८ वैशाख २०८१ शनिबार
समाज

फोहोरमा फोहोरी राजनीति, २४ दिनदेखि थुप्रिएको फोहोर उठेन

लहान नगरपालिकाको मुख्य चोकमा थुप्रिएको फोहोरको डंगुर तस्विरःमिथिलेश यादव/नागरिक

लहान– लहान नगरपालिकाको बजार क्षेत्रमा थुप्रिएको फोहोर अझै उठेको छैन। नगरपालिका र वडा नम्बर ४ बीच फोहोर फाल्ने स्थानकाबारेमा विवाद हुँदा २३ दिनदेखि फोहोरको डंगुर थुप्रिएर नगर दुर्गन्धित बनेको छ।

लहान नगरपालिका–४ स्थित रहेको फोहोर भण्डारण केन्द्रमा  वडावासीले फोहोर फाल्न रोक लगाएपछि नगरपालिकाले नगरको फोहोर उठाउन छोडेको हो। गत वैशाख ३१ गते नगरपालिकाका सरसफाई कर्मचारी फोहोर फाल्न जाँदा स्थानीयले अवरोध गरेका थिए। त्यहाँका स्थानीयले यहाँ फालिएको फोहोरले आफूलाई समस्या भएको भन्दै अवरोध गरेका थिए। त्यही क्रममा कर्मचारी र स्थानीयबीच झडप भएको थियो।

‘फोहोरबाट मोहर’ निकालेर आम्दानी वडाको विकासमा खर्च गर्ने लोभलाग्दो नारा दिँदै ०७१ सालमै उक्त फोहोरमैला प्रशोधन केन्द्र स्थापना गरिएको थियो। आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा १ करोड रकम छुट्याएर फोहोरमैला प्रशोधन केन्द्र निर्माण काम सुरुवात गरिएको थियो। करिब ७ विघा जग्गामा तारबार, बृक्षारोपन र ट्रस निर्माण गरिएको छ।

वडा नम्बर ४ का अध्यक्ष पण्डितका अनुसार् फोहोर प्रशोधन गरी मल निकाल्ने र उक्त मलको उपभोग वडावासीले गर्ने भनिएको थियो तर यहाँ न प्रशोधन केन्द्र बन्यो न फोहोरबाट मोहोर निक्लियो। स्थानीय तहमा जनप्रतिनिधि आएपछि यो ठाउँ रोगको भण्डारको विकास हुन थाल्यो पण्डितले भने,‘फाेहोरको कहर सहन नसकेर वडावासी बिरोधमा उत्रन बाध्य बनेका छन्।’ त्यो बेला वडावासीलाई झुक्याएर, लोभ्याएर, धम्काएर कर्मचारीतन्त्रले यहाँ फोहोरमैला प्रशोधन केन्द्र निर्माण गरेको उनको भनाई छ।

‘पहिले बजारबाट संकलित फोहोरलाई खाल्डो खनेर गाड्ने गरिन्थ्यो, स्थानीय जितेन्द्र महतोले भने,‘ जनप्रतिनिधि निर्वाचित भएर आएपछि जथाभावी फाल्न थाले। बस्ती, मठमन्दिर नजिकै जथाभावी फोहोर भण्डारण गर्दा दुर्गन्धले बस्न मुस्किल भएकाे स्थानीयहरु अवरोध गरेका हुन।’

स्थानीयले बस्ती नजिकै फोहोर भण्डारण गर्न रोकेपछि वडा नम्बर १, ३, ५, ६, ७, ८ र १० का सडक, नाला तथा गल्लीमा फोहोर थुप्रिएर दुर्गन्ध फैलिएको छ। नगरपालिकाले फोहोर उठाउन छाडेपछि स्थानीय बासिन्दाले आफ्नो घर, पसल अगाडि जम्मा सुख्खा फोहोरमा मट्टितेल छर्केर आगो लगाइरहेका छन्। गिलो फोहोरको दुर्गन्ध काट्न फिनेल छर्किने गरेका छन्। फोहोर भण्डार भएको स्थान लामखुट्टेको घर बनेको छ। दुर्गन्धले टाउको दुख्ने, रिंगटा चल्ने, श्वास फेर्न पनि सकस हुने गरेको स्थानीयवासी बताउँछन्।

फोहोरी राजनीति
०७१ सालदेखि नगरको फोहोर भण्डारण हुँदै आएको ठाउँमा एक्कासी फोहोर फाल्न अवरोध गरेर फोहोरी राजनीति गर्न खोजिएको लहान नगरपालिकाका प्रमुख मुनि साह सुडीको भनाई छ। उक्त स्थानमा खाल्डो खनेर फोहोर भण्डारण गर्ने र प्रत्येक दुई महिनामा त्यो खाल्डो पुर्ने काम हुँदै आएको उनको दावी छ। नगरपालीकाको २४ वटा वडा मध्ये सबैभन्दा उपयुक्त फोहोर व्यवसथापन गर्ने ठाउँ यही भएको उनले बताए। यस वडाका दुईचार जनाले बेतुकको विवाद झिकेर फोहरी राजनीति गर्न खोजेको उनको जिकिर छ।

नगरपालिकाकाले फोहोर प्रशोधन गर्ने मेसिन खरिदका लागि नगरपालिकाले ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिए। नगरपालिकाका २४ वटै वडामा एक/एकजनाका दरले २४ जना र बजार क्षेत्रमा दैनिक ४० जना गरी ६४ जना कर्मचारी फोहोरमैला व्यवस्थापनका लागि खटिँदै आएको उनले बताए। नगरपालिकाले नगरको सरसफाईमा मात्र वार्षिक १ करोड रुपैयाँभन्दा बढी खर्च गर्दै आएको छ।
 

प्रकाशित: २४ जेष्ठ २०७६ ११:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App