coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘सरकारबाटै मुलुकमा संस्थागत भष्ट्राचार’

दोलखाको चरिकोटमा राष्ट्रिय जागरण अभियान अन्तर्गत शुक्रबार आयोजित भीमेश्वर नगर स्तरिय सभाका सहभागी। तस्विरः रमेश/नागरिक

दोलखा– नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले  सरकार  र नेकपा स्वयं भष्ट्राचारमा चुर्लुम्म डुबेका कारण मुलुकमा संस्थागत भष्ट्राचार बढेको आरोप लगाएका छन्।

शुक्रबार दोलखा सदरमुकाम चरिकोटमा राष्ट्रिय जागरण अभियान अन्तर्गत भीमेश्वर नगरपालिकाको नगरस्तरीय सभालाई सम्बोधन गर्दै कांग्रेस नेताहरुले जागरण अभियान पछि कांग्रेस मुलुकमा चलिरहेको संस्थागत भष्ट्राचार र त्यसमा रुमल्लिएको वर्तमान सरकार विरुद्ध भण्डाफोर अभियान लिएर फेरी जनतामा जाने उद्घोष गरे।

कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले अख्तियार, अदालतदेखि सबै क्षेत्रलाई नियन्त्रण गर्न खोजेर राष्ट्रको ढुकुटीमा संस्थागत तरिकाले ब्रम्हलुट चलाइरहेको आरोप लगाए। ‘नेकपाको एउटा नेताले बालुवाटारको सरकारी जग्गामा भष्ट्राचार गर्छ’ बालुवाटारको सरकारी जग्गा प्रकरणप्रति संकेत गर्दै उनले भने ‘कार्वाहीको प्रक्रिया अगाडी बढाउनुको साटो हतारमा सरकारका मन्त्री ति नेता चोखा छन भनेर सरकारको तर्फबाट संस्थागत र आधिकारीक धारणा दिन सबै भन्दा अघि सर्छन’।

 यस्तै सरकारका मन्त्री नै ठुला भष्ट्रचार र काण्डमा मुछिँदा अनुसन्धान गर्नुको साटो प्रधानमन्त्री स्वयं समेत हतारोमा त्यस्ता मन्त्रीको बचाउमा अभिव्यक्ति दिनुले वर्तमान सरकार नै संस्थागत भष्ट्राचारमा लागि परेको र सरकारका मानिसहरु काण्डै काण्डमा मुछिएको आरोप लगाए।

‘यो सरकारको अरु खास उद्धेश्य केही देखिदैन’ उनले भने – ‘अदालत, अख्तियार, प्रेस सबैलाई नियन्त्रणमा राखेर मुलुकमा भष्ट्राचार मच्चाउने र त्यसैको आडमा अधिनायकवाद लाद्ने देखिन्छ’। उनले यत्रो भष्ट्राचार बढ्दा समेत अख्तियार निरिह जस्तै हुन पुगेको आरोप लगाए।

सभामा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकार कुहिरोमा हराएको काग झैं सिंहदरबार भित्र हराएको आरोप लगाए। ‘प्रधानमन्त्री बोल्न थाल्नु भयो भने त सरकारका प्रधानमन्त्रीले के सन्देश बोल्दैछन भन्दा पनि आज टुक्का सहित रमाईलो गर्न आउदैछन भनेर सुन्न बस्नुपर्ने अवस्था आएको छ’ उनले भने  ‘अति भयो, प्रधानमन्त्री पदले बोल्ने भन्दा पनि काम गरेर देखाउने हो’। शर्माले प्रधनमन्त्री काम गर्ने भन्दा पनि छुच्चा कुरा बोलेर विपक्षीलाई गाली गर्नमै रमाईरहेको आरोप लगाए।

शर्माले वर्तमान सरकारसँग पत्रकार, व्यवसायी, कर्मचारी, बुद्धिजीवी कोही पनि खुसी नरहेको दाबी गरे। कम्युनिष्ट पार्टीको सरकारका पालामा मुलुकमा बजार भाउ बढेको, महिला हिंसाका घटना बढेको लगायतका कारण जनतामा नैराश्यता बढेको उनको आरोप थियो । केन्द्रीय सदस्य रामकृष्ण यादवले सरकारका मन्त्री तथा नेताहरुको संलग्नतामा वाईडबडी, एनसेल जस्ता ठुला काण्ड घटेको आरोप लगाए। दोलखाका प्रतिनिधि सभा सांसद एवं पूर्व केन्द्रीय सदस्य जिपछिरिङ लामाले जागरण अभियानले कांग्रेसमा उर्जा सञ्चार गरेको दाबी गरे।

प्रकाशित: २४ जेष्ठ २०७६ १३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App