काँग्रेसले ७७ जिल्ला संगै डडेल्धुराका सात वटै स्थानीय तहका ५२ वटै वडामा केन्द्रीय प्रतिनिधि खटाएर टोलस्तर सम्म भेला, सदस्यता वितरण, प्रशिक्षण, अभिलेख सङ्कलन, पार्टीका अग्रजको सम्मान, शहीदका घर परिवार सँग भेटघाट र सुझाव सङ्कलन गरेको कांग्रेस डडेल्धुराले जनायो। 

काँग्रेस डडेल्धुराले शनिबार सदरमुकाम बागबजारमा -याली निकाली कोणसभा मार्फत जागरण अभियान समापन भएको घोषणा गरेको छ। पार्टी कार्यालय बाट निकालिएको -याली लाई सदरमुकाम भिमदत्त चोकमा परिणत भएको कोण सभामा बोल्दै सुदूरपश्चिम प्रदेश सांसद तथा जिल्ला कार्यसमिति सभापति कर्णबहादुर मल्लले अभियानमा तिन तहकै वर्तमान सरकारले गरिरहेको बेथिति तथा अनियमिततका विरुद्धमा सचेत गराउन आफूहरुले जागरण अभियान गरेको बताए। स्थानीय स्तरमा जाँदा गरिब, वृद्ध तथा असहायहरु तीन वटै सरकार बाट सन्तुष्ट नरहेको पायौ’, उनले भने,  ‘नेकपाको सरकारले आफ्ना कार्यकर्ता लाई पाल्ने र पोस्ने गरी बजेट विनियोजन गर्ने गरेको उनीहरुको दुखेसो छ।’ 

देशमा भएको हरेक परिवर्तनमा काँग्रेसको कदम रहेको उल्लेख गर्दै उनले अब स्थानीय स्तरबाटै शोषक कम्युनिस्टहरुको समापन गर्ने बताए। जनताले तिरेको करको दुरुपयोग भइरहेको भन्दै त्यसको विरुद्धमा लाग्न आफूहरुले सुझाव पाएको उनले बताए। ‘प्रदेशमा भइरहेको इसाईकरणलाई रोक्न काँगे्रस एकजुट भई लाग्नु पर्ने सुझाव हामीले पाएका छौं’, नेता मल्ल्ले भने, ‘अब कम्न्युस्ट सरकारले गरेका भ्रष्टाचारलाई जनता सामु प्रस्तुत गर्न आगामी दिनहरुमा समेत कडा कदम चाल्ने छौं।’ 

जागरण अभियानमा साथ दिने सबैलाई सम्मानका साथ धन्यवाद दिदै सभापति मल्लले कांग्रेसले थाल्ने दोस्रो जागरण अभियानमा वर्तमान सरकारका काम गराईबाट वितृष्णा भएकाहरु समेत सामेल हुने बताए। कांग्रेसका कार्यकर्ताहरु लाई वर्तमान सरकारको नेतृत्व भएका स्थानीय तहमा कृषि पशुदेखि स्वास्थ्य चौकीमा औषधि समेत नदिएको गुनासो डडेल्धुराका गाउँमा रहेकाले भ्रष्टाचारको चरम सीमा नाघेको उनको भनाई छ। यसका विरुद्ध कांग्रेस संगै पीडित सबैले एकताबद्ध भई लड्नु पर्ने उनले बताए।

धादिङमा ‘बृहत राष्ट्रिय जागरण सभा’ 

यस्तै, काँग्रेस धादिङले पनि पहिलो चरणको जागरण अभियान सम्पन्न गरेको छ। एक महिना अघि गमलामा पानी हालेर नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सुरुवात गरेको अभियान शनिबार एक महिना पूरा भएको अवसरमा धादिङबेसी ‘बृहत राष्ट्रिय जागरण सभा’को आयोजना गरि पहिलो चरणको कार्यक्रम समापन गरिएको छ। 

समापन कार्यक्रमलाई सम्बोधन गर्दै धादिङका लागि केन्द्रीय प्रतिनिधि पौडेलले वर्तमान कम्युनिस्ट सरकारले काँग्रेस सकिएको भनेर हल्ला फिजाए पनि नेपाली काँग्रेसको एजेण्डा र अभियानले नै काँग्रेस बलियो रहेको दावी गरे। गएको निर्वाचनमा गणितिय हिसाबमा पराजित भए पनि नेपाल काँग्रेस शान्ति, विकास र समृद्धिको मुद्धामा कमजोर नबनेको बताए। 

धादिङमा अभियान सफलता पूर्वक सम्पन्न भएको दाबी गर्दै उनले अब टोलटोल, बस्तीबस्ती, स्थानीय तह तथा जिल्ला स्तरमा नेपाली काँग्रेस बलियो हुने बताए। ‘नेपाली काँग्रेस सरकारमा हुँदा परिवर्तनका धेरै काम भए’, उनले भने, ‘दुई तिहाइको बहुमत भएको वर्तमान सरकारले निर्वाचन जितेर पनि जनताको लागि कुनै लोकप्रिय काम गर्न सकेको छैन, यही सकारका पालामा ठूला ठूला भ्रष्टाचार र घोटाला काण्ड मच्चिनु देश बनाउन नचाहेको षड्यन्त्र हो।’ 

नेपाली काँग्रेसकै नेतृत्वमा देशमा शान्ति स्थापना गरि संविधान जारी भएपश्चात भएको निर्वाचनमा दुई कम्युनिस्ट भन्नेहरुको गठबन्धनका कारण गणितिय हिसावमा पराजित भएपनि आफ्नो एजेण्डा र राष्ट्रको सम्वृद्धि अभियानमा बाम गठबन्धन भन्दा काँग्रेस  नै अघि रहेको दावी गरे। अभियानका क्रममा काँग्रेसको नेतृत्वमा मुलुकले हाँसिल गरेका राजनैतिक उपलब्धि एवं समृद्धि, उपलब्धी तथा आगामी बाटोका बारेमा टोलटोल, बस्तीबस्ती, स्थानीय तह तथा जिल्ला स्तरीय रुपमा कार्यक्रम गरिएको उनले बताए। 

निवार्चन पछि नेपाली काँग्रेसका कार्यकर्ताहरुमा उत्साह बढाउन र बर्तमान सरकारको जनविरोधी कामहरुलाई भण्डाफोर गर्नको लागि जागरण अभियान देशैभर संचालन गरिएको छ। धादिङ जिल्लाका १ सय ४ वटै वडामा काँग्रेसको छाया सरकार बनेकाले सरकारका तल्लो तहले गर्ने हरेक क्रियाकलापलाई नेपाली काँग्रेसको सुक्ष्म अध्ययन गरिरहेकाले सचेत भएर काम गर्न नेता पौडेलले चेतावनी दिए।

धादिङबेसीको सिरानबजारबाट सुरु गरिएको ¥याली पुछारबजारमा पुगेर कोण सभामा परिणत भएको थियो। कार्यक्रममा सम्वोधन गर्दै नेपाली काँग्रेस धादिङका नेताहरु दिलमान पाख्रिन, रामनाथ अधिकारी, भीम प्रसाद ढुङ्गाना, विश्व अर्याल, राजन बराइली लगायतका नेताहरुले बर्तमान सरकार काँग्रेसका नेता कार्यकर्ताहरुलाइ झुटो मुद्दा लगाएर फसाउन उद्धत रहेको आरोप लगाए। 

कार्यक्रममा बोल्दै धादिङका काङग्रेसका सभापति रमेश प्रसाद धमलाले पहिलो चरणको जागरण अभियान सफलतापूर्वक सकिएको बताए। नेपाली काङग्रेसले लिएको नीति अनुसार कार्यकर्ताहरु माझ उत्साह भर्न र बर्तमान सरकारको भ्रष्टाचार, घोटाला र जनविरोधी हर्कतहरु गाउँ गाउँसम्म पु¥याउन जागरण अभियान सफल भएको बताए। 

अभियानको दोस्रो चरण भदौ २४ गते (बिपी जयन्ती) दिन प्रारम्भ भई असोज ७ गते समापन हुने भने तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ गते (मेलमिलाप दिवस) समापन हुने काँग्रेसले जनाएको छ। दोस्रो चरणको अभियान केही समयमा सुरु हुने भएकाले नेता कार्यकर्ताहरुलाई तयारी अवस्थामा रहन पनि धमलाले निर्देशन दिए। 

डडेल्धुराबाट पुष्कर भण्डारी/धादिङबाट सरिता श्रेष्ठ

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App