१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हास्दाहास्दै तयार नमूना बस्ती

धुर्मस-सुन्तली फाउन्डेसनले बनाएको एकीकृत बस्ती नियाल्दै सिन्धुपाल्चोक, मेलम्ची–८, गिरानचौरका भूकम्पपीडित स्थानीय। तस्बिर : ध्रुव

गिरानचौर (सिन्धुपाल्चोक)- गुजुमुज्ज बस्ती रहेको गिरानचौर गत वर्ष वैशाख १२ गतेको भूकम्पबाट तहसनहस भयो। बाक्लो बस्तीका घर ढलेर एकै ठाउँमा ढुंगामाटो र काठपात थुप्रिँदा पहाडै बन्यो। भूकम्पको वर्ष दिन पुग्दा २०७३ वैशाख १२ गते ढलेको बस्ती ठड्याउने संकल्प गर्दै कलाकार सीताराम कट्टेल 'धुर्मुस' र उनको पत्नी कुन्जना घिमिरे (सुन्तली) ले पहाडकै थुप्रोमाथि शिलान्यास गरे।

सीताराम, कुञ्जनाले नेतृत्व गरेको धुर्मुस–सुन्तली फाउन्डेसनले पुनर्निर्माण थालेको ६ महिनामै भुइँचालोले ढालेको बस्ती ठड्याएको छ। चन्द्र–सूर्यअंकित नेपाली राष्ट्रिय झन्डामा प्रयोग भएको रातो, सेतो र निलो रंगले सजिएको एक सामुदायिक भवनसहित ६७ घरको एकीकृत नमुना बस्ती फाउन्डेसनले शुक्रबार पीडितलाई हस्तान्तरण गर्दैछ।

धुर्मुस-सुन्तली फाउन्डेसनले तयार पारेको ६६ सोलारजडित घर, एक सामुदायिक केन्द्र, चिल्ड्रेन पार्क, पार्किङ, सार्वजनिक धारा, शौचालय र फलफूल बगैंचासहितको बाल, अपांग, वातावरणमैत्री एकीकृत नमुना बस्तीका भवन भूकम्पप्रतिरोधी छन्।

मेलम्ची नगरपालिका–८ स्थित गिरानचौरका तामाङ समुदायको यो बस्ती हस्तान्तरण गर्न राष्ट्रपति विद्या भण्डारी आउँदै छिन्। सोलारजडित घर, चिल्ड्रेन पार्क, पार्किङ, सार्वजनिक धारा, शौचालय र फलफूल बगैंचा भएको बाल, अपांग र वातावरणमैत्री यो बस्ती हस्तान्तरण गर्न वरिष्ठ कलाकार मह जोडी (कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) पनि आउँदै छन्।

सिंगो बस्ती ठड्याउन लागेका धुर्मस–सुन्तलीसँग काम थाल्दा १ लाख ७५ हजार रुपैयाँ मात्र थियो। भग्नावशेष तह लगाउँदै थुप्रै घरहरूको एउटा बस्ती निर्माण गर्नु चुनौतीपूर्ण थियो। तर, नमुना गिरानचौर बस्ती बनाउने दृढ संकल्प बोकेका सीताराम र कुञ्जनाले हरेस खाएनन्। सीताराम डोकोमा ढुंगा बोक्दै भग्नावशेष पन्छाउन थाले। कुन्जनाले फलामे गल उचालिन्। भूकम्पपीडित स्थानीयले पनि साथ दिए।

 धुर्मुस–सुन्तली फाउन्डेसनले फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालबाट विश्वभरका नेपालीसँग सहयोग मागे। पाँच, दस, पचास, सय, हजार हुँदै लाख रुपैयाँसम्म सहयोग जुट्न थाल्यो। गिरानचौर आएर श्रमदान गर्नेको लहरै चल्यो। युवा विद्यार्थी, पेशाकर्मी, उद्योगी, व्यवसायी, कलाकारदेखि राजनीतिक नेतासम्म श्रम गर्न आइपुगे। विदेशीले पनि सहयोग गरे। घरैपिच्छे मोटरमाटोको सहज पहुँज रहेको यो बस्ती पुनर्निर्माण गर्न ५ करोड रुपैयाँभन्दा बढी खर्च भयो।

'यो देश विकासको अभियान हो,' बस्ती समुदायलाई हस्तान्तरण गर्ने तयारीमा जुटिरहेका बेला बिहीबार फाउन्डेसनका अध्यक्ष रहेका सीतारामले नागरिकसँग भने, 'देश दुखेका बेला नागरिक भएका नाताले टुलुटुलु हेर्न नसक्दाको उपलब्धि हो यो। एकीकृत बस्ती बनाउन संस्थागत र व्यक्तिगत गरी ५ हजारभन्दा बढीले रकम सहयोग गरेको उनले जानकारी दिए।

 निलो रंगको जस्ताले छाइएका आधा सेतो र आधा रातो रंग पोतिएको बस्तीका घर चिटिक्क छन्। प्रत्येक घरको पछाडि लिची र अनारका दुई बोट रोपिएको छ। आँगनमा फूलका बिरुवा रोपिएका छन्। प्रत्येक घरमा डेढ सय किलोवाटको सोलार प्यानल जडान गरेर बस्तीलाई बातावरण मैत्री बनाइएको छ।

सीतारामका अनुसार नवनिर्मित सबै घर भूकम्पप्रतिरोधी छन्। ६/६ वटा पिलर गाडेर ब्लकइँटाको गारो लगाइएका घर एकतले छन्। ढलान गरिएको भूइँतलामा भान्साघर, शौचालय, बाथरुमसहित चारकोठा छन्। घरभित्रै धारो छ। माथिल्लो तलामा धान, मकै, कोदो लगायत अन्न र अन्य सामग्री राख्न सकिन्छ।

 'सार्वजनिक धारा र घरभित्रका धारा बालबालिकाले खोल्न सक्छन्,' बस्तीलाई बालमैत्री बनाइएको बताउँदै उनले भने। सिँगो बस्तीमा बालबालिकालाई खेल्न बगैंचा र पिङसहितका सात चिल्ड्रेन पार्क छन्। आठ सार्वजनिक धारा र चार सार्वजनिक शौचालय रहेको बस्तीको बीचमा भव्य सामुदायिक भवन छ। यसमा कार्यक्रम गर्दा चार सयजनासम्म अट्न सक्छन् ।

फाउन्डेसनले सिँगो बस्तीलाई तीन ब्लकमा बाँडेको छ। २३ घर रहेको ब्लक 'ए' मा दुई चिल्डे्रन पार्क, एउटा पार्किङ र दुई  सार्वजनिक धारा छन्। २७ घर रहेका ब्लक 'बी' मा चार चिल्डे्रन पार्क, दुई सार्वजनिक शौचालय र चार सार्वजनिक धारा बनाइएको छ। १५ घरसहितको ब्लक 'सी' मा खेल मैदान र शीतल ताप्ने चौतारीसमेत छ। यहाँ एक चिल्डे्रन पार्क, दुई सार्वजनिक धारा पनि छन्।

 'एकीकृत बस्तीको मात्र होइन, सहरी बस्तीकै सबै मापदण्ड पूरा गरेका छौंं,' सीतारामले भने। बस्ती निर्माण सुरुदेखि बिहीबारसम्ममा ५ हजारभन्दा बढीले श्रमदान गरिसकेका छन् । उनका अनुसार अमेरिका, युरोपलगायत  विभिन्न मुलुकका नागरिकले स्वयंसेवा गरेका छन्।

 वैशाख १२ को ७.८ म्याग्निच्युडको भूकम्पले चर्काएका यहाँका घर २९ गतेको अनुकम्पले पूरै ध्वस्त  बनाएको थियो। फाउन्डेसनलाई बस्तीबाट भग्नावशेष पन्छाउनै डेढ महिना लाग्यो। निर्माण थाल्न सम्याइएको घडेरी असारे भेलले बगायो। 'घडेरी फेरि सम्याउनुपर्दा निर्माणमा ढिलाइ भयो,' बर्खाले दिएको सास्ती सुनाउँदै सीतारामले भने।

 असार २० गतेदेखि उनले घरको मुख्य संरचना निर्माण थालेका थिए। निर्माण सुरु हुनासाथ पहिरो गएकाले बाटाघाटा बन्द भए। सामग्री ढुवानी गर्ने ५ किलोमिटर लम्बाईको सिन्धुखोला–गिरानचौर सडक बन्द हुँदा २५ दिन निर्माण–कार्य रोकियो। पछि अवरुद्ध सडक खुलाउँदै १ हजार ७ सय पटक साना–ठूला सवारीमा सामग्री ढुवानी गरिएको थियो।

  बस्ती बनाउन ६६ घरधुरीले श्रम गरे। 'एक दिन, एक घर, अनिवार्य एक व्यक्ति श्रमदान' अभियान नै चलाइएको थियो। 'धुर्मुस–सुन्तलीलाई दिलदेखि सघायौं,' बस्ती व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर तामाङले भने, 'धुर्मुसले टेलिभिजनको पर्दामाजस्तै हँसाए। हामीले हाँस्दै काम गर्‍यौँ। दिनबितेको पत्तै भएन।' राष्ट्रपतिबाट बस्ती हस्तान्तरण भएपछि पीडित जस्ताको टहरोबाट आ–आफ्नो घर सर्ने तयारीमा छन्। 'एक–दुई दिनमै घर सर्छौ,' स्थानीय ३५ वर्षीया सुनमाया तामाङले भनिन्। धुर्मस–सुन्तलीले पीडितहरूको घाउमा मलम लगाएको उनको भनाइ छ। 'मेरा लागि त देउतै ठहरिए,' उनले कारण खुलाउँदै भनिन्। उनका पति बुद्धे वैदेशिक रोजगारीको सिलसिलामा तीन वर्षदेखि साउदी अरेबियामा छन्। आठ सदस्यीय परिवार भरणपोषणको जिम्मा उनकै काँधमा छ। भूकम्पले घर ढालेपछि उनका पति बीचमै रोजगारी त्यागेर घर फर्कने तयारीमा थिए। बस्ती बनाउन धुर्मुस–सुन्तली आएको खबर सुनेपछि बुद्धे उतै थामिएको उनी बताउँछिन्।

 यहाँका तामाङ समुदाय आर्थिक रूपमा विपन्न भएको थाहा पाएपछि फाउन्डेसनको रोजाइमा गिरानचौर परेको थियो। खेतीपातिबाट ६ महिना पनि खान नपुग्ने उनीहरू बाँकी समय गुजाराका निम्ति कोदोको जाँड–रक्सी बनाएर बेच्थे। निर्माण थाल्नुअघि सीतारामले उनीहरूकै सहमतिमा घर–घरबाट निकालेर एकै दिन ४ हजार लिटर मदिरा पोखेका थिए। 'मदिरा नबेच्ने कसम खाएका छौँ। त्यसयता मदिरा बनाएका पनि छैनौं,' जस्ताको अस्थायी टहरोबाट टलक्क रंगीन जस्ता टल्किएको बस्ती नियाल्दै ७६ वर्षीया टीकामाया तामाङले भनिन्, 'धुर्मुसले घर मात्रै बनाइ दिएनन्, सभ्यता पनि सिकाए।'

 गत वैशाखमै स्थानीय विकास मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग त्रिपक्षीय सम्झौता गरेर फाउन्डेसन एकीकृत बस्ती बनाउन कस्सिएको थियो। दसैंअगावै बस्ती समुदायलाई हस्तान्तरण गरेर पीडितलाई टहरोबाट नयाँ घरमा सार्ने योजना भए पनि  बर्खाका कारण ढिलो भयो। बस्तीको प्रति घरको लागत ८ लाख रुपैयाँभन्दा बढी पर्ने सीतारामले जनाए।

 फाउन्डेसनकै अगुवाइमा बस्तीमा 'लिफ्िटङ खानेपानी' योजना सञ्चालनमा छ। साढे आठ किलोमिटर तल सिन्धु खोलाबाट बस्तीमा पानी ल्याइएको छ। यसअघि गाउँमा खानेपानीको जोहो गर्न निकै टाढा जानु पर्थ्यो। पानी अभावमा एकीकृत बस्ती निर्माणको योजनै तुहिने खतरा बढेको बताएपछि जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले योजना दिएको थियो।

प्रकाशित: १२ कार्तिक २०७३ ०२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App