बौद्ध दर्शन

बुद्धका आँखामा छोरा र छोरी

शनिबार, २५ जेठ २०७६, १० : १५ नागरिक

बसन्त महर्जन
लैंगिक विभेदबाट समाज आक्रान्त छ। चेतना अभावमा यस्तो भएको हो। पढेलेखेका र जान्नेबुझ्ने वर्गका रूपमा पहिचान बनाएकाबाटै पनि विभेद भइरहेको तथ्यले मान्छे शिक्षित हुनु र चेतनशील हुनुमा फरक भएको दर्साउँछ। लैंगिक सवालमा शिक्षित वर्गमाथि यो आक्षेप मात्रै होइन किनभने नीतिनिर्मातामध्ये व्यक्तिगत रूपमा कसले कति विभेद कसरी गरिरहेको छ भन्ने सार्वजनिक नभए पनि उनीहरूबाट गरिने नीतिनिर्माण तथा फैसला लगायतका कुरा दस्तावेजका रूपमा सुरक्षित छन्।

संविधानमा लैंगिक समानतालाई मौलिक हकका रूपमा राखिए पनि कार्यान्वयनमा उदासिनता यसको ज्वलन्त उदाहरण हो। कुरा चपाएर बोल्ने अर्को पक्ष त छँदैछ।
बुद्ध र बौद्ध विषयवस्तुको अध्ययनमा लागेको हुँदा यस लेखकसँग लैंगिक विभेदका सवालमा बरोबर सोधनी हुने गर्दछ। ‘बुद्ध र महिला’ शीर्षकको एउटा पुस्तक नै प्रकाशित भइसकेको भएर पनि हुन सक्छ, यस विषय प्रसंगमा प्रश्न गर्न लेखकलाई उपयुक्त पात्रका रूपमा लिएको। यस सवालमा छलफल गर्नमा यो लेखक रुचि राख्छन् पनि।

अतीतमा लैंगिक विभेद थिएन, अहिले मात्रै यो समस्या आएको भनी चल्तीको भाषा बोलेर समस्या समाधान हुँदैन। लैंगिक विभेद बुद्धकै बेलामा पनि चर्को थियो। महिलाका सवालमा वेदमा के कस्तो व्यवस्था थियो भन्ने सन्दर्भ चर्चाको अर्कै सन्दर्भ हुन्छ तर कतिपय ऋचाहरू लैंगिक दृष्टिले भेदभावपूर्ण र अमर्यादित भएको कुरालाई नकार्न सकिन्न। यस अवस्थामा वेदमा आधारित भनिएको वैदिक समाजदेखि नै महिलामाथि विभेद देखिनु नौलो कुरा भएन। वैदिक कालपछि उपनिषद्, स्मृति, पुराण लगायतका सन्दर्भमा महिलाप्रति अचाक्ली नै असहिष्णुता बढेकामा अब ढाकछोप गर्न नसकिने भइसकेको छ। यो असहिष्णुतालाई सामाजिक विकृतिका रूपमा लिन सकिन्छ। यो विकृति बुद्धभन्दा निकै अघि नै मौलाइसकेको थियो र त्यही सामाजिक पृष्ठभूमिमा बुद्धलाई काम गर्नु परेको थियो।

महावीरले महिलालाई भिक्षुणी बनाएर संभवतः पहिलो पल्ट क्रान्तिकारी पाइला चाले। तर उनको संघमा भिक्षुणीको उपस्थितिले विकृति आएको र कलह बढेको कुराबाट बुद्ध अनभिज्ञ थिएनन्। यसैले पनि हुनसक्छ, बुद्ध भिक्षुणी संघ बनाउन  सुरुमा हच्किएका थिए।

बुद्ध आफै पनि लैंगिकमैत्री थिएनन्। आफैले पनि छोराछोरीमा विभेद गरेको भन्ने आक्षेप वा मन्तव्य राख्ने चिन्तक, लेखक तथा प्रवचकहरू पाइन्छन्। यस्तो दृष्टिकोण राख्ने प्रायः धेरैले उल्लेख गर्ने प्रसङ्ग हो, महिलालाई भिक्षुणी बनाउने कुरामा बुद्ध सुरुमा इच्छुक थिएनन्। बुद्ध र बौद्ध धर्मका नाममा घरबार छाडेर प्रवजित भई परिव्राजक जीवन बिताउनेलाई भिक्षु भनिन्छ। धर्म अभ्यासका लागि यही जीवनशैली उत्तम रहेको मान्यता छ। गौतम बुद्धलाई वैशाख पूर्णिमा (इ.पू. ५६३) का दिन बोधिलाभ भएको थियो भने असार पूर्णिमाका दिनमा मात्र धर्म प्रवचन दिएर औपचारिक रूपमा धर्मचक्र प्रवत्र्तन गरेका थिए। सारनाथमा पाँच पुरुषसमक्ष धर्म प्रवचन गरेका थिए भने ती पाँचै जनाले धर्मबोध गरी भिक्षु बनेका थिए। इतिहासमा यो घटना उल्लेखनीय छ। त्यसपछिका दिनहरूमा बुद्धले महिलापुरुष सबैलाई बिनाभेदभाव धर्मको उपदेश दिँदै हिँडे। अनुयायीहरूको संख्या दिन दुई गुना र रात चौगुनाका दरले वृद्धि भइरहेको थियो। पिता शुद्धोदनको देहावसान हुँदा बुद्ध कपिलवस्तुमै थिए।
लोग्नेको मृत्युपछि माता प्रजापति गौतमीले आफूमा पनि वैराग उत्पन्न भएको र अब भिक्षुणी बनाई पाऊँ भन्ने याचना गरेकी थिइन्। त्यति बेलासम्म भिक्षु संघ मात्रै बनेको थियो, भिक्षुणी बनाइमाग्ने काम कसैबाट भएको थिएन।

प्रजापतिको मागलाई अस्वीकार गरेर बुद्ध वैशाली फर्के। बौद्ध साहित्यअनुसार प्रजापति पनि चुप लागेर बसिनन्, कपिलवस्तुका अन्य पाँच सय महिलालाई पछि लगाएर भिक्षुणी बनाइमाग्न वैशालीसम्मै पुगिन्। सबै महिला सेतो लुगा लगाएर खाली खुट्टा हिँडेका थिए अर्थात् परिव्राजिका जीवन बिताउने यो प्रारम्भिक चरण हो। त्यही बेला भिक्षु आनन्दबाट बुद्धसँग सोधनी भयो, ‘‘भन्ते, तथागत (बुद्धलाई सम्बोधन गर्ने अर्को शब्द) को धर्ममा महिलाहरूले पनि श्रोतापति फल, सकृदागामी फल, अनागामी फल र अर्हत फल (ज्ञानका स्तरहरू) को साक्षात्कार गर्न सक्छन् ?’’ बुद्धकै समकालीन महावीर (जैन) को पन्थमा महिलाले कैवल्य प्राप्त गर्न नसकिने मान्यता थियो। बुद्धले तत्कालै महिला पुरुष दुवै समान रूपमा धर्मलाभी हुन सक्ने जवाफ दिए। भिक्षु आनन्दले उसो भए प्रजापति र उनका साथीहरूलाई किन भिक्षुणी नबनाएको त भनी प्रश्न मात्रै गरेनन्, भिक्षुणी परम्पराको पनि सुरु गर्न दबाब पनि दिए। र, भिक्षुणी संघको स्थापना भयो पनि।  

निर्गन्थनाथपुत्र पनि भनिने महावीरले तत्कालीन समाजको मूल्यमान्यता विपरीत महिलालाई भिक्षुणी बनाएर संभवतः पहिलोपल्ट क्रान्तिकारी पाइला चाले। तर महावीरको संघमा भिक्षुणीको उपस्थितिले विकृति आएको र कलह बढेको कुराबाट बुद्ध अनभिज्ञ थिएनन्। सायद यही कुराले पनि हुनसक्छ, बुद्ध भिक्षुणी संघ बनाउनमा सुरुमा हच्किएका थिए। भविष्यमा आउन सक्ने समस्यालाई निराकरण गर्न बुद्धले भिक्षुणीहरूले पालना गर्नै पर्ने अतिरिक्त नियमहरू राखे जसलाई ‘अष्टगरु धर्म’ अर्थात् अति कठिक नियमहरू भनिन्छ। यही नियमलाई बुद्धको विभेदकारी दृष्टिकोणका रूपमा व्याख्या गर्नेहरू पनि छन्। भिक्षुभन्दा उच्च आसनमा भिक्षुणी बस्न नपाइने, हिजै मात्र प्रवज्या लिएर भिक्षु बनेको किन नहोस्, पहिल्यैदेखि भिक्षुणी बनेकाले वन्दना गर्नु पर्ने आदि नियम थियो। संघमा जन्मका आधारमा नभएर प्रवज्याको आधारमा वर्ष गणना गरिन्छ। झट्ट हेर्दा यो विभेदकारी नै हो। तर यसैलाई गौण रूपमा हेर्दा विभेदकारी रूप नभएर एक संघले अर्को संघलाई आदर गरेको देखिन्छ। भिक्षुणी संघ पछि मात्रै बनेको हो र जेठो भिक्षु संघलाई वन्दना गरेको मान्यता यो लेखकको छ। उपासक उपासिकाका लागि त भिक्षु र भिक्षुणी दुवै बराबर हुन्। दुवैैले आआफ्नो क्षमताअनुसार श्रावक बोधि प्राप्त गरी ‘श्रावक बुद्ध’ हुन सक्छन् जसलाई सामान्य भाषामा ‘अर्हत्’ भनिन्छ। सारिपुत्र, मौद्गाल्यायन, महाकश्यकजस्ता हजारौं भिक्षुहरूकै दाँजोमै महाप्रजापति, यशोधरा लगायत हजारौं भिक्षुणीहरू श्रावक बुद्ध, अर्थात् अर्हत् भएका थिए। आधुनिक सन्दर्भमा नै भन्ने हो भने पनि बौद्ध धर्मको सिद्ध परम्पराअनुसार ८४ सिद्ध व्यक्तित्वहरूको नाम लिइन्छ र ती सबै पुरुष मात्रै थिएनन्, लक्ष्मीकराजस्ता महिला पनि थिए। लक्ष्मीकराको सम्प्रदायले अझै पनि निरन्तरता पाइरहेको देखिन्छ।

भिक्षुले २२७ र भिक्षुणीले ३११ वटा नियम पालना गर्नु पर्ने पनि विभेद नै भएको मान्यता राख्नेहरू पनि छन्। तर नियमहरूको अध्ययन गर्दा ती कतिपय प्रकृतिजन्य रहेको पाइन्छ। महिला र पुरुषमा प्रकृतिजन्य विभेद रहेछ भने त्यसको दोष बुद्धलाई दिन मिल्दैन।

छोरा र छोरीमा विभेद गर्नुपर्छ भन्ने शिक्षा बुद्धबाट व्यक्त भएको पाइँदैन। तत्कालीन कोशल नरेश प्रसेनजित विहारमा बुद्धको उपदेश सुनिरहेका बखत एक सन्देशवाहक राजकर्मचारीबाट सन्देश प्राप्त भयो र नरेशको मुख अमिलो हुन थाल्यो। बुद्धले यसको कारण सोध्दा दरबारमा रानी मल्लिकादेवीले छोरी पाएको खबर सुनेर नरमाइलो भएको बताए। त्यस बेला बुद्धबाट व्यक्त भएको मन्तव्य मननयोग्य छ। बुद्धले भनेका थिए– ‘‘छोरी जन्मेको कुराले यति धेरै चिन्तित किन बनेको ? छोरी पनि त सन्तान नै हुन्। कुनै पुरुष जसरी स्त्रीभन्दा श्रेष्ठ हुन्छन् त्यसरी नै स्त्री पनि पुरुषभन्दा श्रेष्ठ हुन सक्छन्। यहाँ पुरुष र स्त्री दुवै चाहिन्छ। योग्य शासक जन्माउने पनि त आखिर महिला नै त हुन्।’’

विभिन्न प्रसंगमा पतिप्रति पत्नीको कर्तव्यबारे मात्रै उल्लेख भएको पाइँदैन, साथै पत्नीप्रति पतिको कर्तव्यको पनि उल्लेख पाइन्छ। यसरी नै छोरा र बुहारीमा विभेद नदेख्नु आदि प्रसङ्ग वर्तमान समाजले अनुकरण गर्नयोग्य कुरा हो।

बौद्ध मान्यताअनुसार सबै सत्व (प्राणी) एउटै हुन्। मानिस जसरी नै ठूलासाना सबै जीव र देव योनिमा जन्मेका र प्रेत योनिमा पुगेकाहरूलाई सत्वकै रूपमा लिइएको छ र कर्मभोगपछि विभिन्न योनिमा जन्मलिनु पर्दछ, कर्मसिद्धान्तअनुसार। एक पुरुष सधँै पुरुष मात्रै भइरहँदैन, महिला पनि हुन्छन् र महिला पनि कुनै बेला पुरुष हुन्छन्। यसअनुसार महिला र पुरुषमा कुनै विभेद देख्नु अविद्या मात्रै हो।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

आइफोनमा iOS १३  कसरी इन्स्टल गर्ने ?

आइफोनमा iOS १३ कसरी इन्स्टल गर्ने ?

आजबाट एप्पलले आइफोनका लागि iOS १३ को सार्वजनिक बेटा उपलब्ध गराउने भएको छ ...

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गउँमा...

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंक लिमिटेडले धनगढीको सीपी हस्पिटल प्रा.लि.सँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । ...

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा रौतहटको गरुडामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नु...

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

दक्षिण एसियामा ओपो रेनो १०एक्स सिरिज सार्वजनिकसँगै नेपालमा असार १५ बाट उपलब्ध हुने भएको छ । ...

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक अभियान यही असार ९ देखि १५ सम्म हुने भएको छ । ...

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

नेपालका लागि ह्वावे स्मार्टफोनको अधिकृत वितरकले आफ्ना स्मार्टफोन र ट्याब्लेटमा गुगल एप तथा फेसबुक नचलेमा ग्राहकलाई पूरै पैसा फिर्ता गरिने...

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी टेडिङले औपचारिक रूपमा नयाँ टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ...