coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

उपत्यकाका तीन ठाउँमा यातायात कार्यालय खुल्दै

काठमाडौं- यातायात व्यवस्था विभागमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन सेवाग्राहीको चाप अत्यधिक बढेपछि काठमाडौं उपत्यकामा थप तीन यातायात कार्यालय खुल्ने भएको छ। सवारीचालक अनुमति पत्र कार्यालय बागमतीमा घन्टौं लाइनमा बस्दा पनि सेवाग्राहीले आवश्यक सेवासुविधा नपाएको भन्दै सरकारलेे तत्कालै तीनवटा कार्यालय थप्न भदौ ६ गते निर्देशन दिएको थियो। सरकारले निर्देशन दिएको ३५ दिनपछि कार्यालय खोल्ने ठाउँको टुंगो विभागले लगाएको छ।

भक्तपुरको सूर्यविनायक, काठमाडौंको चाबहिल र कलंकीमा राखिने कार्यालयबाट सवारीचालक अनुमतिपत्र जारी गरिने विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले जानकारी दिए। 'अहिले कार्यालय राख्ने ठाउँमात्रै टुंगो लागेको छ,' उनले भने, 'कार्यालय राख्न भवन खोजिरहेका छौं।'

विभागले कार्यालय सञ्चालन गर्न आवश्यक भवन भाडामा लिन सूर्यविनायक, चाबहिल र कलंकी क्षेत्रमा सार्वजनिक सूचना जारी गरिसकेको छ। 'असोज ६ गतेको मन्त्रिपरिषदको बैठकबाट तीन ठाउँमा कार्यालय खोल्ने निर्णय भइसकेको छ,' महानिर्देशक श्रेष्ठले भने, 'अर्थ र सामान्य प्रशासन मन्त्रालयसँग बजेट र कर्मचारीको दरबन्दी माग गरेका छौं।' हरेक कार्यालयमा उपसचिवको नेतृत्वमा २६ जना कर्मचारी रहनेछन्।

'तीन वटै कार्यालयबाट स्मार्ट सवारीचालक अनुमतिपत्र जारी गरिनेछ,' उनले भने, 'तीनवटै कार्यालय सञ्चालनमा आएपछि सेवाग्राहीले अहिलेभन्दा छिटो र सहज सेवा पाउनेछन्।' उनका अनुसार विभाग ट्रायल गर्ने ठाउँको खोजीमा जुटेको छ।

नयाँ कार्यालय पुस १ बाट सञ्चालनमा आउने श्रेष्ठले दाबी गरे। 'घरभाडाको टेन्डर सुरु भएको छ,' उनले भने, 'घर पाएपछि जिल्ला प्राविधिक कार्यालय र जिल्ला प्रशासनले इस्टमेट जाँच गरेपछि मात्रै कार्यालय सञ्चालनमा आउनेछन्।' विभाग दुईपांग्रे र चारपांग्रे सवारीको ट्रायल गर्न मातातीर्थ, नेसनल टे्रेडिङ सेन्टर सिंहदरबार, विभागकै कार्यालय र निजी कम्पनीका ट्रायल सेन्टर भाडामा लिएर भए पनि सञ्चालन गर्ने तयारीमा जुटेको उनले बताए।

आव २०४६/०४७ देखि आव २०७२/०७३ सम्म यातायात व्यवस्था कार्यालय बागमतीमा दर्ता भएको सवारीसाधनको संख्या ९ लाख २२ हजार ९ सय छ। दर्ता सवारीसाधनमध्ये मोटरसाइकल ७ लाख २२ लाख ७ सय २२, बस १० हजार ३ सय ७९ र मिनिबस ९ हजार ८ सय ३५, तथा ट्रक र मिनिट्रक १८ हजार ९ सय २८ छन्।

त्यसैगरी क्रेन डोजर ६ हजार ५ सय ३५, कार/जिप/भ्यान १ लाख २५ हजार ४ सय ३९, पिकअप १७ हजार १ सय ७०, माइक्रोबस २ हजार १ सय २३, टेम्पो २ हजार ५ सय २८, ट्र्याक्टर/पावर ट्रेलर २ हजार ९ सय ८ दर्ता छन्। एम्बुलेन्स ५ सय ४७, कूटनीतिक नियोगका सवारीसाधन ३ हजार ७ सय ८५ दर्ता छन्। यातायात व्यवस्था कार्यालय बागमतीले आव २०७०/०७१ सम्म ७ लाख ५५ हजार ९२ जनालाई सवारीचालक अनुमतिपत्र जारी गरेको विभागले जनाएको छ।

प्रकाशित: १२ कार्तिक २०७३ ०२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App