८ वैशाख २०८१ शनिबार
समाज

सुखी जीवनकोे सपना भताभुंग !

तस्बिर ः सुनिताका चिनियाँ पति यिन स्याउपो र चिनियाँ अध्यागमनको कारबाही पत्र।

बेइजिङ - चीनमा चार वर्ष आठ महिना बन्दीजस्तै भएर बसेकी सुनिता तामाङ (परिवर्तित नाम) नेपाल फर्कन सफल भएकी छन्। चिनियाँ नागरिकसँग बिहे गरेर चीन आएकी उनी चरम घरायसी हिंसामा परेकी थिइन्। उनलाई नेपालका आफन्त र चीनमा बस्ने अन्य नेपालीसँग पनि सम्पर्क र बोलचाल गर्न बन्देज लगाइएको थियो।

सुनिताको स्थायी घर सिन्धुपाल्चोक हो। काठमाडौंमा आमा र बहिनीसँग बसेर पढ्दै गरेकी उनलाई केही दलालले चीनको हङकङमा काम गरेर चाँडै धनी हुने सपना देखाए। बुबा अर्को बिहे गरी छुट्टै बस्दै आएकाले सुनिता उनकी आमा र बहिनीले कठिन जीवन बिताइरहेका थिए। हङकङ गएर पैसा कमाउन पाइयो भने त परिवारलाई भरथेग हुन्छ भनेर सुनिता चिनियाँसँग बिहे गर्न राजी भइन्। दलालले सुनितासँगै बहिनी विनितालाई पनि चिनियाँसँग बिहे गरेर पठाउन खोजेका थिए। तर नाबालक भएकाले उनी दलालको चंगुलमा पर्नबाट बचिन्।

२०७१ भदौ १८ गते सुनिता चिनियाँ नागरिक यिन स्याउपोसँग विवाह गरी चीन आएकी थिइन्। राजधानी बेइजिङनजिकै रहेको हपेई प्रान्तमा आएपछि सुनिताका कहालीलाग्दा दिन सुरु भए। उनले अमानवीय व्यवहार भोग्नुप¥यो। ‘मलाई सासूससुरा र लोग्नेले बारम्बार पिट्थे,’ उनले भनिन्, ‘तँलाई ल्याउन एक लाख चिनियाँ युआन खर्च भएको छ, त्यसको पुरताल गर्नुपर्छ भन्दै उनीहरूले मलाई बारम्बार यातना दिन्थे।’ सुनितालाई नेपालमा रहेका आफन्तसँग सम्पर्क गर्न पनि दिइएन।

सुरुमा उनी चिनियाँ भाषा बुझ्दिनथिन्। बिस्तारै उनले चिनियाँ भाषा सिकिन्। उनले पछि थाहा पाइन्, पति यिनले उनीभन्दा पहिले दुईपटक बिहे गरेका रहेछन्। पहिलोपटक उनले भियतनामीसँग बिहे गरेका रहेछन्। सो विवाह सफल नभएपछि उनले नेपालबाटै शेर्पा चेलीसँग दोस्रो विवाह गरेका रहेछन्। ब्रेन ट्र्युमर भएपछि उनलाई नेपाल फर्काइदिएछन्। सुनिता उनकी तेस्री पत्नी थिइन्। दुई वर्षअघि सासूससुराको निधन भएपछि सुनिता नजिकैको एक प्लास्टिक उद्योगमा काम गर्न थालिन्। त्यहाँका साहुले सुनिताले काम गरेको पारिश्रमिक उनका पतिलाई नै दिन्थे। परिश्रमी सुनिताको कामबाट प्रभावित भएर पछिल्लो समय भने कम्पनीले केही पैसा उनलाई पनि दिन थालेको थियो।

पाकिस्तानबाट बिहे गरी ल्याइएका केही युवतीलाई चीनमा यौनकार्यमा लगाइएको समाचार प्रकाशित भएपछि प्रशासनले उद्धार गरेको थियो।

सुरुसुरुमा त पति यिनले भिसा अवधि थपाउन सुनितालाई अध्यागमन कार्यालय लिएर जान्थे। पछि भिसा अवधि नथपिएपछि उनी २१ महिनादेखि अवैध रूपमा चीनमा बस्दै आएकी थिइन्। उनी वैवाहिक–पारिवारिक भिसामा बसोबास गरिरहे पनि चीन सरकारबाट भिसा लिनु अनिवार्य थियो। पतिले भिसाका लागि चासो देखाएनन्। उनले सुनिताको राहदानी पनि लुकाइदिए। आफूले काम गरेको पैसा पनि नदिने र नेपाल जाने वैधानिक बाटो पनि बन्द भएपछि उनले बिनाभिसा राखेको भन्दै प्रहरीकोमा उजुरी गर्ने धम्की दिइन्। सुनिताले उजुरी गर्ने भनेपछि पति यिन केही हच्किए। त्यसपछि यिन आफैंले सुनितालाई वैशाख २३ मा प्रहरीकहाँ लिएर गए। प्रहरीले बेइजिङको अध्यागमन कार्यालयलाई पत्र लेखी दुवैलाई बेइजिङ पठायो। चिनियाँ भाषामा लेखिएको सो पत्रमा के थियो उनले बुझिनन्।

बेइजिङ गएपछि नेपाल फर्किन पाइन्छ कि भन्ने सुनितालाई लागेको थियो। उनले केही लुगाकपडा झोलामा राखेकी थिइन्। त्यसभित्र उनले काम गरेर पाएको केही पैसा पनि लुकाएर राखेकी थिइन्। जेठ १ गते बेइजिङ हिँड्ने बेलामा हपेई प्रहरीले उनलाई झोला लान नपाउने बतायो। कमाएको केही पैसा झोलामा प्रहरी चौकीमै छुट्यो। बेइजिङान सुनिताको सिमकार्ड प्रहरीले जफत ग¥यो। पति यिनलाई प्रहरीले पाँच हजार चिनियाँ युआन जरिवानासहित १० दिन हिरासतमा राख्यो भने सुनितालाई जेठ २ गते प्रहरी निगरानीमा खुन्मिङ पु-याएर नेपाल जाने जहाज चढायो।

सुखी जीवनको सपना बोकेर चिनियाँ युवकसँग बिहे गरेर चीन आएकी नेपाली चेची सुनिता चार वर्ष आठ महिनासम्म चरम हिंसा र दमन सहेर खाली हात जन्मघर फर्किएकी छिन्। चिनियाँसँग बिहे गरेपछि पारिवारिक हिंसा भोग्ने सुनिताजस्तै अरु पनि छन्। गरिब चिनियाँ युवकले नेपाल, बंगलादेश, भियतनाम, पाकिस्तानलगायत मुलुकका दलाललाई पैसा बुझाएर त्यहाँका युवती बिहे गर्छन्।

हङकङ गएर पैसा कमाउने र घरपरिवारलाई पनि केही आडभरोसा दिने सपना बोकेर चिनियाँ युवकसँग बिहे गरेर आएकी सुनिता चार वर्ष आठ महिनासम्म चरम हिंसा र दमन सहेर खाली हात नेपाल फर्किएकी छिन्। चिनियाँ केटी बिहे गर्न अत्यन्त महँगो पर्ने भएकाले गरिब चिनियाँ युवकले नेपाल, बंगलादेश, भियतनाम, पाकिस्तानलगायत मुलुकका दलाललाई पैसा बुझाएर त्यहाँका युवती बिहे गर्छन्। यो एक किसिमको मानव तस्करीकै रूप हो। एक महिनाअघि पाकिस्तानबाट बिहे गरी ल्याइएका केही युवतीलाई चीनमा यौनकार्यमा लगाइएको समाचार पनि प्रकाशित भएको थियो। त्यस्तो कार्यमा संलग्न केही पाकिस्तानीलाई चिनियाँ प्रशासनले उद्धार ग-यो।

बिहेका नाममा चीन आएर हिंसा भोग्ने सुनिता एक्ली नेपाली चेली होइनन्, चार वर्षअघि बेइजिङस्थित नेपाली दूतावासले केही नेपाली चेलीलाई उद्धार गरेर नेपाल फर्काएको थियो। वु फुसिङसँग बिहे गरी चीनको सान्तोङ प्रान्तको युन्छन काउन्टीमा आएकी काभ्रेकी कल्पना तामाङलाई २०७२ साउन १ गते नेपाली दूतावासले उद्धार गरी नेपाल पठाएको थियो। त्यसैगरी हैलुङच्याङ प्रान्तका लिउ याङसँग बिहे गरेर आएकी धरानकी २२ वर्षीय रीना राईलाई पनि २०७२ साउन १९ गते नेपाली दूतावासले उद्धार गरी नेपाल पठाएको थियो।

प्रकाशित: २५ जेष्ठ २०७६ ००:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App