७ वैशाख २०८१ शुक्रबार
अन्य

मुर्झाएको मञ्चन

तस्बिर: निर्मल शर्मा

धिरज राई

नाटक जीवनसँग जोडिएको हुन्छ। समाजसँग जोडिएको हुन्छ। नाटकले फेर्ने प्रत्येक श्वासमा देश बाँचेको हुन्छ। नाटक मनोरञ्जनको माध्यम मात्र नभएर समाजको चेतनास्तर र सिर्जनात्मक वैचारिक परिकल्पना पनि हो। नाटकले मृत सहरलाई सास भरिदिने हैसियत राख्छ। राष्ट्रिय महत्वको यस विषयमा राज्य र समाज गम्भीर तथा सचेत हुनु समृद्धिको बाटो हो।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले महानगरपालिका हुने मापदण्डका लागि नाचघर तथा सिर्जना ग्यालरी भएको हुनु  पर्ने मापदण्ड तोकेको छ। यसले नाटकघर पनि समेट्छ। हाम्रो संविधान ०७२ मा राष्ट्रिय सम्पदाका रूपमा रहेका कला, साहित्य र संगीतको विकासमा जोड दिने भनेर लेखिएको छ। यसबाट राज्यले नाटकको महत्व बुझेको छ भन्ने देखिन्छ। राष्ट्रको संस्कृति, सांस्कृतिक सम्पदा, पहिचान तथा इतिहास बोक्ने कला–साहित्य अभिन्न अंग हुन्। 

विराटनगरमा नाटकको कुरा गर्दा, २००७ सालताका नाटक मण्डलीबाट हिन्दीमा नाटक मञ्चन हुने गरेको पाइन्छ। त्यसबेला कुमारबहादुर श्रेष्ठ, लक्ष्मीराजभक्त नेपाली, कालिका गुप्ता, धनबहादुर डंगोल, भोला श्रेष्ठ आदि रंगमञ्चमा सक्रिय थिए भन्ने कृष्ण शाह यात्रीको पुस्तक ‘नेपालको रङ्गमञ्च ः विगत र आगत’मा लेखिएको छ। 

विराटनगरको इतिहाससँगै नाटकको सम्बन्ध देखिन्छ। ‘नाटक मञ्चनको मिति नजिकिँदै गर्दा कलाकारका घरबाट तन्ना तथा सारी हराउँदै जान्थे’, तीसको दशकदेखि नाटकमा सक्रिय आरोहण विराटनगरका वर्तमान अध्यक्ष भैरव क्षेत्री पुराना दिन सम्झिन्छन्। तिनताका हालको सहिद रङ्गशाला छेउ खाली जमीन, आदर्श विद्यालयको प्रांगण तथा तथा मिलन चौक (पटुवाबारी) मा खाट राखी तन्ना, सारी बेरेर नाटक मञ्चन गरिन्थ्यो। पछि बालमन्दिरको हलमा दिपक आलोकको नेतृत्वमा नाटक मञ्चन हुन थाल्यो। एलिट क्लबको हल, हिमालय सिनेमा हल हुँदै वीरेन्द्र सभागृहकोे स्टेज टेक्यो नाटकले। सँगसँगै विकासे सडक नाटक पनि भइरहन्थे।

हिमकला मन्दिर, दियालो परिवार, आदर्श बालकला निकेतन, मिलन कला केन्द्र, भानु मोरङ सांस्कृतिक समिति, युवा विद्यार्थी सांस्कृतिक समिति लगायतका संस्था नाटक तथा सांस्कृतिक कार्यक्रम गर्न अग्रसर थिए। २०३८ वसन्त पञ्चमीका दिन विराटनगरका क्रियाशील युवा रंगकर्मीहरू मिलेर विराटनगरमै आरोहणको उदय भएको इतिहास सम्झिन्छन् रंगकर्मी सम्झिन्छन् क्षेत्री। त्यतिबेला माधव सापकोटा, चतुर्भुज आशावादी, अभि सुवेदी, माया पौडेल, बद्री अधिकारी, सुनील पोखरेल, वसन्त भट्ट, देशभक्त खनाल, महेश तुलाधर, लक्ष्मण पुण्य लामिछाने, रमेश बुढाथोकी, मुकुन्द श्रेष्ठ, विशाल पोखरेल, चाँदनी प्रधान, तारा प्रधान, बलराम थापा, शिला श्रेष्ठ, मुन्नी राय, मनोज खरेल, कैलाश ढकाल, कमल तामाङ, मनोरमा खनाल, जीवन कुँइकेल, इन्द्र परियार, मोहन निरौला, केके आशिक, आरपी निरौला, मीना कर्ण, प्रमिला उप्रेती, रामकुमार प्याकुरेल, शारदा बस्नेत, रामप्रसाद न्यौपाने लगायत सक्रिय थिए।

स्तरीयता र गम्भीर विषयको अभाव खट्किएको कुरा आत्मसात् गर्नैपर्छ र मेहनत एवं लगनशीलता देखाउनै पर्छ। नाटक मञ्चनको समय एकाध घण्टा होला, तर नाटकचाहिँ जीवन्त हुनुपर्छ। नाटकले जीवन बोल्नुपर्छ। विराटनगरको माटो बोल्नुपर्छ।

पछि विसं ०६६ असोज २५ गते आरोहण गुरुकुल विराटनगरमा सुशीला कोइराला नाटकघर उद्घाटन गरियो। कला–साहित्य–संस्कृतिका क्षेत्रमा अत्यन्तै महत्वपुर्ण र ऐतिहासिक पल थियो त्यो। सांस्कृतिक धरोहरका रूपमा उभिएको नाटकघर विराटनगरको गौरव हो।

‘मरुभूमिमा खेती गर्नसक्ने मान्छे नै महान् हुन्छ। सुनील भाइ, तपाईको बहादुरीले नेपाली नाटक आज अन्तर्राष्ट्रिय स्तरसम्म पुगेको छ। विराटनगरमा गुरुकुल स्थापना गरेर अर्को बहादुरी देखाउनुस्। यो निश्चय नै मुर्दा सहर हो तर यहाँका मानिसहरू अझै मरिसकेका छैनन्। तपाई होस्टे गर्नुस् हामी हैंसे गर्छौं’, माधव दाइका यस्ता कुराले हाम्रो मन छोयो र विराटनगरमै खोल्ने निर्णय गरियो’, नेपथ्य रंगपत्रिकामा वसन्तप्रसाद भट्टले आरोहणले विराटनगरमा शाखा खोल्ने गरेको निर्णय सम्झिएका छन्। वरिष्ठ कलाकार माधव सापकोटाले उतिखेरै मुर्दा देखेका विराटनगरमा नाटकघर सञ्चालन गर्नु अवसरभन्दा ज्यादा चुनौती थियो। मृत सहरलाई ब्यूँताउने सपना देखेर गरिएको त्यो सांस्कृतिक प्रयास सराहनिय छ।

आरोहणका अध्यक्ष सुनील पोखरेलले पत्रिकामा भनेका छन्, ‘महिलाका तर्फबाट पूर्वाञ्चलमा पहिलोपटक आफ्नै निर्देशन र अभिनयमा सुशीला कोइरालाले बालकृष्ण समको ‘म’ नाटक मञ्चन एवम् निर्देशन गर्नुभएको हो। सोही कारण उहाँको नाममा विराटनगरको हाम्रो नाटकघरको न्वारन गरिएको हो।’ नाट्यकलाकार, नृत्यांगना तथा नाटक निर्देशक सुशीला कोइरालाको नाममा नाटकघर स्थापना हुनु इतिहासको सम्मान मात्रै नभएर विराटनगरवासीलाई अपनत्वबोध गराउनु पनि हो। साथै, नाटकघरको उद्घाटन उनकै समकालीन कथाकार देवकुमारी थापाबाट हुनुले पनि विशिष्ट महत्व राखेको छ।

विराटनगरमा आरोहण गुरुकुल स्थापनापश्चात् आफ्नै ब्यानर/उत्पादनमा डेढ दर्जन बढी नाटक मञ्चन भएका छन्। साथै स्थानीय संस्थाहरू विराट मैथिल नाट्य कला परिषद्, विराट आदर्श साहित्य समाज, हामी युवा, सांस्कृतिक संघ लगायत काठमाडौंका विभिन्न संस्था तथा नाटकघरले समयसमयमा नाटक मञ्चन गरेका छन्। संख्यात्मक रूपमा हेर्दा नाटक मञ्चन कम भएकै हो र केही अपवादबाहेक आँकलन अनुरूप दर्शक नपाएको पनि सत्य हो। यसले गुरुकुल र अन्य नाटकसँग सम्बन्धित संघसंस्था तथा विराटनगरका सम्पूर्ण रंगकर्मीमाथि प्रश्नचिह्न खडा गरेको मात्र छैन, भविष्यप्रति चुनौत पनि थपिदिएको छ।

उबेलै सापकोटाले भने जसरी मुर्दा सहर लम्पसार छ एकातिर भने अर्कोतिर आवश्यकता र औचित्यबमोजिमको गम्भीरता देखाई राज्यले लगानी नगरेको तीतो यथार्थ आत्मसात गरेर नाटक गर्नु पक्कै सहज हुन्न। रंगकर्ममै लागेर जीविकोपार्जन गर्नसक्ने अवस्था सिर्जना भइसकेको छैन। खाली पेट र रित्तो गोजीले रंग क्षेत्र मलिलो हुन सक्दैन। आफ्नो पेशा÷व्यवसायको व्यस्त समयको केही हिस्सा चोरेर नाटक गर्न बाध्य छन् कलाकार। वर्षौँ नाटकमै लागेर पनि आवश्यकता बमोजिम भरपूर ज्ञान हासिल गर्न सकेका छैनन्। सिक्ने÷सिकाउने उचित व्यवस्था पाउन सकेका छैनन्। सर्वस्व छाडेर फोकटमा कोही किन नाटक गरोस् !

आरोहण गुरुकुलका व्यवस्थापक दिपेश भण्डारी कलाकारहरूको भविष्यप्रति गम्भीर देखिन्छन्। संस्था र राज्य जिम्मेवार भई चासो देखाउनु पर्ने उनको बुझाइ छ। ‘गुरुकुल (गुरु–शिष्य) प्रणालीमा कलाकारहरू आवासिय रूपमा राखी सामान्य छात्रवृत्तिमा सिकाउने र निरन्तर नाटक मञ्चन गर्ने तयारी गर्दैर्छौँ। त्यसका लागि राज्यको सहयोग अपरिहार्य हुन्छ। महानगरपालिका र प्रदेश सरकारले सहयोग गर्दै आइरहेका छन्, यसमा पनि सहयोग हुनेछ भन्ने विश्वास छ’, उनले योजना सुनाए।

भविष्यमा गुरुकुललाई नाटकसम्बन्धी शैक्षिक संस्थाका रूपमा विकास गर्ने योजना छ।  योजना अनुरूप हुने हो भने विराटनगरले नाट्यक्षेत्रमा छलाङ मार्न सक्ने छ। नाट्यक्षेत्रको विकासका लागि कोसेढुंगा साबित हुन सक्नेछ।  
यतिबेला रङ्गकर्मीहरू पनि जिम्मेवारीपूर्वक गम्भीर हुनुपर्ने अवस्था आइसकेको छ। कुनै पनि माध्यम प्रयोग गरी बढीभन्दा बढी सिक्नु जरुरी छ। स्तरीयता, प्रविधि र प्रयोगमा विशेष ध्यान दिनुपर्छ। अझै पुरातन जोकर र रोनाधोना शैलीले दर्शक तान्न सकिँदैन। नाटक हेर्न दर्शक नआउनुमा आफ्नै त दोष छैन ? चिन्तन गर्नु आवश्यक छ। हामीले आफ्नो धरातल थाहा पाउनु जरुरी छ।

आजका नागरिक देशविदेश घुमेर नाटक हेर्ने सामथ्र्य राख्छन्। स्कुले विद्यार्थीलाई केन्द्रित गरेर पाठ्यक्रममा समावेश कथा, उपन्यास, नाटक र काव्यलाई मञ्चन गरेर मात्रै हुँदैन नत्र यो पनि विकासे नाटकभन्दा फरक हुने छैन। स्तरीयता र गम्भीर विषयको अभाव खट्किएको कुरा आत्मसात् गर्नैपर्छ र मेहनत एवं लगनशीलता देखाउनै पर्छ। नाटक मञ्चनको समय एकाध घण्टा होला, तर नाटकचाहिँ जीवन्त हुनुपर्छ। नाटकले जीवन बोल्नुपर्छ। समाज बोल्नुपर्छ। विराटनगरको माटो बोल्नुपर्छ। दर्शकलाई हेर्न आइरहन बाध्य पार्न सक्नुपर्छ। नशा लगाइदिन सक्नुपर्छ।

विश्वका विभिन्न स्थानमा भइरहेका कला साहित्यका अनेकौँ गतिविधिमा प्रत्यक्ष/अप्रत्यक्ष  सहभागी भई गहन रूपमा नियालिरहेका अन्तर्राष्ट्रिय रूपमा परिचित कवि तथा नाटककार सुमन पोखरेल हाल विराटनगरमा नाटक र आम मान्छे दुवैले एकापसको नजिक पुग्ने प्रयत्न गर्नु पर्ने बताउँछन्। नाटक गर्नेहरूले आम मान्छेले ग्रहण गर्न सक्ने नाटक गर्नुका साथै नाटकका माध्यमबाट आम मान्छेको ‘चेतनाको वृत्त’ फैल्याउनलाई सहयोग गर्नु पनि उत्तिकै आवश्यक रहेको उनको धारणा छ।

नाटक हेर्ने संस्कृति विकास गर्न गुरुकुलले प्रयास जारी छ। उसले आरोहण राष्ट्रिय नाटक महोत्सव २०६६ र २०६८, पूर्वाञ्चल नाटक महोत्सव २०७१ र पूर्व क्षेत्रमै पहिलोपटक विराटनगर अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७५ (काठमाडौं अन्तर्राष्ट्रिय नाटक महोत्सवको सहकार्यमा समानान्तर रूपमा) गरेको छ। त्यस्तै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय नाचघरको आयोजनामा महिला रंग उत्सव २०७४ तथा सुमेरु कला सरोवरको आयोजनामा विद्यायल नाट्य उत्सव २०७५ समेत विराटनगर (गुरुकुल)मै सम्पन्न भैसकेका छन्। 

यस्ता महोत्सवको आयोजनाले नाट्यक्षेत्रसँगै सांस्कृतिक आदानप्रदान र पर्यटनमा महत्वपूर्ण योगदान दिन्छन्। कहाँ, कस्तो र कसरी नाटक मञ्चन भइरहेको छ भन्ने आफ्नै आँगनमा हेर्न पाउँदा रंगकर्मी तथा बौद्धिकवर्गका साथै आम दर्शकले धेरै कुरा सिक्ने अवसर पाउँछन्। बोध गर्न पाउँछन्। विराटनगर व्यापारिक तथा औद्योगिक सहर हो, जुन भारतीय सीमासँग जोडिएको र काकडभिट्टा  नाकाबाट पनि नजिकै छ। भारतीय र बंगलादेशी सहरहरूसँग सांस्कृतिक भाइचाराको सम्बन्ध राख्न सकिने अवसर समेत छ।

इतिहास खोतल्ने हो भने १९८८ सालमा सुरु भएको राधाकृष्ण खटयात्रा (रथयात्रा) ले विराटनगर र नाटकको सम्बन्ध झल्काएको देखाउँछ। उसो त विराटनगरको इतिहास महाभारतकालीन समय (विराटपर्व÷विराट राजा) सँग सम्बन्धित छ भनेर मानिदैँ आइएको छ। त्यसैका आधारमा भन्ने हो भने विराटनगर र नाटकको सम्बन्ध महाभारतकालदेखिकै मान्न सकिन्छ। पाण्डवको अज्ञातवासको समयमा बृहन्नलाको भेषमा अर्जुनले राजकुमारी र राजकन्याहरूलाई नाचगान सिकाएको महाभारतमा उल्लेख छ। यसरी विराटनगरको उद्गम इतिहाससँगै नाटक जोडिएर आएको देखिन्छ।

सांस्कृतिक रूपमै ऐतिहासिक सहरको सांस्कृतिक चेत दयनीय हुनु दुःखद् हो। यसमा विराटनगरबासी गम्भीर हुनु जरुरी छ। ‘यो पाखण्डीहरूको सहर भयो’ भन्ने सामाजिक अभियन्ता तथा अध्येता निर्मल तामाङको भनाइ चिर्न सक्नुपर्छ। अझै पनि सहर राखी सावन्तको स्तन र नितम्बको लयमा मात्र हल्लिरहनु भएन। पैसाकै पछि मात्र दर्गुनु भएन।

एडवर्ड अल्बीका भन्छन्, ‘हामीले केही पनि नभन्ने टिभी र फिल्म छान्यौँ। त्यस्तै छान्ने हो भने हामीले यस्ता नाच गर्नेछौँ जसमा बोल्नु पर्दैन अनि यस्ता गीत गाउने छौँ जो कसैले सुन्ने छैनन्।’
आज नाटकका दर्शक पाउनै मुस्किल छ। दर्शक खोज्न स्कुलस्कुल दौड्नु पर्ने अवस्था छ। तर, हामी रंगकर्मी थाक्नु हुँदैन। हामीले नाटकको स्वाद चखाएर दर्शक तान्ने प्रयास गरिरहनु पर्छ। विराटनगरका दर्शकहरू नाटकमा झुम्ने दिन पक्कै आउने छ।   

सहयोगको खाँचो
भैरव क्षेत्री
अध्यक्ष, आरोहण गुरुकुल
नियमित नाटक मन्चन भएमा दर्शक कम हुने छैनन्। निरन्तर नाटक मन्चनका लागि हामीलाई विराटनगर महानगरपालिका र प्रदेश सरकारले बजेट सहयोग गर्नु पर्छ। कम्तीमा ५ महिला र ५ पुरुष कलाकारका साथै २ जना प्राविधिक आवासिय रूपमा नाटकघरमै बसेर काम गर्न सक्ने वातावरण बनाउन सकियो भने नाटकका साथै अरू सांस्कृतिक गतिविधि अघि बढाउन सकिन्थ्यो। अहिलेको अवस्थामा हाम्रो २२० जना क्षमताको हल पूरै भरिए पनि आम्दानी र खर्च बराबर हुन्छ। त्यसैले केही कलाकारलाई आवासीय रूपमा राखेर नाटकलाई अघि बढाउने योजनामा छौं।

 

प्रकाशित: २५ जेष्ठ २०७६ ०४:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App