भारतीय राष्ट्रपतिको स्वागत गर्न बुधबार सार्वजनिक बिदा

शुक्रबार, १२ कार्तिक २०७३, ०७ : ५८ नागरिक

काठमाडौं- भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने दिन सरकारले सार्वजनिक बिदा दिने  भएको छ। मन्त्रिपरिषद्को बिहीबारको  बैठकले चीन र भारतका राष्ट्रपति नेपाल भ्रमणमा आउने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

भारतका राष्ट्रपति मुखर्जी १७ गते (बुधबार) नेपालको तीनदिने भ्रमणका लागि काठमाडौं आउँदैछन्। चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल आउने भनिए पनि मिति तय भएको छैन।

मन्त्रिपरिषद्ले भारतका राष्ट्रपति मुखर्जी काठमाडौं उत्रिँदा स्वागतका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले दिए। उनका अनुसार मन्त्रिपरिषद्ले यो पटक मात्र नभई अबदेखि दुई छिमेकी मुलुक भारत र चीनका राष्ट्र प्रमुख नेपाल आउने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सरकारको यो निर्णयप्रति सामाजिक सञ्जाल फेसबुक तथा टि्वटरमा स्वागत र विरोधमा विचार व्यक्त भएका छन्। ट्राफिक प्रहरीले सरकारको निर्णयको स्वागत गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले भारतीय राष्ट्रपति मुखर्जी नेपाल आउने दिन अत्यावश्यकबाहेक सवारी साधन चलाउन रोक लगाउने तयारी गरेको छ।

राष्ट्रपति मुखर्जीको आवतजावत हुने स्थानमा सार्वजनिक सवारी आवागमनमा रोक लगाउने तयारी भएको महाशाखा प्रमुख डिआइजी प्रकाश अर्यालले जानकारी दिए। उनका अनुसार छिमेकी राष्ट्राध्यक्षको सुरक्षा र आवागमनलाई ध्यान राख्दै निश्चित क्षेत्रमा अत्यावश्यकबाहेक सवारीसाधन चलाउन रोक लगाउन लागिएको हो।

उनले राष्ट्राध्यक्षको सवारीक्रममा विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन निर्देशिका अनुसार बाटो क्लियर गर्नुपर्ने भएकाले सवारीसधान नचलाउन सबैलाई आग्रह गरिने बताए। 'भिआइपीको सुरक्षाका लागि तीनवटा लेनमा कार्गेट गुड्ने र त्यसको बीचमा भीआइपी सवार गाडी गुड्ने भएकाले बाटो खाली गर्नुको विकल्प छैन,' उनले भने, 'उपत्यकामा सवारी व्यवस्थापन असहज भएकाले भ्रमणका बेला निश्चित स्थानमा सवारीसाधन चलाउन रोक लगाउने निर्णयमा पुगेका हौं।'

सरकारले सार्वजनिक बिदा दिएका कारण सवारी व्यवस्थापनमा सहज हुने छ। राष्ट्रपति मुखर्जीको भ्रमणक्रममा मुख्यगरी, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, थापाथली, त्रिपुरेश्वर, कालीमाटी, चाबहिल, गौशाला, लाजिम्पाट, महाराजगञ्जलगायत क्षेत्रमा सार्वजनिक सवारी आवागनमा रोक लगाउने तयारी भएको छ।

यसैगरी मन्त्रिपरिषद्ले घरेलु तथा साना उद्योग विकास सञ्चालक समितिमा सिन्धुली, झाँगाझोलीका दीपेन्› आचार्यलाई नियुक्त गर्ने निर्णय लिएको छ। यस्तै बैठकले थानकोट–चित्लाङ गणेशमान मार्ग स्तरोन्नति गर्ने निर्णय लिएको जानकारी प्रवक्ता कार्कीले दिए।

बिदा दिने निर्णयको निन्दा

काठमाडौं, कात्तिक ११ (नागरिक)– भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउने दिन बुधबार सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेका प्रति सर्वसाधारणले आक्रोश पोखेका छन्। सामाजिक सञ्जाल टि्वटर र फेसबुकमार्फत उनीहरूले भारतसँग समानताको सम्बन्ध हुनुपर्ने भन्दै निन्दा गरेका छन्।

भारतीय राष्ट्रपति मुखर्जी आउँदा बिदा दिने निर्णयलाई राष्ट्रिय स्वाभिमानसँग जोडेर धेरै टिप्पणी भएका छन्। पत्रकार दीपक भट्टराई लेख्छन्, 'पहिला राजा जाँदा र आउँदा बिदा हुन्थ्यो। आफ्ना राजा फालियो अब छिमेकी देशकै राष्ट्रपतिलाई राजासरह मानौं भनेको हो मन्त्रिपरिषद्?' यस्तै नारायण गाउँले सरकारको यो निर्णयले राष्ट्रिय स्वाभिमानलाई झुकाएको लेख्छन्। 'राष्ट्रिय स्वाभिमान, स्वाधीनता र सार्वभौम सत्ताप्रतिको यो भन्दा ठूलो अपमान के होला?', उनले आफ्नो फेसबक स्टाटसमा लेखेका छन्।

नेपालका राष्ट्रप्रमुख भारत जाँदा त्यहाँको सरकारले सार्वजनिक बिदा नदिने तर भारतका राष्ट्रपति यहाँ आउँदा सार्वजनिक बिदा दिने नेपाल सरकारको निर्णयलाई धेरैले समानतामा आधारित नभएको तर्क गरेका छन्। पत्रकार माधव धिताल लेख्छन्, 'नेपालका राष्ट्रपति भारत र चीन भ्रमणमा जाँदा त्यहाँ सार्वजनिक बिदा हुन्छ कि हुन्न?'

सरकारले भारत र चीनका राष्ट्रपति नेपाल आउने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यो निर्णयलाई सामाजिक सञ्जालमा 'चीनको नाम बेचेर भारतको सेवा गर्ने प्रयास' को रुपमा टिप्पणी गरिएको छ। सामाजिक र राजनीतिक मुद्दामा टि्वट गर्ने जादु २४ ह्यान्डल लेख्छन्, 'भारतको सेवा गर्न चीनको नाम बेच्ने सरकार। चीनका राष्ट्रपति आउने टुंगो छैन बिदा रे।' जीवन कँडेल नागरिक न्युजको टि्वटर ह्यान्डलमा रिप्लाइ गर्दै लेख्छन्, 'भारतको चाकरी गरेर मर्ने भो नेपाल सरकार। यी बिकेका नेताले अब नेपाललाई भारतको प्रान्त बनाउन मात्र बाँकी भो।' त्यस्तै लेखिका आन्विका गिरी टि्वटरमा लेख्छिन, 'दुनियाँभरका राष्ट्रपतिज्यूहरू कृपया नेपाल नआउनुस्। आफू आउँदा बन्द हुने मुलुक आउँदा तपाइँहरूलाइ नि के स्वाद लाग्ला र!'

केहीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेपाललाई भुटान र सिक्किम बनाउन प्रारम्भिक अभ्यास गरिरहेको आरोप लगाएका छन्। रामजी बलामी नेपाल फेसबुकमा लेख्छन्, 'पहिले भारतमा मात्र विशेष दूत पठाउँदा विरोध होला भनेर चीनमा पनि दूत पठाए तर भारतमा राष्ट्रघाती पत्रसहित पठाए। चीनमा रित्तो हात पठाए। अहिले फेरि भारतीय राष्ट्रपति आउने भएकै कारण चीनलाई पनि बहाना बनाएर सार्वजनिक बिदा घोषणा गरे। नेपालकै प्रधानमन्त्री मर्दा राष्ट्रिय सम्मान समेत नदिने तर छिमेकी मुलुकको प्रमुख आउँदैमा सार्वजनिक बिदा दिन जरुरी थियो? के यो लम्पसारवाद होइन? अब पनि हनुमानागिरीमै रमाउने कि चेत्ने?'







यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोन वा साधारण मोबाइल फोनको ब्याट्रीलाई रातभर वा १०० प्रतिशतभन्दा बढी चार्ज गर्न हुन्छ कि हुँदैन ? ...

कृष्णनगरमा नेपाल बैंक

कृष्णनगरमा नेपाल बैंक

नेपाल बैंक लिमिटेडले कृष्णनगर नगरपालिका परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । ...

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

आइएमई ग्रुपअन्तर्गत सञ्चालित तथा आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सेवासम्बन्धी सम्झौता भएको छ । ...

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति विकास बैंकले रेमिट सेवाका लागि रेमिट टू नेपालसँग सम्झौता गरेको छ । ...

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरी कर्मिर्सयल बैंकको नायव कार्यकारी प्रमुखमा मनोज न्यौपाने नियुक्त भएका छन् । ...

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

भट्टामा काँचो इँटा पोल्न कोइला हाल्ने नयाँं प्रविधि नेपाल भित्रिने भएको छ। ...

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

सामसङले आर सिरिज अन्तर्गत नयाँ स्मार्ट टिभिहरु बजारमा प्रस्तुत गरेको छ। ...

एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिका

एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिका

यस लेखमा एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिकाको बारेमा चर्चा गरिएको छ ...

Ncell Footer Ad