coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

संविधानको पालना तथा नागरिक स्वतन्त्रताको माग गर्दै माइतीघर मण्डलामा खबरदारी

काठमाडाैं– संविधानको पालना तथा नागरिक स्वतन्त्रताको माग गर्दै राजधानीको माइतीघरमण्डलामा खबरदारी गरिएको छ।

मानवअधिकारकर्मी, नागरिक समाज लगायतले शनिबार बिहान माइतीघर मण्डलामा भेला भएर संविधान पालनका लागि खबरदारी गरेका हुन्। लोकतन्त्रका लागि नागरिक खबरदारी अभियानमा सहभागीहरुले नागरिक स्वतन्त्रताको सम्मान, सुशासनको प्रत्याभुति, प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता गर्न, मानवअधिकार आयोग माथिको हस्तक्षेप बन्द गर्न तथा न्यायालयको स्वतन्त्रता कायम गर्न माग गरेका थिए।

अधिवक्ता ओम प्रकाश अर्यालले लोकतन्त्रलाई खुम्चाउने सरकारको कार्यशैलीको विरोधमा खबरदारी गरिएको बताए। लोकतन्त्रलाई खुम्चाउने, संविधान, लोकतन्त्र, स्वतन्त्र न्यायपालिका, मानवअधिकार, प्रेस स्वतन्त्रता र प्राज्ञिक संस्थाहरुको आधारभुत मुल्य मान्यता विरुद्धमा सरकारले विधेयकहरु ल्याउने काम गरेकाले विरोधमा उत्रनुपरेको बताए।

वरिष्ठ पत्रकार हरिहर विरहीले संविधान कार्यान्वयनमा सक्रिय हुनुपर्ने सरकार स्वयम् नै संविधानलाई घेरावन्दीमा पारेर जनताको अधिकारहरु सीमित र नियन्त्रित गर्ने हस्तक्षेपकारी भुमिकामा देखिएको भन्दै तत्काल संविधान विपरितका कार्य बन्द गर्न चेतावनी दिए।

उनले भने 'सरकारबाट संविधानले दिएका अधिकारहरु उपभोग गर्न नपाईरहेको अवस्था मात्रै छैन। संविधानलाई ओभरटेक गरेर, हस्तक्षेप गरेर, ऐन बनाएर, विधेयक ल्याएर, संविधानलाई घेरावन्दीमा पारेर जनताको अधिकारहरु सीमित र नियन्त्रित गर्ने, हस्तक्षेप गर्ने काम भएको छ। यसलाई बन्द गरियोस्।'

खबरदारी अभियानमा सहभागी चिकित्सक डाक्टर गोविन्द केसी, मानवअधिकारकर्मी चरण प्रसाई र  डाक्टर बिमला शाक्यले लोकतन्त्रका आधारभुत मुल्य र मान्यतालाई विर्सेर अधिनायवादी शैलीमा सरकार हिडेको आरोप लगाए।

मानवअधिकार आयोग सम्बन्धी विधेयक, मिडिया काउन्सिल विधेयक लगायतका विधेयकहरु सरकारले संविधान विपरित ल्याउने काम गरेको भन्दै अधिकारकर्मी, संचारकर्मी तथा नागरिक समाजले विरोध गर्दे आएका छन्।

प्रकाशित: २५ जेष्ठ २०७६ १०:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App