coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

म्याद तामेलीमा असहयोग नगरेको जबाफ

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको मुद्दाको म्याद तामेलीक्रममा सर्वोच्च अदालतलाई असहयोग गरेको आरोप लागेका कर्मचारीले त्यस्तो कुनै काम नगरेको जिकिर गर्दै अदालतमा लिखित जवाफ पेस गरेका छन्।

काठमाडौं महानगरपालिका–१० नम्बर वडासचिव सरिता राई, सुब्बा भेषराज अर्याल र सर्वोच्च अदालतका तामेलदार शम्भु खत्रीले लिखित जवाफ पेस गरेका हुन्।

कार्कीको घर बानेश्वर हाइटमा म्याद टाँस्ने क्रममा असहयोग गरेको भन्दै सर्वोच्च अदालतले कात्तिक ३ मा अदालती बन्दोबस्तीको १११ नम्बरबमोजिम एक हजार जरिवाना र १५ दिन कैद किन नगर्ने? भन्दै सात दिनभित्र अदालतमा आफंै उपस्थित भई लिखित जवाफ पेस गर्न उनीहरूलाई आदेश दिएको थियो।

म्याद तामेलीमा जानीजानी कुनै असहयोग र अवरोध नगरेकाले कारबाही गर्न नहुने जिकिर गर्दै उनीहरूले मंगलबार लिखित जवाफ पेस गरेका हुन्।

राईले म्याद तामेल गर्न जाने दिन आफूलाई तालिममा भाग लिनुपरेकाले कार्यालयमा उपस्थित हुन नपाएको उल्लेख गरेकी छिन्। उनले लिखित जवाफमा 'नमुना वडा तालिममा सहभागी भएको तथा पतिको उपचारमा संलग्न हुन भैपरी बिदा बसेको अवस्थामा यस्तो सजायको प्रस्ताव पेस मेरो हकमा लागू हुन सक्दैन।' उनले आफूबाट अन्जानमा बाधाअवरोध पुगेको भए अदालतसमक्ष माफीसमेत मागेकी छिन्। उनले आदेश बदर गरी न्यायको माग गरेकी छिन्।

अर्यालले वडासचिव राई कार्यालयमा नहुँदा आफ्नो पदीय जिम्मेवारीले नदिएका कारण म्याद तामेली गर्न नसकेको स्पष्ट पारेका छन्। अर्यालले लिखित जवाफमा 'प्रशासकीय प्रमुख (वडासचिव) सरिता राईलाई म्याद तामेलीबारे जानकारी गराउन मोबाइलमा सम्पर्क गरेको थिएँ। सम्पर्क हुन नसकेपछि मेरो पदीय जिम्मेवारीबारे तामेलदारलाई मैले बताएको थिएँ।'

म्याद तामेलीका लागि सर्वोच्चको टोली कार्कीको बानेश्वर हाइटस्थित निवास पुगेको थियो। तामेलदार खत्री नेतृत्वको टोलीसँगै सबै कागजपत्र थियो। पहिलो दिन म्याद बुझाउन गएको टोली काठमाडौं–१० वडा सचिव राई कार्यालयमा उपस्थित नभएको कारण देखाउँदै कार्की निवासमा सूचना नटाँसी फर्किएको थियो।

स्थायी ठेगानामा म्याद टाँस गरी मुचुल्का उठाउन सम्बन्धित क्षेत्रको वडासचिवलाई रोहवर राख्नुपर्ने कानुनी व्यवस्था भए पनि सचिव राई नआएपछि सर्वोच्च टोली त्यत्तिकै फर्किएको थियो।

सर्वोच्च अदालतले तामेलदार खत्रीलाई सुरुमा असोज १९ मा कार्कीको घरमा म्याद तामेलका लागि पठाएको थियो। म्याद टाँस्न जाँदा सर्वोच्च प्रशासनको सम्पर्कमा रहेका उनी एक्कासि सम्पर्कविहीन भएका थिए। त्यसपछि सर्वोच्च अदालतले उनलाई सात दिनभित्र लिखित जवाफसहित हाजिर हुन आदेश दिएको थियो।

खत्रीले सर्वोच्चमा पेस गरेको लिखित जवाफमा वडासचिव कार्यालयमा नभेटिएकाले, कार्यालय बिदा हुने दिन नजिक भएकाले आफूले म्याद बुझाउन नसकेको स्पष्ट गरेका छन्। उनले जबाफपत्रमा लेखेका छन्, 'वडा कार्यालयको सहयोगबिना घरमा म्याद तामेल गर्न नमिल्ने कानुनी व्यवस्था छ। मैले कुनै बदनियत राखी म्याद तामेल नगरेको होइन। म्यादवाला घरमा नबस्ने भनी वडा कार्यालयले जानकारी गराएकाले प्रतिवेदन पेस गरेको हो।' 

प्रकाशित: १२ कार्तिक २०७३ ०२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App